बेइजिङ डायरी

चिनियाँको हातबाट दशैँको टीका लगाउँदा . . .

अगाडिका दुईवटा दशैँमा कोरोनाको डरले धेरै मान्छेहरू काठमाडौँ खाल्डोबाट घर जान सकेनन्। बेइजिङ त टाढाको कुरा, काठमाडौँबाटै दशैँ मनाउन घर जाने अवस्था नभएकाले चित्त बुझाएकै थिएँ। यो साल त नेपाल जान कसो नपाइएला भन्ने सोचमा चीनको ‘जिरो कोभिड पोलेसी’ले चिसो पानी खन्यायो। अनि त गाउँमा गएर दशैँ मनाउने पनि सम्झिने पानी छम्किने पो भयो।

चिनियाँको हातबाट दशैँको टीका लगाउँदा . . .

बेइजिङ। चीनमा काम गर्न थालेको ९ वर्ष पूरा भएर दश वर्षमा प्रवेश गरेको छ। कोरोना महामारी हुनुभन्दा अगाडि म हरेक दशैँमा नेपाल पुग्थेँ। काठमाडौँ पुगेर पनि मन अडिँदैन थियो। कतिखेर इलाम पुगौँ भनेर मन भुटभुटिन्थ्यो। छोराछोरीको स्कुल बिदा कुर्न पनि वर्षौँ बिताए जस्तो हुने।

यसो भनौँ म चीनबाट नेपाल पुग्दा साङ्लाबाट फुत्केको कुकुर जस्तो हुन्थ्यो। केही दिन काठमाडौँमा बस्नुपर्दा फेरि पिँजडामा थुनिएको चरो ठान्थेँ। जब इलाम पुग्थेँ नि त्यो कुराको वर्णन गर्न चाहिँ मसँग कुनै उपमा छैन। न कुनै बिम्ब छ न कुनै प्रतीक।

हुन तः जतिबेला इलाम पुगे पनि दशैँ आए जस्तै हुन्छ। कन्यामको चियाबारीलाई अरूहरू बगैँचा भन्छन् म चाहिँ गलैँचा देख्छु। अन्तु डाँडाबाट उदाएको घाम मलाई देखेर लजाएर रातो भएको मनले ठान्छ। हुर्हुरे भन्ज्याङमा हुर्हुरी चल्ने बतास मलाई पर्खेर बसेको जस्तो लाग्छ। फिक्कल बजारका पसलमा झुन्ड्याइएका छुर्पी र ललिपपका पोकाले मैलाई आमन्त्रण गरेजस्तो क्या।

सीआरआई नेपाली सेवामा कार्यरत चिनियाँ र नेपाली २०७७ को दशैँ मनाएपछि

तीस वर्ष अगाडि दशैँमा उमङ्ग बोकेर काठमाडौँबाट गाउँमा पुग्दा भेट हुने बित्तिकै गाउँले युवराज दाहाल दाइले सोध्थे ‘अन्त नेपालबाट कहिले आको भाइ?’ दाइ ‘नेपाल’ भनेर काठमाडौँलाई भन्दा रहेछन्। यो कुराको भेउ पाउन मलाई निकै समय लाग्यो। नाना माइली भन्थिन् ‘आब्बुई यो काँइला पनि आइपुगेछा। यो आएपछि बल्ल गाउँमा दशैँ आउँछा।’ केन्द्रप्रसाद घिमिरे सोध्थे ‘भाइजी हिजोआज कता छ आश्वासनबास?’ केन्द्र दाइले सोध्न खोजेको चाहिँ बासस्थान रहेछ। नयाँ शब्दलाई प्रयोग गर्न रुचाउने हुनाले उनले आश्वासनबास भनेका रहेछन्।

यसो भनौँ म चीनबाट नेपाल पुग्दा साङ्लाबाट फुत्केको कुकुर जस्तो हुन्थ्यो। केही दिन काठमाडौँमा बस्नुपर्दा फेरि पिँजडामा थुनिएको चरो ठान्थेँ। जब इलाम पुग्थेँ नि त्यो कुराको वर्णन गर्न चाहिँ मसँग कुनै उपमा छैन। न कुनै बिम्ब छ न कुनै प्रतीक।

गाउँका टारबारीमा मकैका जरा उखेलेर हिले माटोमा फुटबल नखेले के दशैँ। लिङ्गे पिङमा हुरुर्र गर्दै जोरखर्कबाट मच्चिँदा प्याङ र सिरिसे सबै देखिँदा मन नै चिऊँ….. पारे तब न दशैँ।

नयाँ बजारमा हरेक मङ्गलवार लाग्ने हाटबजारमा देखिने नयाँ नयाँ लुगाकपडाले दशैँ बोलाउँथ्यो। छरछिमेक मिलेर गोरेँटा बाटाहरू ताछतुछ बनाउँदै दशैँ बोलाइन्थ्यो। मड्किनुबाट ल्याएको ताजा कमेरो हानेपछि टल्किने घर र भित्ताको फेदमा लगाइने रातो माटोको घेरोबाट दशैँ मुस्कुराउँथ्यो।

टीका लगाएपछि नाच्दै चिनियाँ युवतीहरु हिमा लालिमा र ललिता

टीका लगाएपछि मामा घर जानलाई घरमा हुने हानथाप र पालोपिलो गरेर टीका लगाउने जाने चलन, मामा घरमा दक्षिणामा पाउने बज्ने पैसा, टीका लगाएपछि केरासँगै दही चिउरा खाँदाको मज्जा पो दशैँ। हामी छोरा मान्छेले त दक्षिणा पाउने मामाघरमा मात्र। घरमा त छोरीलाई मात्र दक्षिणा दिन्थे। त्यतिबेला चाहिँ दशैँ नरमाइलो लाग्थ्यो।

नौरथा लागेपछि घन्किने नगरा सुन्न छोडेको धेरै भइसक्यो। हाम्रै पालामा हराउन लेखेको रहेछ यस्ता संस्कृतिलाई पनि। छोराछोरीलाई पहिले पहिले नौरथा लागेपछि नगरा घनन्न घन्किन्थ्यो भनेर बुझाउन सकिन्न।

बाल्यकालका दशैँ मनाउँदाका रमाइला कति छन् कति। एउटा पोको फुकायो अर्को देखा पर्छ। त्यो फुकायो त्यसभित्र अर्को पोको हुन्छ। गाउँघरमा दशैँ लागेर बाटोमा उँधोमुन्टे भएर सुत्नेदेखि, खुट्टा टेक्न नसक्ने भए पनि बिना कारण धक्काधक्की गरेर झगडिने छिमेकीहरू पनि दशैँकै रौनक थिए। टन्न मातेर फुटबल खेल्दा ‘जाँडपेटमा गोलीले लाग्यो’ भन्दै दर्शकहरू कराउँथे। अरू बेलाको पानीपेट दशैँमा त जाँडपेट पो हुँदो रहेछ।

नौरथा लागेपछि घन्किने नगरा सुन्न छोडेको धेरै भइसक्यो। हाम्रै पालामा हराउन लेखेको रहेछ यस्ता संस्कृतिलाई पनि। छोराछोरीलाई पहिले पहिले नौरथा लागेपछि नगरा घनन्न घन्किन्थ्यो भनेर बुझाउन सकिन्न। मोबाइल फोनभित्र समेटिएको भर्चुअल दुनियाँमा कसरी बुझाउने रातो माटो र कमेराले घर सिँगारेको कथा? गाउँलेहरू भेला भएर बाँसका लिङ्गा जोडेर बनाएको लिङ्गे पिङलाई उनीहरु भृकुटी मण्डपको रमाइलो मेलामा खोज्न जान्छन्।

कुसुम दिदीसँग टीका लगाउँदै स्तम्भकार चेतनाथ आचार्य

गाउँभरी छाउने दशैँ हेर्दाहेर्दै खुम्चिएर घरमा सीमित भयो। घरबाट कोठामा सीमित भयो। अनि मोबाइल फोनका स्क्रिनमा कुचुक्क पर्‍यो त्यो फराकिलो दशैँ। अब नयाँ लुगा लगाउन दशैँ पर्खनु पर्दैन। दही चिउरामा केरा मुछेर खाने चलन कमैमा मात्र होला। अहिलेको भुरा पुस्ता मावल जान रुचाउँदैन। ‘को जान्छ वाईफाई नभएको मावल’ भन्छन् उनीहरू।

समाज र अर्थ व्यवस्थासँगै दशैँ पनि परिवर्तन भयो। द्वन्द्वकाल सुरु भएपछि सहरी क्षेत्रबाट दशैँ मनाउन गाउँ जाने चलन हरायो। गाउँका नवजवानहरू खाडी मुलुक र मलेसिया भासिन थाले। सुनसान बनेको गाउँमा कता दशैँ रम्नु? दशैँमा खनिने गोरेटो बाटोको चिनोबानो छैन गाउँमा। पालिकाको बजेटमा डोजर लगाएर ठूलै बाटा पुगेका छन् गाउँमा। बर्खामा पहिरो र भेलले खोलेर उबडखाबड बनाए पनि पुरेर मिलाउने कसैलाई फुर्सद छैन। पालिकाकै बजेट कुरेर बस्छन् गाउँलेहरू।

कुसुम दिदीसँग टीका लगाउँदै नेपाली पत्रकार लक्ष्मी लम्साल

गाउँले साथीहरू मलेसिया र खाडी मुलुक भासिएजस्तै आफू पनि रोजगारीकै क्रममा चीनमा बसेको ९ वर्ष पूरा भइसकेछ। चीनमा बसे पनि दशैँ मनाउन त घरमा पुगिन्थ्यो तर कोरोना महामारीले छेकेको बाटो अझै खुलेको छैन। कोरोना महामारीपछि तीन वटा दशैँ चीनमा बितेका छन्।

हुन तः यस अगाडिका दुई वटा दशैँमा कोरोनाको डरले धेरै मान्छेहरू काठमाडौँ खाल्डोबाट घर जान सकेनन्। बेइजिङ त टाढाको कुरा, काठमाडौँबाटै दशैँ मनाउन घर जाने अवस्था नभएकाले चित्त बुझाएकै थिएँ। यो साल त नेपाल जान कसो नपाइएला भन्ने सोचमा चीनको ‘जिरो कोभिड पोलेसी’ले चिसो पानी खन्यायो। अनि त गाउँमा गएर दशैँ मनाउने पनि सम्झिने पानी छम्किने पो भयो।

टीका लगाइदिएपछि कुसुम दिदी सीआरआईलाई आफ्नो अनुभव सुनाउँदै

चीनमा दशैँको खासै उल्लास हुँदैन। सामान्य समयजस्तै काम गर्ने र समय बिताउने हो। तर पनि सन् २०२० (२०७७ साल) को दशैँ चाहिँ स्मरणीय रह्यो। कार्यरत चिनियाँ अन्तर्राष्ट्रिय रेडियो ‘सीआरआई’ नेपाली सेवाले औपचारिक रूपमै दशैँ मनाउने कार्यक्रम राखेको थियो।

कार्यालय नजिकै बेइजिङ अन्तर्राष्ट्रिय मूर्तिकला पार्क रहेको छ। उक्त पार्कभित्र दशैँको टीका लगाउने र फेसबुकबाट प्रत्यक्ष प्रसारण गर्ने कार्यक्रम अनुसार हामी बिहान ११ बजेतिर भेला भयौँ। बिहानको एघार बजे नेपालको पौने नौ मात्र हुने भएकाले केही बेर तयारी गरेपछि लगभग सवा १२ तिर (नेपाली दस बजेको समय) टीका लगाउने कार्यक्रम बन्यो।

सीआरआई नेपाली सेवामा कार्यरत चिनियाँ साथीहरू सहित हामी नेपालीलाई पनि टीका लगाइ दिनलाई कार्यालयले कुसुम दिदीलाई बोलाएको रहेछ। कुसुम दिदीलाई धेरै नेपालीले छाङ्हो दिदी पनि भन्छन्। उहाँ सीआरआई नेपाली सेवाको प्रमुख हुनुहुन्थ्यो र सन् २००५ मा सेवा निर्वृत्त हुनुहुन्छ।

चिनियाँ सहकर्मी मुनालाई टीका लगाइ दिँदै नेपाली पत्रकार लक्ष्मी लम्साल

कुसुम दिदीले हामी सबैलाई पालै पालो टीका लगाइ दिनुभयो। अचम्म चाहिँ के थियो भने उहाँले हामी केटा मान्छेलाई टीका लगाइ दिँदा ‘आयुर्दोणसुते…’ भन्दै संस्कृत श्लोक भटभट्याउनुभयो। महिलाहरूलाई टीका लगाइ दिँदा ‘जयन्ती मङ्गलाकाली…’ भन्दै अर्कै श्लोक गाउनुभयो। ठ्याक्कै बाआमाले हामी सानो हुँदा उही श्लोक घरै थर्किने गरी गाएर टीका लगाइ दिनुहुन्थ्यो। छोरा मान्छेलाई आयुर्दोणसुते भन्ने र छोरी मान्छेलाई जयन्ती मङ्गला काली भन्ने।

सीआरआईले दशैँमा टीका लगाइ दिन अनुरोध गरेपछि कुसुम दिदीले कसरी टीका लगाउँछन् भनेर सोधखोज गर्नु भएछ। पहिले सीआरआईमा हामी जस्तै विदेशी विशेषज्ञका रुपमा काम गरेका कृष्ण केसीलाई उहाँले सोध्नु भएको रहेछ। कृष्ण केसी दाइले उक्त श्लोक लेखेर पठाउनु भएको रहेछ। कुसुम दिदीले कागजका चिर्कटोमा सारेर ल्याउनु भएको संस्कृत श्लोक भन्दै टीका लगाइ दिँदा मैले घरमै पुगेर टीका लगाएको अनुभूति गरेँ।

हुन पनि कुसुम दिदी मेरी आमाभन्दा ५ वर्षले मात्र कान्छी हुनुहुन्छ। हामी सबै उहाँलाई दिदी भनेर सम्मान गर्छौँ। उहाँ आफूलाई आधा नेपाली ठान्नुहुन्छ। उहाँले सन् १९६३ देखि २००५ सम्म नेपाली भाषा पढेर, लेखेर, बोलेर, सुनेर र संवाद गरेर बिताउनु भएको छ। सन् २००५ मा सेवा निर्वृत्त भएर पनि उहाँले थप सात वर्ष अर्थात् सन् २०१२ सम्म सीआरआईमा करारमा काम गर्नुभयो। यसो हिसाब गर्दा झन्डै ५० वर्ष नेपाली भाषालाई कर्मक्षेत्र बनाउनु चानचुने कुरा हुँदै होइन।

चिनियाँ युवती हिमालाई टीका लगाइ दिँदै कुसुम दिदी

टीका लगाएर दिदीले हामीलाई फलफूलहरू उपहार पनि दिनुभयो। आमा समानकी दिदीको हातबाट टीका लगाउन पाउनु एउटा अनुपम अवसर थियो। चिनियाँ नागरिकले दशैँमा घरमै जस्तो श्लोक भट्याएर राता अक्षता निधारमा टाँसिदिँदा मनमा लागिरह्यो यो निधार पनि भाग्यमानी नै रहेछ।

त्यसपछिको अर्को वर्ष २०७८ सालमा बेइजिङस्थित नेपाली दूतावासमा पुगेर तत्कालीन राजदूत महेन्द्रबहादुर पाण्डेको हातबाट टीका लगाइयो। यो वर्ष त टीकाको दिन पनि रेडियोमा समाचार भन्नु पर्ने भएकाले नयाँ राजदूत विष्णुपुकार श्रेष्ठको हातबाट टीका लगाउन जुरेन।

आधा शताब्दी घिसारिसकेको जिन्दगीले भोगेका दशैँमा बाल्यकालको दशैँ जस्तो उमङ्गपूर्ण नभए पनि चिनियाँसँगको दशैँ एउटा नयाँ अध्यायका रुपमा रहन गयो। त्यसो त कतिपय नेपाली र चिनियाँ संस्कृतिबीचमा समानता पनि पाइन्छ। चिनियाँहरूको सबैभन्दा ठूलो पर्व वसन्त चाड (परम्परागत चिनियाँ पात्रो अनुसारको नयाँ वर्ष) नेपालीको दशैँसँग धेरै कुरामा मिल्दोजुल्दो छ।

लामो बिदा हुने भएकाले वसन्त चाडमा टाढा पुगेका परिवारका सदस्यहरू भेला हुने र मिठो मिठो खाने कुरा खाने गर्छन्। ठूलाले सानालाई रातो खाममा हालेर दक्षिणा दिने चलन पनि मिल्दोजुल्दो छ। बिहे गरेका छोरीहरू कोसेली बोकेर माइतीघरमा आउने गर्छन्।

चिनियाँ वसन्त चाड र नेपालीहरूको दशैँको सबैभन्दा समान पक्ष चाहिँ यसको अर्थतन्त्र हो। नेपालीहरूले वर्षभरी कमाएको पैसा दशैँमा सिद्ध्याए जस्तै चिनियाँहरूले पनि वर्षभरिको खर्चमध्ये एक तिहाई त वसन्त चाडमा मात्र सक्छन्। चाड मनाउन ऋण गरेर भए पनि खर्च गर्न चिनियाँ र नेपाली उस्तै।

 


Comment

4 thoughts on “चिनियाँको हातबाट दशैँको टीका लगाउँदा . . .

  1. मीठो साहित्य नै पढ्न पाएको अनुभूति
    भयो—-दशैं साहित्य भनौं न यस प्रस्तुतिलाई।

    1. वरिष्ठ पत्रकार ध्रुबहरि सरप्रति हार्दिक आभार।

  2. वास्तवमा विदेशी भूमिमैं भएपनि नेपालीभाषी अग्रज विदेशीहरूकै हातबाट टीका ग्रहण गरी आफ्नो महान चाड मनाएको अनुभव पनि मीठो हुन्छ होला। अझ सीआरआईले दसैँ मनाउने चलन नै बसाएको पढ्दा मनै आनन्दित भयो। आदरणीय कुशुम दिदी सहित सबै सीआरआई नेपाली विभागका कार्यक्रम सञ्चालक ज्यूहरूलाई दशैँको शुभकामना ।

    1. काजिराम सर, तपाई‌का गहकिला शब्द र शुभकामनाप्रति धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved