जब-जब राष्ट्रपति चुनाव, तब-तब राजनीतिमा नाटकीय घटनाक्रम

चारवटै चुनावको अन्तरकथा

राष्ट्रपति चयनका बेला राजनीतिक घटनाक्रम नाटकीय रूपमा परिवर्तन हुनेगर्छ । गठबन्धन बन्ने र तोडिने श्रृखला पहिलो राष्ट्रपतिको चुनावदेखिनै हुँदै आएको हो ।

जब-जब राष्ट्रपति चुनाव, तब-तब राजनीतिमा नाटकीय घटनाक्रम

काठमाडौं। बिहीबारराष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । चुनावअघि बनेको गठबन्धन भत्किएर बनेको नयाँ गठबन्धन र त्यो पनि भत्किएर बनेको अर्को गठबन्धनबाट कांग्रेस उम्मेदवार राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

राष्ट्रपति चयनका बेला राजनीतिक घटनाक्रम नाटकीयरूपमा परिवर्तन हुनेगर्छ । पार्टीभित्र राष्ट्रपतिका आकांक्षीलाई व्यवस्थापन गर्नदेखि राजनीतिक समीकरण मिलाउनेसम्मका सकसले समीकरण नै बदलिएका दृश्य देखिए ।

राष्ट्रपति चुनावमा गठबन्धन बन्ने र तोडिने शृङ्खला पहिलेदेखि नै हुँदै आएको छ । पहिलो राष्ट्रपति कांग्रेसका उम्मेदवार निर्वाचित भए । दोस्रो र तेस्रो राष्ट्रपति एमालेबाट भएका थिए भने अहिले चौथो कार्यकालको लागि तेस्रो राष्ट्रपति फेरि कांग्रेसबाटै बनेका छन् । राष्ट्रपति चयनका लागि यसअघि भएका घटनाक्रम हेरौँ ।

पहिलो राष्ट्रपति निर्वाचन (६ साउन २०६५ )

देशले पहिलो राष्ट्रपतिका रूपमा ६ साउन २०६५ मा डा. रामवरण यादवलाई पाएको थियो । उनी ०७२ कात्तिकसम्म राष्ट्रपति भए । ६ साउन २०६५ को चुनावबाट यादव राष्ट्रपति चयन भए । त्यस अघिको केही दिन नेपाली राजनीतिमा निकै रोमाञ्चक घटना भए ।

४ साउनमा राष्ट्रपतिको निर्वाचनबाट टुङ्गो लाग्न नसक्दा दोस्रोपटक २ दिनपछि चुनाव भयो । त्यो बिचमा घन्टाघन्टामा परिस्थिति फेरियो । संविधानसभाको पहिलो चुनाव हुनुअघिसम्म माओवादीले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिको आश्वासन दिएको थियो । पछि माओवादीले कोइरालाई अस्वीकार गरेर एमाले नेता माधवकुमार नेपाललाई आसा देखायो ।

दलहरुबीच सहमति नजुट्दा झन्डै दुई महिनासम्म राष्ट्रपति चयन हुन सकेन । नयाँ सरकार गठनमा पनि ढिलाइ भयो । माओवादी पहिलो ठुलो दल भए पनि सरकार बनाउन पाएको थिएन । किनकि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राष्ट्रपति नहुँदा राजीनामा बुझाउन पाएका थिएनन् । अन्तरिम संविधानमा राजीनामा राष्ट्रपतिलाई बुझाउने भनिएको थियो।

गठबन्धनको लागि दलहरुबीच आ–आफ्नो स्वार्थअनुकूलका वार्ता चलिरहेका थिए । कांग्रेसले कोइरालालाई राष्ट्रपति नबनाए प्रतिपक्षमा बस्ने बतायो । माओवादीले राष्ट्रपतिमा एमालेलाई दिन राजी भए पनि माधव नेपाललाई बनाउन चाहेन । माधव नेपाल बाहेकका नाम प्रस्ताव गर्नुपर्ने माओवादीको अडानले एमालेको हातबाट राष्ट्रपति फुत्कियो। दलहरू बीचका सहकार्य र सम्भावित समीकरण भाँडियो । सबै दलले आ–आफ्ना उम्मेदवार उठाए ।

माओवादीले रामराजाप्रसाद सिंहलाई राष्ट्रपतिको उम्मेदवार बनाउने घोषणा गर्‍यो । उपराष्ट्रपतिमा शान्ता श्रेष्ठ उम्मेदवार थिइन् । सर्वसम्मत राष्ट्रपति बन्ने चाह राखेका कोइराला चुनावी खेलमा उत्रिएनन् । कांग्रेसले पनि ‘हार्न’कै लागि भन्दै डा रामबरण यादवलाई उठायो । उपराष्ट्रपतिका उम्मेदवार थिए मानबहादुर विश्वकर्मा ।

एमालेबाट रामप्रित पासवान राष्ट्रपति र अष्टलक्ष्मी शाक्य उपराष्ट्रपतिको उम्मेदवार बनिन् । त्यतिबेला संविधानसभाको चौथो ठूलो शक्ति मधेसी जनाधिकार फोरमलगायतका मधेस केन्द्रित दलले माओवादीका सिंहलाई समर्थन गर्ने बताए । सिंह राष्ट्रपति बन्ने पक्का जस्तै देखियो । फोरमले उपराष्ट्रपतिमा भने आफ्नै उम्मेदवार उठायो परमानन्द झा ।

चुनावको केही समयअघि कांग्रेस, एमाले र फोरमबीच नयाँ सहमति भयो । कांग्रेसले राष्ट्रपति, फोरमले उपराष्ट्रपति र एमालेले सभामुख पाउने सहमति बन्यो । तर, सहमतिको ब्रिफिङ सभासद्हरूलाई हुन पाएन । दलीय ह्विप पनि नलागेकाले २५ मत बदर भयो । कोही पनि राष्ट्रपति चुनिन सकेन । अर्थात कोही उम्मेदवारले पनि पचास प्रतिशत मत पाएनन् ।

उपराष्ट्रपतिमा परमानन्द झा ३०५ मत पाएर विजयी भए । मुलुकले राष्ट्रपतिभन्दा पहिले उपराष्ट्रपति पायो । ६ गते भएको दोस्रो चुनावमा कुल ५९० मत खस्यो । कुनै पनि मत बदर भएन । डा रामवरण यादव ३०८ मत पाएर विजयी भए । जबकि उनलाई कांग्रेसले जित्ने अपेक्षा गरेर उम्मेदवार बनाएकै थिएन । गणतन्त्र कार्यान्वयन भएको ५४ दिनपछि मुलुकले पहिलो राष्ट्रपति पायो। यादवले २ दिनपछि साउन ८ मा शपथ लिएर कार्यभार सम्हाले।

प्रधानमन्त्रीमा १८ पटक हारेका पौडेल राष्ट्रपतिमा पहिलो पटकमै विजयी

दोस्रो राष्ट्रपति निर्वाचन ( ११ कात्तिक २०७२)

३ असोज ०७२ मा संविधान जारी भयो। संविधान जारी अघि कांग्रेस र एमाले सरकार थियो। संविधान जारीपछि एमालेले प्रधानमन्त्री पाउने सहमति थियो । दोस्रो संविधानसभा चुनावपछि एमाले र कांग्रेसको सरकार बनेको थियो।

कांग्रेसबाट सुशील कोइराला प्रधानमन्त्री बनेका थिए । तर संविधान जारी भएपछि सुशील कोइराला नै प्रधानमन्त्रीको प्रतिस्पर्धी बने। एमाले र माओवादीबीच नयाँ गठबन्धन बन्यो । त्यसै अनुसार केपी शर्मा ओली प्रधानमन्त्री बने । राष्ट्रपति पनि एमालेले पायो । उपराष्ट्रपति र सभामुख भने माओवादीले पायो । ११ कात्तिकमा राष्ट्रपति चुनावको मिति तय भयो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनाका कारण राष्ट्रपतिमा विद्या भण्डारीले मौका पाइन् । सुवास नेम्वाङ र झलनाथ खनालको नाम प्रस्ताव भए पनि निर्णय भएन । कांग्रेसले भने कुलबहादुर गुरुङलाई उठाउने निर्णय गर्यो‍।

१० गते उम्मेदवारी दर्ता हुँदा भण्डारीका लागि प्रचण्ड प्रस्तावक र राप्रपा नेपालका कमल थापा समर्थक बसे । कांग्रेस उम्मेदवार गुरुङको प्रस्तावकमा प्रकाशमान सिंह र समर्थकमा कृष्णप्रसाद सिटौला थिए । ११ गते भएको निर्वाचनमा भण्डारी ३२७ मत पाएर विजयी भइन् ।

त्यतिबेला संसदमा कुल ५ सय ९७ सदस्य थिए भने ५ सय ४९ ले मत खसालेका थिए। ४७ जना अनुपस्थित थिए । आन्दोलनरत मधेसी मोर्चाले मतदान बहिस्कार गरेको थियो ।

तेस्रो राष्ट्रपतिको निर्वाचन ( २९ फागुन २ ०७४ )

नेकपा एमाले र माओवादी केन्द्रले २०७४ को चुनावमा गठबन्धन गरे। पार्टी एकता प्रक्रिया सुरु भएको थियो। चुनाव जितेपछि प्रमुख पद बाँडफाँटमा राष्ट्रपति र प्रधानमन्त्री दुवै एमालेले राख्यो । प्रचण्डलाई आधा कार्यकाल प्रधानमन्त्री दिने भनियो ।

सभामुख माओवादीको भागमा गयो । ओली प्रधानमन्त्री बनिसकेकाले आफूलाई सहज हुने पात्र विद्या भण्डारीलाई नै राष्ट्रपतिमा दोहोर्‍याउन उनले कसरत थाले । झलनाथ खनालले राखे पनि खासै साथ पाएनन् । केही विरोधका बाबजुद भण्डारीलाई नै राष्ट्रपतिमा दोहोर्‍याउने निर्णय एमालेले गर्यो ।

२३ फागुनमा राष्ट्रपतिका लागि भण्डारीले मनोनयन दर्ता गरिन् । एमाले र माओवादीको प्रस्तावमा संघीय समाजवादी फोरम, राजपा, राप्रपा लगायतका दलले पनि समर्थन गरे।

संघीय संसदका ३ सय ३१ मध्ये ३ सय २६ र प्रदेशसभाका ५ सय ४९ मध्ये ५ सय ३६ ले मतदान गरेका थिए । उक्त निर्वाचनमा ५१ हजार ४ सय ८२ मतभार खसेकोमा राष्ट्रपतिमा निर्वाचित भण्डारीले ३९ हजार २ सय ७५ पाइन ।

 

चौथो राष्ट्रपतिको निर्वाचन ( २५ फागुन २०७९ )

४ मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा कांग्रेस, माओवादी, जनता समाजवादी पार्टीलगायत पाँच दल थिए। एमालेको छुट्टै तालमेल थियो। चुनावअघिदेखिकै कांग्रेस एमालेको गठबन्धन त्यतिबेला टुट्यो जोतिबेला कांग्रेसले माओवादीलाई प्रधानमन्त्री र राष्ट्रपति दुवै पद दिएन।

प्रधानमन्त्री नपाएपछि १० पुसमा कांग्रेससँगको गठबन्धन त्यागेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालकोट पुगे। प्रचण्डले राष्ट्रपति एमालेलाई दिने गरी प्रधानमन्त्री आफूले लिने सहमति गरे। सोही दिन उनी प्रधानमन्त्री बने।

एमालेसँग गठबन्धन गर्न माओवादी जाँदा पनि कांग्रेसले ‘मिसन राष्ट्रपति’को रणनीति छाडेन । प्रचण्डलाई १० पुसमा प्रधानमन्त्री नबनाए पनि २६ पुसमा विश्वासको मत दिने लहरमा कांग्रेस उभियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘ढोक्सा नथाप्न’ चेतावनी दिए पनि कांग्रेस माओवादीसँग नजिकिन छाडेन।

ठीक २ महिनापछि १० फागुनमा प्रचण्डले फेरि समीकरण बदल्दै कांग्रेससँग हात मिलाए । आफूले प्रधानमन्त्री पाएपछि राष्ट्रपतिमा एमालेलाई सहयोग गर्ने बचन दिएको माओवादीले धोका दियो। एमालेले सरकार छाड्यो । कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन बन्यो । कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार बने र अहिले निर्वाचित पनि भए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved