काठमाडाैँ। नेपालमा पक्राऊ गरेको ११ अफगानी नागरिकलाई सरकारले शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च निकाय (युएनएचसीआर) लाई जिम्मा लगाउने भएको छ। अफगानीलाई युएनएचसीआरलाई जिम्मा लगाउने निर्णय भएको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए।
भैरहवा नाका हुँदै काठमाडौँ आएका ११ अफगानी नागरिकलाई नेपाल प्रहरीको अनुसन्धान ब्युरोले ८ कात्तिकमा पक्राऊ गरेको थियो। पक्राऊ परेको केही दिनमा ५ अफगानी नागरिकलाई श्रीलंकाको कोलम्बो हुँदै मेक्सिको पठाइएको थियो। मेक्सिकोको अध्यागमन विभागले प्रवेश नदिँदा ती पाँच अफगानी फेरी नेपाल फर्किएका थिए। युएनएचसिआरको दबाबबीच नेपाल सरकारले अफगानी नागरिकलाई मेक्सिको पठाएको थियो। शरणार्थी सम्बन्धी उच्च निकायले अफगानी नागरिकलाई आफ्नो जिम्मामा दिन यसअघि नै नेपाल सरकालाई दबाबपूर्ण आग्रह गरेको थियो।
विभिन्न ११ देशका करिब २० हजार शरणार्थी नेपालमा रहेका छन्। तिब्बती र भुटानी शरणार्थीलाई मानवीयताका आधारमा नेपालले शरणार्थीको मान्यता दिएको हो। नेपाल शरणार्थी सम्बन्धी सन्धिको पक्ष राष्ट्र नभएको र शरणार्थी सम्बन्धी नेपालको आन्तरिक कानून नभएका कारण अन्य आप्रवार्सीलाई नेपालले शरणार्थीको मान्यता नदिएको हो।
शरणार्थी सम्बन्धी उच्चायुक्तको कार्यालयले आर्थिक अभाव रहेको भन्दै नेपालमा रहेका तिब्बती र भुटानी शरणार्थी बाहेक लागि राम्रो व्यवस्थापन गर्न सकेको छैन। उच्चायुक्त आफै आर्थिक समस्याका कारण शरणार्थीलाई राम्रो हेरचाह गर्न नसकेको स्वीकार गर्दै गर्दा नयाँ शरणार्थीलाई पुन युएनएचसीआरले आफ्नो जिम्मामा लिन लागेको हो।
Facebook Comment
Comment