‘टिभी स्टार’को राजनीतिक यात्रा : आशा गरौं रवि रवीन्द्र बन्ने छैनन्

कतै उनी २४ घण्टाभित्र देशका सबै विकृति समाप्त गर्न सक्ने सामर्थ्य आफूसँग भएको दाबी गर्दै हुन्छन् त कतै ‘अब हामी आयौं, कसैले चिन्ता गर्नु पर्दैन, सबै ठिकठाक हुन्छ’ भन्छन् । यस्ता अभिव्यक्तिमा गम्भीरताभन्दा बढी व्यक्तिवाद, पपुलिज्म र नायकत्वको भावना देखिन्छ । आशा गरौं रवि, रवीन्द्र जस्तो बन्ने छैनन् । 

‘टिभी स्टार’को राजनीतिक यात्रा : आशा गरौं रवि रवीन्द्र बन्ने छैनन्

काठमाडौं । औसत चर्चित व्यक्तिलाई लोकप्रिय भएको भान हुन्छ। यथार्थमा ‘चर्चित’ र ‘लोकप्रिय’ हुनु फरक कुरा हो । चर्चित हुन धेरैले चिन्नु, नाम जान्नु हो– कुख्यात वा बदनाम मानिस पनि चर्चित हुन सक्दछन्। ‘लोकप्रिय’ हुनु मानिसले मनपराउनु, उसको विचार, व्यक्तित्व र कार्यले समर्थन प्राप्त गर्नु हो । यद्यपि, रवि लामिछानेबारे यो विरोधाभाष सम्परीक्षण भएको छैन। टिभी कार्यक्रम प्रस्तोताका रूपमा उनी चर्चित पक्कै होलान्, तर के उनी पार्टी नेताका रूप लोकप्रियसमेत भइसकेका हुन् ? टिभी कार्यक्रम सञ्चालकको लोकप्रियता नेता हुनका लागि पर्याप्त क्षमता हो ? यो प्रश्न अहिलेसम्म अनुत्तरित छ । मंसिर ४ को निर्वाचनले यसको प्रारम्भिक उत्तर दिने छ ।

गम्भीर राजनीति कि ‘स्वतन्त्र’ को मौका छोप्ने ढोक्सी ?

रवि लामिछानेले नयाँ पार्टी मात्रै खोलेनन्, नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ राखे । उनको पार्टीको नामबारे यस्ता प्रतिक्रिया सर्वत्र सुन्न पाइन्छन–स्वतन्त्र पनि पार्टी हुन्छ ? पार्टी नभएकालाई स्वतन्त्र भनिन्छ हैन ?

लामिछानेले पार्टीको नाम ‘स्वतन्त्र’ राख्नु पछाडि गत स्थानीय निर्वाचनमा आएको स्वतन्त्र उम्मेद्वारको लहरले काम गरेको प्रष्टै देखिन्छ । विशेषतः काठमाडौंमा बालेन्द्र शाहको जितले उनलाई भित्रभित्रै आशावादी बनाएको हुनुपर्छ ।

पार्टी स्थापनाको घोषणा कार्यक्रममा रविले यो मनसाय लुकाएनन् ।  भन्दिए–‘स्वतन्त्रहरू प्रत्यक्ष निर्वाचन लड्नुहोला, स्वतन्त्र उम्मेद्वारप्रति सहानुभूति राख्नेको समानुपातिक भोट संकलन गर्न स्वतन्त्र पार्टी चाहियो । रविको यो अपेक्षा कति पूरा हुन्छ थाहा छैन । गत स्थानीय चुनावमा स्वतन्त्र उठ्ने र जित्ने सबै उम्मेद्वार एकै प्रकारका हैनन् । काठमाण्डौंका बालेन्द्र समर्थकले नै रविको पार्टीलाई भोट दिने कुनै ग्यारेन्टी छैन। धरानका हर्क साम्पाङ समर्थकको मनोविज्ञान झनै भिन्न छ । धनगढीका गोपी हमाल अझ भिन्न पृष्ठभूमिका हुन् ।

देशका अन्य विभिन्न पालिकामा स्वतन्त्र चुनाव जितेका वा उम्मेद्वार भएर राम्रै मत ल्याएकाहरू अधिकांश पुरानै दलका बागी उम्मेद्वार छन्। ती मतदाता रविको पार्टीमा होमिएलान भन्न अहिले नै गाह्रो छ ।

पुराना दलप्रतिको वितृष्णाको सहारा

सामान्यतया राजनीतिमा कुनै दलले मत तथा जनसमर्थन हासिल गर्न सक्ने दुईवटा आधार हुन्छन् । या त दलले आफैँ कुनै राम्रो काम गरेको हुनुपर्छ । त्यसका नेताले समाज र राष्ट्रका लागि कुनै उल्लेखनीय योगदान गरेको हुनुपर्छ । या  स्थापित पुराना दलको असक्षमता र नालायकीबाट जनता र मतदाता वाक्कदिक्क भएको हुनुपर्छ ।

लामिछानेको नयाँ दलले पहिलो आधारबाट भोट प्राप्त गर्नुपर्ने कुनै कारण छैन । भर्खरै स्थापित नयाँ दल भएको हुँदा उनको दलले देश र जनताका लागि केही गरेको हुने भएन । त्यो दलका नेता पनि कुनै स्थापित सार्वजनिक व्यक्तित्व छैनन । रवि ‘वान म्यान शो’ गर्दै हिँडिरहेका छन्। उनीबाहेक उनको पार्टीका अरु कुनै नेतालाई न कसैले चिन्छ न गम्भीरतापूर्वक लिन्छ । तसर्थ रविको दलको मुख्य आधार भनेको पुराना दलप्रतिको वितृष्णा नै हो । रविको पार्टीसँग कुनै भोट तान्ने आधार ‘पुलिङ फ्याक्टर’ छैन, पुराना दलले धकेल्ने ‘पुसिङ फ्याक्टर’ को भोट उनले पाउने हुन् ।

के यो कुनै नयाँ अभ्यास हो ? 

रवि लामिछानेले अहिले गरिरहेको काम कुनै नयाँ अभ्यास भने हैन । अघिल्लो स्थानीय वा आमनिर्वाचनमा रवीन्द्र मिश्रले गरिसकेकै कामको निरन्तरता हो । त्यसो त अघिल्लो निर्वाचनमा उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली दल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीजस्ता नयाँ दलसमेत थिए । तर, फाइफुईं भने रवीन्द्र मिश्रकै धेरै थियो । २०७४ सालको स्थानीय तथा आम निर्वाचनमा मिश्र नेतृत्वको साझा पार्टीको चर्चा र स्वत:स्फूर्त जनलहर रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको भन्दा कम थिएन ।

मिश्र हप्तैपिच्छे कुनै न कुनै ‘टिभी सो’ मा अन्तर्वार्ता दिइरहेका भेटिन्थे । सामाजिक सञ्जालमा उनको लोकप्रियता पनि राम्रै थियो । पार्टी दर्ता नहुँदै मिश्रको पार्टीबाट काठमाडौंमा किशोर थापा र ललितपुरमा रमेश महर्जनले मेयरमा उम्मेद्वारी दिएका थिए । रमेश १३,४५८ मत सहित तेस्रो र किशोर थापा १८४२६ मतसहित चौथो भएका थिए । यी उम्मेद्वारले पाएको मत निकै राम्रो र उल्लेखनीय मानिएको थियो ।

२०७४ को स्थानीय निर्वाचनमा भिन्नाभिन्नै चुनाव लडेका विवेकशील र साझा पार्टी मिलेर सोही वर्षको आमनिर्वाचन अघि विवेकशील साझा पार्टी बन्यो । पार्टीले समानुपातिकतर्फ २ लाख १२ हजार ३३६ अर्थात् २.२२ प्रतिशत मत प्राप्त गरी छैटौं ठूलो दल बनेको थियो । काठमाण्डौं उपत्यकाभित्रका अधिकांश प्रत्यक्ष तर्फका उम्मेद्वारले राम्रो मतसहित तेस्रो स्थान हासिल गरेका थिए ।

स्वयं मिश्र भने काठमाडौं क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेद्वारलाई समेत उछिन्दै दोस्रो स्थानमा उक्लिएका थिए । नेपाली कांग्रेसका उम्मेद्वार प्रकाशमान सिंहलाई उनले आच्छुआच्छु पारेका थिए । मिश्रको क्रेज, पार्टीको लोकप्रियता पाँच वर्ष नपुग्दै सबै स्वाहा भएको छ। उनी अहिले राप्रपा प्रवेश गरी काठमाडौं १ मा एमालेको समेत समर्थनमा भोट जित्ने प्रयत्नमा लागेको सुनिदै छ । निरन्तर पुराना दललाई गाली गर्दै आएका मिश्र अन्ततः तिनै दलको सहारामा वैतरणी तर्ने ध्याउन्नमा छन् ।

रवि लामिछानेको कुरा गर्दा रवीन्द्र मिश्रले बिगारेको परिदृष्य मान्छेको आँखामा आइहाल्छ । यस्ता प्रतिक्रिया जताततै सुन्न पाइन्छ हतार नगरौं, रवि लामिछाने पनि अर्को रवीन्द्र मिश्र पो हुन् कि ? मिश्र पथमा लाग्ने पो हुन् कि ?

के हो मिश्र पथ ?

सञ्चार माध्यममा जागिर खाँदा कमाएको लोकप्रियतालाई राजनीतिमा भजाउने, पुराना दलप्रतिको वितृष्णालाई उपयोग गर्ने, त्यसबाट कुनै उल्लेखनीय परिणाम नआए ‘मार्ग परिवर्तन’ गर्ने, पार्टीभित्र अन्तहीन वैचारिक किचलो सिर्जना गर्ने, आफूले स्थापना गरेको पार्टीलाई आफैँले गतिरोधमा फसाएर  मृतप्रायः बनाउने, अन्ततः ‘विचारभन्दा माथि देश’ भन्दै कुलेलम ठोक्ने र ‘राजावादी’ बन्ने प्रक्रियालाई मिश्र पथ भनिन्छ । कतिपयको आशंका छ ‘रविले त्यसो गर्दैनन् भन्ने के ग्यारेन्टी छ ?’

अब ‘टिभी स्टार’को परीक्षा

नेपाली राजनीतिमा सञ्चार माध्यमबाट तीन चर्चित नयाँ अनुहार आए । तीमध्ये दुई राजावादी भइसके । रवीन्द्र मिश्र आफैँ ‘रेडियो स्टार’ थिए । उनी बीबीसी नेपाली सेवाको प्रमुख थिए । बीबीसी नेपाली सेवामा राजनीतिक अन्तर्वार्ता पनि लिन्थे ।  राजनीतिमा उनले अरु कुनै माखो मारेका थिएनन्। त्यही रेडियोले दिएको चर्चा र लोकप्रियता नै उनी राजनीतिमा आउने आधार थियो । अन्ततः उनी सगौरव राजावादी सिद्ध भए । साझा पार्टी सुरुवात गर्दाको ‘वैकल्पिक राजनीति’ उनको वास्तविक अन्तर्य हैन रहेछ ।

युट्युबबाट उदाएका अर्का स्टार थिए– ज्ञानेन्द्र शाही । कांग्रेस– कम्युनिस्टको उछितो काढ्न उनले कुनै कसर बाँकी राखेनन् । अन्ततः मिश्रको ‘वैकल्पिक राजनीति’ जस्तै उनको पनि ‘भ्रष्टाचार विरोधी अभियन्ता’ को मुखुन्डो उत्रियो । उनी पनि मिश्रझैं सगौरव राजावादी बन्दै राप्रपा प्रवेश गरे । रेडियो, युट्युबपछि अब टिभी स्टारको परीक्षा हुँदैछ ।

रविमाथिका केही आशंका ?

रविको जिन्दगी विवादरहित देखिन्न । उनलाई नजिकबाट चिन्नेहरूका अनुसार उनी पञ्चायत पृष्ठभूमि भएको परिवारकै सदस्य हुन् । उनका पिता पञ्चायतकालमा उप-प्रधानपञ्च थिए । वर्तमान पारिवारिक पृष्ठभूमिले पनि रविले पूर्वपञ्चप्रति नै सहनुभूति राख्न सक्ने कतिपयको आरोप छ । मंसिर ४ को चुनाव अघिसम्म रवि जसरी अघि बढ्छन् त्यसपछि पनि उनी त्यस्तै रहलान् ? कतै रवि पनि चुनावपछि अघिल्ला दुई स्टार जस्तै त हुने होइनन् ? यस्तो प्रश्न गर्नेहरू पनि उल्लेख्य छन् ।

केही संदिग्ध मुद्दा 

प्राइमरीबाट मुख्यमन्त्रीको उम्मेदवार छनोट गर्ने पूर्व घोषणाबाट रवि र उनको पार्टी पछाडि फर्किसकेको छ । प्रदेशसभातर्फ उम्मेद्वार नै नदिने निर्णयमा पुगेको छ ? यसको अर्थ कतै उनी ‘संघीयता खारेजी’ को सवाल उठाउने मनस्थितिमा पुगेका त हैनन् भन्ने आशंका उत्पन्न भएको छ ।

त्यसो त वाचा गरेअनुसार स्वतन्त्र पार्टीले अहिलेसम्म कुनै प्राइमर गरेको छैन । यदि, रविको पार्टी स्थापनाको घोषणा सही हो भने यतिखेरसम्म संघीय संसद् र प्रधानमन्त्रीको प्राइमर सुरुवात हुनुपर्ने हो । रविको पार्टीले अरुले जस्तै, अझ बढी कमजोरी उजागर हुने गरी केन्द्रीय पदाधिकारी बनाएको छ । त्यहाँ अन्तरपार्टी लोकतन्त्रको अभ्यास कसरी भयो ? त्यसको कुनै उत्तर छैन । उनको पार्टीको केन्द्रीय समिति समावेशिताका दृष्टिकोणले पुराना पार्टीभन्दा पनि कमजोर देखिन्छ।

पपुलिज्मको रोग 

रविले जति धेरै भाषण गर्दै गइरहेका छन्, त्यति नै फिक्का लाग्न थालेका छन् । कतै उनी २४ घण्टाभित्र देशका सबै विकृति समाप्त गर्न सक्ने सामर्थ्य  आफूसँग भएको दाबी गर्दै हुन्छन् त कतै ‘अब हामी आयौँ, कसैले चिन्ता गर्नु पर्दैन, सबै ठिकठाक हुन्छ’ भन्छन् । यस्ता अभिव्यक्तिमा गम्भीरताभन्दा बढी व्यक्तिवाद, पपुलिज्म र नायकत्वको भावना देखिन्छ ।

रविले २४ घण्टामा कसरी के कस्तो फुमन्तर गर्दछन् ? कसैलाई थाहा छैन । उनको अभिव्यक्तिले शासन प्रशासन र आर्थिक नीतिको जटिलताबारे अज्ञानता देखाउँछ ।

रविका राम्रा पक्ष र शंकाको सुविधा 

पत्रकारिता गर्दा रविले केही उल्लेखनीय काम गरेका छन् । विशेषगरी, वैदेशिक रोजगारीमा गएका युवाका समस्या समाधानमा उनको ठूलो योगदान छ । कतिपय त राज्यले गर्न नसकेका काम पनि उनको नेतृत्वमा भएका छन् । विदेशमा विचल्लीमा परेका हजारौं युवाको उद्दारमा उनले नेतृत्व गरेका छन् । कतिपय घटनामा पत्रकारिताको आधारभूत सिद्धान्तबाट चिप्लिए पनि समग्रमा रविले तल्लो तहका नागरिकको समस्यामा केन्द्रित रहेर काम गरे ।

यही कारण हो कि उनका समर्थक दूर दराजका गाउँ-गाउँमा पनि भेटिन्छन् । विदेशमा पनि रविलाई मन पराउनेको ठूलो संख्या छ । राजनीतिमा प्रवेश गर्नुका पछाडि पनि उनको असल मनसाय नै देखिन्छ । पुराना दलले सिर्जना गरेको चरम बेथितिबाट उनी मुलुकलाई माथि उठाउन चाहन्छन् ।

पुराना दलले सिर्जना गरेको वितृष्णा, नयाँ र वैकल्पिक भनिएका दलको विसर्जन, स्वतन्त्र उम्मेद्वारीको लहर र दलीय प्रणालीप्रति नै अविश्वास सिर्जना भएको परिप्रेक्ष्यमा नयाँ दल खोलर रविले एउटा नयाँ आशाको सञ्चार अवस्य गरेका छन् । तर, राजनीति उनले अहिले सोचिरहेको जस्तो सहज पक्कै हुनेछैन ।

रविको पार्टीको अहिलेको सबैभन्दा ठूलो समस्या भनेको सैद्धान्तिक आधार ठोस गर्न नसक्नु हो । उनी मुलुकलाई पूँजीवादी बाटोमा हिँडाउन चाहन्छन् या समाजवादी ? अथवा त्योभन्दा भिन्नै उनको कुनै सिद्धान्त छ ? अहिलेसम्म प्रष्ट हुन सकेको छैन । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी जस्ता विषयमा पनि रवि दुवै हातमा लड्डु होस भन्ने चाहन्छन् । अर्थात् उनी कसैको पनि मन दुखाउने पक्षमा छैनन् ।

तर, एउटा विन्दुमा पुगेपछि यी विषयमा प्रष्ट बन्नैपर्छ । रवीन्द्र मिश्रले पहिले त्यस्तै गर्ने गरेका थिए । अहिले आएर उनले कित्ता क्लियर गरे तर पछाडि फर्किने गरी । ठीक यही विन्दुमा रविमाथि पनि आशंका जन्मिएको हो । तर, आशा गरौं रवि रवीन्द्रजस्तो बन्ने छैनन् ।

उनले हिँड्न खोजेको बाटो र गर्न खोजेको राजनीतिले मुलुकका लागि सकारात्मक परिणाम दिनेछ । अब रविले सैद्धान्तिक धरातल प्रष्ट पारेर आम नागरिकका लागि अग्रगमनतिरको राजनीतिक जग हाल्न आवश्यक छ ।

यस्तो अवस्थामा पुराना दलबाट वाक्क-दिक्क भएका मतदाताले उनलाई विश्वास गर्न सक्नेछन् । तर, त्यसको आधार भने पहिले उनले नै तयार पार्नुपर्नेछ । उनी पपुलिज्मबाट यथार्थवादी राजनीतिमा आउनै पर्छ । कतिपय कमजोरीका बाबजुद अहिले रवि र उनको दललाई शंकाको सुविधा भने दिनैपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved