पीडितको आँसुमा डलर देख्ने युट्युबरको कठघरामा आमा गुमाएकी ७ वर्षे बालिका

युट्युबरविरुद्ध बाल अधिकार परिषद्ले बढायो कानुनी प्रक्रिया

आमाको न्यानो काख गुमाएकी ती बालिका रुँदारुँदै थाकेकी देखिन्छन्। युट्युबरले मानवीय संवेदना समेत ख्याल नगरी प्रश्न सोध्छन् ‘ममी कहाँ गयो ?’ जवाफ दिने साहस बालिकामा हुँदैन। युट्युबर भने बालिकाको पीडामा हरियाे डलर देख्छन्। उही प्रश्न दोहोर्‍याउँछन्। ‘ममी कहाँ गयो ? मावला गएको हो ?’ उनको पीडालाई युट्युबरले कोट्याइरहन्छन्। आफूमाथिको मानसिक हिंसाले चरमचुली नाघेपछि बालिका रुँदै भाग्छिन्।

पीडितको आँसुमा डलर देख्ने युट्युबरको कठघरामा आमा गुमाएकी ७ वर्षे बालिका

काठमाडौं। ‘धरानमा भर्खरै उषा राईलाई कुटेर मारेको भन्दै रुँदै, २ बच्चाको बिजोग, माया त माया हो’ टाइटलको भिडिओ युट्युबमा धेरैले हेरेका छन्। भिडिओको केही अंश टिकटक र फेसबुकमा पनि भाइरल छ। बुधबार युट्युबमा पोस्ट भिडिओ सवा ११ लाखभन्दा बढीपटक हेरिएको छ।

‘तीनजुरे अनलाइन टीभी’ नाम राखिएको सो भिडिओमा करिब ५ सय बढीले कमेन्ट गरेका छन्। टाइटलबाटै अनुमान लगाउन गाह्रो छैन, भिडिओको विषयवस्तु।

सुनसरीको धरानमा एक साताअघि महिलाको समूहबाट निर्घात पिटिएकी ४२ वर्षीया उषा राईको उपचारका क्रममा मृत्यु भएको थियो। शवको पोस्टमार्टम रिर्पोट आइसकेको छैन। तर, घटनाको बारेमा उनीहरूकै शैलीमा भन्नुपर्दा ‘फैसला सुनाउन’ पुगेका एक युट्युबरले आफ्नो कठघरामा ७ वर्षीया बालिकादेखि ७० वर्षे ज्येष्ठ नागरिकसम्मलाई उभ्याउँछन्। आफूलाई पत्रकार भन्दै मृतकका परिवार तथा आफन्तमाथि मानसिक हिंसा गर्ने युट्युबर हुन् देवेन्द्र लिम्बू।

युट्युबरको अत्याचार : मानसिक समस्या भएकी युवतीलाई समेत छाडेनन्

भिडिओमा मृतक उषाकी आमा विक्षिप्त देखिन्छन्। रुदारुँदै गला अवरुद्ध भएर बोल्नै नसक्ने देखिन्छिन् उनी। ‘तपाईंको छोरीलाई कुटेर मारेको छ भन्ने खबर आयो नि ? के हो कुरा ?’ युट्युबर प्रश्न गर्छन्। शोकमा डुबेकी बुढी आमा केही जवाफ दिन सक्दिनन्।

आफूले जन्माएको सन्तान आफ्नै अगाडि बित्दा आमाको मन कस्तो होला ? छोरीको लासको सद्गगद गरे पनि बुढी आमाको पीडा र शोक सकिएकै थिएन। तर, युट्युबरले त्यहाँ रमिता देखे। त्यसैले युट्युबर त्यतिमै रोकिँदैनन्। फेरि भनिहाले ‘अनि बच्चाहरूको पनि बिजोग भएछ ? के भन्नुहुन्छ’।

मरेर जाने त गइहाल्छन्, बाँच्नेलाई पनि जिउँदै मारेर जान्छन्। हेर्दा ६०\७० वर्ष उमेरकी देखिने ती बुढी आमाले बुढेसकालकी सहारा गुमाएकी थिइन्। जवान छोरीको मृत्युपछि उनको घरको छाना, नातिनीको नाना र परिवारको दाना पनि बन्द हुने निश्चित थियो। तर, सामान्य मानवीय संवेदना नराखी युट्युबर त्यही कुरा सम्झाइदिन खोज्छन्।

मरणपरणको बेलामा शोकाकुल परिवारलाई सम्झाउन अरू मानिसहरू आउँछन्। पीडा भुलाइदिनको लागि नकारात्मकभन्दा सकारात्मक कुरा गरेर ढाडस दिन्छन्। तर, त्यो भिडिओ अन्तरवार्ता हेर्दा लाग्छ ती युट्युबर महिलाको मृत्युमा यति खुसी छन् कि मानौं जीवनको ठूलो सफलता हासिल गरे।

मान्छेका दु:ख – युट्युब र टिकटक हेर्ने, पत्रकारलाई गाली गर्ने

ती बुढी आमाको रोदन र क्रन्दनको पीडा युुट्युबरको लागि महाउत्सव बनिरहेको छ। किनकि, बुढीआमालाई जतिसक्दो धेरै मर्माहत बनाउनु छ, रुवाउनु छ, युट्युबमा भ्युअर्स बटुल्नु छ अनि झार्नु छ डलर । उनीहरू छोरी बित्दाका आफूले भोगेका पीडाका भलिभाँती सुनाउन बुढी आमासँग जबर्जस्ती गरिरहन्छन्।

त्यसअघि युट्युबरले एक महिलालाई पनि यस्तै प्रश्न सोधेर हुर्मत लिइसकेका हुन्छन्। उषा राई (मृतक) बितेपछि उनकी सानी ७ वर्षीया छोरीले आउँदा दिनमा झेल्नुपर्ने दुःखका चाङ युट्युबरले बयान गर्छन्। शोकको आगोमा जलिरहेका परिवारलाई थप मर्माहत बनाउँछन्।

त्यो वार्तालापबाट महिलाको साथमा भएकी ७ वर्षीया बालिका (मृतकको छोरी)ले पनि मन थाम्न सक्दिनन्। अन्तरवार्ता दिँदै गरेकी ती महिलाले बालिकालाई अँगालो हारेर भक्कानिन्छन्। झन् आमाको काख गुमाएकी बालिका नरुने कुरै भएन। हेर्दा नै सबैलाई हृदयविदारक लाग्ने त्यो दृश्यमा सायद युट्युबरले भने हरियो डलर देखे। मृतककी आम, छोरी र आफन्तलाई विभिन्न प्रश्न सोधेर रुवाउनुसम्म रुवाए।

बालबालिकाको फोटो खिच्दा वा भिडिओ खिच्दा अभिभावकको अनुमति लिनैपर्छ। कानुनले भनेको छ। तर, ती युट्युबरले किन कानुन मान्थे र ? मृतककी छोरी टेरिसा पर थिइन्। युट्युबरले ती बालिकालाई बोलाउन लगाए। क्यामेरा बालिकातिर फर्काएर माइक सोझाइहाले। ‘उहाँको बिजोग भयो। ममी छैन, बुबा छैन’ भनेर भूमिका बाध्दै सोध्छन् ‘बैनीको नाम के हो?’ ती बालिकाले जवाफ फर्काउँछिन् ‘टेरिसा राई।

आमाको न्यानो काख गुमाएकी ती बालिका रुँदारुँदै थाकेकी देखिन्छन्। युट्युबरले सामान्य मानवीय संवेदनासमेत ख्याल नगरी प्रश्न सोध्छन् ‘ममी कहाँ गयो ?’

बालबालिकाको लागि जन्मदाता मात्रै होइन सर्वस्व गुमाएकी थिइन्। भर्खरै अचेत अवस्थाबाट उठेकी उनलाई युट्युबरले फेरि उही भुङ्ग्रोमा हाल्न खोज्दै प्रश्न तेर्स्याए। युट्युबरको प्रश्नको जवाफ दिने साहस बालिकामा हुँदैन। ती युट्युबर बालिकाको त्यो पीडामा थप डलर देख्छन्। अनि उही प्रश्न दोहोर्‍याउँछन्। ‘ममी कहाँ गयो?’ मावल गएको हो ? किन थाहा छैन?’

जबरजस्ती गरेपछि बालिका मर्माहत हुँदै बोल्न खोज्छिन्। आवाज आउँदैन। उनी टाउको हल्लाउँछिन्। प्रश्नकर्ताको भनाइ अस्वीकार गर्दै ‘मावल गएको होइन’ भन्ने कुरा टाउको हल्लाएर इसारा गर्छिन्।

उनको पीडालाई युट्युबरले कोट्याइरहन्छन्। आफूमाथिको मानसिक हिंसाले चरमचुली नाघेपछि बालिका रुन्छिन्। ‘ममीलाई के भयो थाहा छ ? कि थाहा छैन’ आलो घाउमा नुन छर्किँदै युट्युबर प्रश्नमाथि प्रश्न तेर्स्याउँछन्। प्रश्नकर्ताले पीडालाई थप उजागर गरेपछि बालिका रुँदै भाग्छिन्। युट्युबको प्रश्नले बालिकाको भक्कानो छुटेको बुझ्न गाह्रो हुँदैन। बालिकाको मात्र के कुरा त्यहाँ रहेका सबै जना घ्वाँघ्वाँ रोएको सुनिन्छ।

पल शाह प्रकरणमा युट्युबरले फैलाए भ्रम

शोकाकुल परिवारलाई सम्झाईबुझाई गरेर सान्त्वना दिन छिमेकी आएका हुन्छन्। आठ-दशजनाको सो समूहमा युट्युबरको क्यामेरा घुमिरहन्छ। सबैका आँखा भरिला देखिन्छन्। सबैका अनुहार उस्तै मलिन, उस्तै निन्याउरो। युट्यबरले उही र उस्तै प्रश्न दोहोराउँदै हदैसम्मको पीडा कोट्याउँछन्।

कुनै पनि अवस्थामा त्यस्ता घटनाका पात्रसँग त्यसरी प्रस्तुत हुन कुनै पनि ‘इथिक्स’ ले दिँदैन। युट्युबलाई त्यसरी प्रस्तुत हुनुपर्ने कुनै बाध्यात्मक अवस्था पनि थिएन। तर उनले पीडितको आँशु बेचेर पैसा कमाउन गर्न नहुने हर्कत गरेका छन्।
त्यो भिडिओ हेर्दा सायद आँशुले आँखा टिलपिल नहुने कोही नहोला।

जति उनीहरू भावुक बन्छन्, सायद त्यति नै आक्रोशित हुन्छन् युट्युबरप्रति। कतिपयले भिडिओ मुनि कमेन्टमा गाली गरेका पनि छन् ‘बच्चालाई कस्तो प्रश्न सोधेको यार बोल्न पनि सोचेर बोल्नु नि।’

‘तीनजुरे अनलाइन टीभी’ नामको सो च्यानललाई ५ लाख २१ हजारले सब्सक्राइब गरेका छन्। सूचना विभागमा (३१९४\ २०६८\२९) र प्रेस काउन्सिलमा (२०७८\ ७९) च नं ४६९) दर्ता भनेर समेत युट्युबमा उल्लेख गरिएको छ। अर्थात् अरू युट्युबरले जस्तै यो च्यानलले पनि आफूलाई दर्शकसामु ‘मिडिया’ का रूपमा पेश गरेको देखिन्छ।

तर, मिडिया भनेको के हो ? के उनीहरू मिडियाको कानुनी र नैतिक बन्धनभित्र छन् ? वा उनीहरूलाई दर्ता गराउने निकाय सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिलले कुनै नियमन गरेको देखिँदैन। तर, पनि आमजनताका लागि अहिले युट्युबर नै ठूला मिडिया र पत्रकार बनेका छन् ।

कानुन र नैतिक बन्धनभित्र रहेर पनि धेरै युट्युबरहरू नचलेका होइनन्। राम्रा र जिम्मेवार ढङ्गले चलिरहेका युट्युब च्यानल थोरै मात्र छन्। युट्युबमा सरलखालका कन्टेन्टहरू धेरै भ्युअर्स देखिँदैन। धेरै भ्युअर्स बढाउन अरूको आँशु बेच्ने बिकाउ कन्टेन्टको पछि लाग्नेहरू धेरै छन्। यस्तो प्रवृत्तिले जिम्मेवार ढङ्गले काम गरिरहेका युट्युबरलाई समेत एकै नजरमा हालेर विश्लेषण हुँदा अप्ठेरो पर्ने गरेको छ ।

राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले यो घटनाबारेमा आफू कानुनी प्रक्रिया अघि बढाउने तर्खरमा रहेको बताए।

उनले नेपाल भ्युजसँग भने, ‘‘ अन्तरवार्ताकारले कुनै नियमको पालना गरेका छैनन्। त्यो बालिकामाथिको मानसिक हिंसा हो। आमा गुमाएको अवस्थामा त्यसरी सोधिएको प्रश्नबाट भएको हिंसाको प्रभाव पछिसम्म पर्छ। घटनाबारेमा अनुसन्धान अघि बढाएका छौँ। कानुनी प्रक्रिया अघि बढ्छ।’’

 

सन्दीप प्रकरणमा युट्युब रिभ्यू, बलात्कारलाई मजाकको विषय बनाउँदै कलाकार र नेता, पीडितलाई उल्टै आरोप लगाउने क्रम घटेन

पीडितको भिडिओ खिच्न लाग्दा मेनपावर सञ्चालकले कुटे युट्युबर (भिडिओसहित)

म्यानपावर कम्पनी तोडफोड गरेको भन्दै युट्युबरविरुद्ध उजुरी

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved