प्रभावशाली नेताका निर्वाचन क्षेत्र : गठबन्धनमा कसरी मिल्ला सिट बाँडफाँट ?

सत्ता गठबन्धनमा अघिल्लो पटक चुनाव जितेको क्षेत्र सम्बन्धित दललाई नै छाड्ने हो भने अघिल्लो चुनाव हारेका धेरै प्रभावशाली नेता फेरि पाँच वर्षको पर्खाइमा पर्न सक्छन् । या त उनीहरुले चुनाव क्षेत्र नै परिवर्तन गर्नुपर्ने हुन सक्छ । कुन-कुन क्षेत्रमा बढि समस्या छ त ? हेरौं एक रिपोर्ट ।

प्रभावशाली नेताका निर्वाचन क्षेत्र : गठबन्धनमा कसरी मिल्ला सिट बाँडफाँट ?

काठमाडौं। केही दिनअघि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ट्विट गरे– ‘‘उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानका साथ सँगै लिएर, झापामै उम्मेदवार बन्नेछु। प्रेम उता घरजम यता कुरै हुन्न।’’ गठबन्धनमा सिट बाँडफाँटबारे सकस परिरहँदा शर्माले झापा १ बाटै चुनाव लड्ने बताउनुलाई सामान्य रूपमा मात्र लिन सकिँदैन। २०७४ मा त्यो क्षेत्रबाट निर्वाचित भएका थिए नेकपा माओवादी केन्द्रका नेता राम कार्की ।

नेता कार्कीले दोहोरिने आकांक्षा राखेका छन्। त्यति मात्र होइन अघिल्लो प्रतिनिधिसभामा ‘निर्वाचन क्षेत्रमा जसले जितेको छ’, त्यसैलाई छाडिदिनेबारे समेत सत्ता गठबन्धनको कार्यदलमा छलफल भइरहेको छ । यद्यपि, यो विषयमा अन्तिम मापदण्ड तय भइसकेको छैन। तर, पनि गठबन्धन गर्दा झापा–१ कुन दलको भागमा पर्छ भन्ने निश्चित छैन।

माओवादीको कम प्रभाव रहेको सो क्षेत्रबाट उम्मेदवारी दिएका कार्कीले एमालेको सहयोगमा ३६ हजार १ सय ७३ मत प्राप्त गरेर जितेका थिए । कांग्रेसको राम्रो पकड रहेको क्षेत्रमा गठबन्धनकै कारण शर्माले ३३ हजार ३ सय १० मत प्राप्त गरेर पनि हार्नुपरेको थियो। शर्मा अहिले कांग्रेसका निर्वाचित महामन्त्री हुन् भने यता कार्की पनि माओवादीका प्रभावशाली नेता मानिन्छन्। दुवै नेतालाई सम्बन्धित चुनाव लडाउन चाहन्छन्। तर, निर्वाचन क्षेत्र एकै पर्दा सिट बाँडफाँट पेचिलो बनेको छ।

शर्मा कांग्रेसमा निर्वाचित महामन्त्री हुन् भने यता कार्की पनि माओवादीका प्रभावशाली नेता मानिन्छन्। दुवै नेतालाई सम्बन्धित दलले चुनाव लडाउन चाहन्छन्। तर, निर्वाचन क्षेत्र एकै पर्दा सिट बाँडफाँट पेचिलो बनेको छ।

प्रतिनिधिसभाका १६५ सिट र सातै प्रदेशका ३३० क्षेत्रको बाँडफाँट टुङ्गो लगाउन सत्तारुढ गठबन्धनमा जति सकस छ केही शीर्ष नेताको निर्वाचन क्षेत्रमा त्योभन्दा ठूलो समस्या देखिन्छ । सत्ता गठबन्धनको कार्यदललाई दिएको समय सकिए पनि मुख्य विषयमा प्रवेश नै गर्न नै सकिरहेको छैन। समस्या झापा १ मा मात्र छैन।

दर्जन जति यस्ता निर्वाचन क्षेत्र छन् जहाँ शीर्ष नेतालाई कसरी सिट मिलाउने भन्ने सकस छ। सिट बाँडफाँटको मापदण्डमा यसअघि जितेका निर्वाचन क्षेत्र सम्बन्धित दलले राख्ने विषयमा छलफल भइरहँदा हारेका फरक दलका प्रभावशाली नेतालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय पेचिलो छ।

विश्वप्रकाश शर्मा र राम कार्की

२०७४ को निर्वाचनमा एमाले–माओवादीले गठबन्धन गरेर कांग्रेस चुनावमा होमिएको थियो। अहिले समीकरण फेरिएको छ। कांग्रेस बलियो भएको क्षेत्रमा समेत एमालेको सहायतामा माओवादीले जितेका छन्। कांग्रेसको जनाधार राम्रो भएको प्रभावशाली नेताको क्षेत्रमा के होला अहिले धेरैको चासो छ। 

अहिले समीकरण फेरिएको छ। यसअघि, कांग्रेस बलियो भएको क्षेत्रमा समेत एमालेको सहायतामा माओवादीले जितेको थियो। कांग्रेसको जनाधार राम्रो भएको प्रभावशाली नेताहरूको क्षेत्रमा के होला भन्ने अहिले धेरैको चासो छ।

अहिलेको गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा छन्। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमसमेत सत्ता गठबन्धनमै छन् ।

सत्ता गठबन्धनमा अघिल्लोपटक चुनाव जितेको क्षेत्रमा पुरानै दललाई सिट छाड्ने हो भने अघिल्लो चुनाव हारेका धेरै प्रभावशाली नेताले फेरि पाँच वर्ष कुर्लान् या निर्वाचन क्षेत्र फेर्लान् ? चासोको विषय बनेको छ।

रामशरणलाई हितबहादुरको चुनौति

कांग्रेस सरकारमा जानेवित्तिकै अर्थमन्त्रीमा चर्चामा आउने नाम हो, डा रामशरण महत। २०७४ को निर्वाचनमा एमाले–माओवादी केन्द्र गठबन्धनका उम्मेदवार हितबहादुर तामाङसँग उनले हारे।

पटक-पटक अर्थमन्त्री भएका नेता महत नुवाकोट क्षेत्र नम्बर १ बाट पराजित भएपछि गुमनामजस्तै छन्। तामाङले एमालेको सहयोगमा ३६ हजार ४ सय ७३ मत ल्याउँदा महत एक्लैले २७ हजार ९ सय २० मत प्राप्त गरेका थिए। तत्कालीन समीकरण र वर्तमान समीकरण परिवर्तन भएको छ। तर, आगामी निर्वाचनमा टिकट पाउन गठबन्धनको मोडलले महतलाई रोक्न सक्छ।

डा‍. रामशरण महत र हितबहादुर तामाङ

बाबुराम भट्टराई कि नारायणकाजी ?

अघिल्लो चुनावमा बाम गठबन्धनमा मिसिन आएका थिए तत्कालीन नयाँशक्तिका संयोजक डा. बाबुराम भट्टराई। पछि निर्वाचन क्षेत्र बाँडफाँटमा समस्या परेपछि अलग भए। गोरखा क्षेत्र नम्बर २ भट्टराईको क्षेत्र हो। पूर्व सहकर्मी माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको समेत एकै चुनावी मैदान भएपछि कुरो मिलेन। अन्तत: दुवैजना चुनाव भिड्दा भट्टराईले चुनाव जिते।

अहिले माओवादीकै चुनाव चिन्हबाट चुनाव लड्ने सहमति गरेका भट्टराईलाई गोरखा २ छोड्दा माओवादी उपाध्यक्षले उम्मेदवारी दिन पाउने छैनन्। या क्षेत्र परिवर्तन गर्नुपर्ने छ।

अहिले फेरि नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले माओवादीकै चुनाव चिन्हमा निर्वाचन लड्ने सहमति गरेका छन्। अघिल्लो निर्वाचनमा कांग्रेसको समर्थनमा भट्टराईले ३१ हजार ८ सय ७ मा ल्याएर जितेका थिए।

श्रेष्ठले एमालेको सहयोग पाउँदा पनि २४ हजार ९ सय ३३ मत मात्रै पाएका थिए। अहिले माओवादीकै चिन्हबाट चुनाव लड्ने सहमति गरेका भट्टराईलाई गोरखा २ छोड्न अध्यक्ष प्रचण्ड तयार भइसकेका छन् । यस्तो अवस्थामा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पाँच वर्ष कुर्नुपर्नेछ या क्षेत्र परिवर्तन गर्नुपर्नेछ। यद्यपि, राष्ट्रियसभामा उनको कार्यकाल अझै दुई वर्ष बाँकी छ ।

डा. बाबुराम भट्टराई र नाराणकाजी श्रेष्ठ

तनहुँ २ मा पौडेल कि श्रेष्ठ ?

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले हारेको क्षेत्रबाट पुन चुनाव जित्ने उद्घोष गरिरहेका छन्। त्यति मात्र होइन उनले प्रधानमन्त्री बन्ने सपनासमेत देख्न छाडेका छैनन्। गत चुनावमा तनहुँ २ बाट उनी करिब ७ हजार मतान्तरले हारेका थिए।

तत्कालीन एमाले उम्मेदवार अहिलेका नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ किसानले ३४ हजार ४ सय ९२ मत ल्याएर जितेको क्षेत्र हो यो । श्रेष्ठ दोहोरिँदा पौडेलले उम्मेदवारी दिन पाउने छैनन्। या पौडेल गठबन्धनको उम्मेदवार हुँदा श्रेष्ठले क्षेत्र परिवर्तन गर्नुपर्नेछ।

रामचन्द्र पौडेल र कृष्णकुमार श्रेष्ठ किसान

जनमोर्चाको एक सिटमा वामदेवको नजर

गठबन्धनमा राष्ट्रिय जनमोर्चाले जितेको एक सिटमा समेत उम्मेदवारको बन्ने किचलो देखिन थालेको छ। जनमोर्चाकी दुर्गा पौडेलले प्युठान-१ बाट कांग्रेस उम्मेदवार डाक्टर गोविन्दराज पोखरेललाई पराजित गरेकी थिइन्।

सोही क्षेत्रमा फेरि नेकपा एकता अभियानका संयोजक वामदेव गौतम चुनाव लड्ने चर्चा छ। बर्दियाबाट चुनाव जित्न नसकेपछि उनी फेरि माओवादीको चुनाव चिन्हमा लड्ने भन्दै प्युठान उक्लने सोचमा देखिन्छन् ।

वामदेव बर्दिया फर्किए पनि उनलाई यसअघि निर्वाचित कांग्रेसकै सञ्जयकुमार गौतम चुनौति बन्ने देखिन्छ। प्रतिनिधिसभा पराजित भएर सत्ताको स्वादबाट टाढा रहेका वामदेवलाई पछि राष्ट्रियसभा सदस्य बनाइएको थियो ।

आगामी निर्वाचनमा उम्मेदवार हुन गठबन्धनले प्रस्ताव गरेको सिट बाँडफाँटको विधिले वामदेवलाई बर्दियामा रोक्छ भने प्युठान फर्कनसमेत सजिलो देखिँदैन।

आगामी निर्वाचनमा उम्मेदवार दिन गठबन्धनले प्रस्ताव गरेको सिट बाँडफाँटको विधिले वामदेवलाई बर्दियामा रोक्छ भने प्युठान फर्कनसमेत सजिलो देखिँदैन। माओवादीको चिन्हबाट चुनाव लड्ने भनेका वामदेव के गर्लान् चासो देखिएको छ।

वामदेव गौतम र दुर्गा पौडेल

मोहन बस्नेतलाई अग्निको अवरोध

गठबन्धन गर्दा आफ्नो सिट असुरक्षित देख्ने अर्को नेता हुन् मोहन बस्नेत। यसैले होला उनी गठबन्धनको आलोचक छन्। किनकि, उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट अघिल्लो निर्वाचनमा सभामुख तथा तत्कालीन माओवादी नेता अग्निप्रसाद सापकोटासँग पराजित भएका थिए । बस्नेतले २९ हजार ७ सय ९८ मत ल्याउँदा सापकोटाले एमालेको सहयोगमा १० हजार भन्दा बढी मतले जिते।

स्थानीय तह निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्रमा गठबन्धन गर्न नदिएका बस्नेत फेरि चुनाव लड्न चाहन्छन्, तर सभामुख सापकोटा पनि संसदीय राजनीतिबाट तत्काल विश्राम लिने मुडमा छैनन्। यो क्षेत्रमा को होला ? धेरैको चासो छ ।

मोहन बस्नेत र अग्नि सापकोटा

डोटीमा बलायर कि आले ?

संसदीय बाटोमा गठबन्धनकै नेता अवरोधक बन्ने अर्को क्षेत्र हो डोटी। जहाँ एउटै मैदानबाट संसदीय निर्वाचनमा होमिन खोजिरहेका छन् तत्कालीन एमालेबाट निर्वाचित र वर्तमान एकीकृत समाजवादीका सांसद प्रेम आले तथा कांग्रेसका सुदूरपश्चिम सभापति वीरबहादुर बलायर।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका प्रिय पात्र बलायर निर्वाचन क्षेत्र छाड्न चाहँदैनन्। थोरै ठाउँमा मात्र प्रत्यक्ष जितेका सांसद रहेको एकीकृत समाजवादीले पनि आलेको निर्वाचन क्षेत्र छाड्न चाहँदैन।

वीरबहादुर बलायर र प्रेम आले

यसरी हेर्दा सिट बाँडफाँट गर्न सत्ता गठबन्धनलाई सहज छैन । दर्जनौं क्षेत्रमा ठूला नेताबीच घमासानको अवस्था देखिन्छ । त्यसलाई शीर्षस्थ नेताले कसरी व्यवस्थापन गर्छन् त्यो हेर्न भने बाँकी छ । तर, एउटालाई दिँदा अर्को रिसाउने अवस्था भने अहिले नै देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved