सन्दीप प्रकरणमा युट्युब रिभ्यू

बलात्कारलाई मजाकको विषय बनाउँदै कलाकार र नेता, पीडितलाई उल्टै आरोप लगाउने क्रम घटेन

बलात्कार जस्तो जघन्य अपराधमाथि नेतादेखि कलाकारहरूसम्मका अभिव्यक्ति हेर्दा चेतनाको खाँचो देखिन्छ। कलाकारको गीत-संगीत र पर्दामा मात्रै भूमिका हुँदैन। तिनको भूमिका समाज र समुदायप्रति पनि हुन्छ। चर्चा बटुल्न दिइने सस्ता अभिव्यक्तिले कानुनको मात्रै अवहेलना भएको छैन उनीहरुको चेतनाको दरिद्रस्तर पनि देखाइदिएको छ ।

बलात्कारलाई मजाकको विषय बनाउँदै कलाकार र नेता, पीडितलाई उल्टै आरोप लगाउने क्रम घटेन

काठमाडौं। करियरको उत्कर्षमा पुगेका नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगेपछि सामाजिक सञ्जालदेखि मिडियामा यही विषयको चर्चा चुलिएको छ। बढी बिक्ने मसलाको हरदम खोजीमा हुने युट्युबरलाई त दशैं तीन साताअघि नै आइदियो। उजुरी पर्नु अर्थात् आरोप लाग्नु नै कोही पनि अपराधी ठहरिनु होइन। कानुनी भाषामा कोही पनि आधिकारिक निकायबाट दोषी ठहर नभएसम्म अभियुक्त मात्रै हो।

प्रचलित कानुनअनुसार ‘मन नै मिले पनि नाबालिगसँगको यौन सम्बन्धलाई बलात्कार मानिन्छ र प्रमाणित भए सजाय दिन्छ’ भन्ने विषयसँग समाज जानकार नै छ। तर, अहिले मिडिया तथा सोसल मिडियामा छाएका अधिकांश टिप्पणी सुन्दा लाग्छ ‘उजुरीकर्ताले जघन्य अपराध गरेकी छिन्।’

केहीले सन्दीपलाई बलात्कारी करार गर्न जोडबल लगाइरहेका छन्। अर्कोतर्फ ठूलै तप्का पीडित किशोरीले नै अपराध गरेको जसरी अभिव्यक्ति सार्वजनिक गरिरहेका छन्। आरोप प्रमाणित हुनुअगावै युट्युबहरू बाटोमा हिँड्ने जो देखे पनि न्यायाधीश झैँ ठानेर यो प्रकरणमा फैसला सुनाउन आग्रह गरिरहेका भेटिन्छन्। उनीहरू पनि ‘देशमा कानुन छ, अदालत छ, अनुसन्धान गर्ने र प्रमाण खोज्ने प्रशासन छ, दोषी ठहर भए सन्दीपले कानुनी सजाय पाउँछन्। निर्दोष भएमा छुट्छन्’ भन्ने हेक्कै नराखी जथाभावी मनपरी बोलिरहेका छन्।

पीडित भन्दै उजुरी गर्न पुगेकी किशोरीमाथि युट्युबरहरू खनिने क्रम रोकिएको छैन। जुन प्रवृत्तिलाई आफूलाई मूलधारको पत्रकारिता गरिरहेको भन्दै दाबी गर्ने कतिपय टेलिभिजनले समेत पछ्याएका छन्।

अर्थात् उनीहरूले घटनाको संवेदनशीलता नबुझी ‘जे बिक्छ त्यही शैलीको र त्यस्तै मानिसको खोजी’ गरिरहेका छन्। क्षणिक रमाइलोका लागी जे पनि बोलिएका सामग्री छ्यासछ्यास्ती प्रशारण भेटिन्छन्। यसले बलात्कार जस्तो जघन्य अपराधमा हाम्रा मिडियाहरू कति संवेदनशील र जिम्मेवार रहेछन् भन्ने छरपस्ट पारेको छ।

कलाकारको चेतमाथि बहस सिर्जना गर्ने अभिव्यक्ति

डीएमजी नेपाल नामको युट्युब च्यानलमा अभिनेत्री जाहन्बी बस्नेतले पल शाह प्रकरणपछि धेरै किशोरीहरूले आफू बलात्कृत भएको भन्दै मिथ्या आरोप लगाउने क्रम बढेको बताएकी छिन्। १५ सेप्टेम्बरमा अपलोड गरिएको ‘सन्दीपलाई मात्र होइन नाबालिकालाई पनि कारबाही हुनु पर्छ’ भन्ने क्याप्सनमा राखिएको अन्तरवार्तामा उनले सन्दीप लामिछानेलाई कारबाही भएमा आरोप लगाउने किशोरीलाई पनि कारबाही गर्नुपर्ने आशय व्यक्त गरेकी छिन्।

उनी भन्छिन्, ‘‘जब पल शाहको केस भयो। जति पनि १७/ १८ मुनिका केटीहरूको अफेयर भयो। सेक्स गर्‍यो। सबैजना उफ्रिरहेका छन् की मलाई बलात्कार गर्‍यो भनेर। १७, १८ वर्षको उमेरमा सेलिब्रेटीसँग डेट गर्ने। अनि कुरा नमिलेपछि पैसा र प्रेमको लागि मेरो रेप भयो भन्दै हिँड्न मिल्छ?’’

सत्य आवाज नामको युट्युब च्यानलमा अर्का नाम चलेका कलाकार किशोर खतिवडाले ‘१७ वर्षकी किशोरीसँग शारीरिक सम्पर्क राख्दैमा जघन्य अपराध नहुने’ तर्क पेश गरेका छन्।

उनी भन्छन्, ‘‘१० वर्ष नपुगेको बच्चीलाई लुगा च्यातच्युत गरेर मात्र बलात्कार हुन्छ।’’

सोही च्यानलमा २२ सेप्टेम्बरमा अपलोड गरिएको एक भिडिओमा कलाकार जयकिशन बस्नेतले ‘मानसिकता बिग्रेका मानिसले संविधानमा लेखिदिएका कारण सन्दीप लामिछाने फसेको’ भन्दै टिप्पणी गरेका छन्। उनले भनेका छन् ‘‘सन्दीप बलात्कारी हुँदै होइन। ऊ कोहिनुर हिरा हो। यदि शारीरिक सम्पर्क भएको भए पनि बलात्कार होइन।’’ कानुनमै त्रुटि भएको समेत उनको दाबी छ ।

उनीहरू मात्र होइन धेरै कलाकारहरूलाई अहिले युट्युबमा अन्तरवार्ता दिन भ्याइनभ्याइ छ। प्राय:जसो सबैको विचार यस्तै छ। कतिपयले फेसबुकमा स्ट्याटस लेख्दै यस्तै धारणा राखेका छन्। यसबाट समाजले राम्रो कलाकार भनेर चिनेको उनको चेतना कति रहेछ भने भेउ पाउन गाह्रो हुँदैन। यी भनाइबाट थाहा हुन्छ उनीहरूलाई कानुनको कत्ति पनि ज्ञान छैन। यसले कलाकारको चेतनाको स्तरमाथि बहस सिर्जना गरेको छ।

‘‘कला क्षेत्रमा लागेकाहरूको काम समाजलाई सचेत गराउने हो। तर, बलात्कारजस्तो जघन्य अपराधमाथि बोल्ने कलाकारको स्तर हेर्दा चेतनाको खाँचो देखिन्छ,’’ कतिपयले उनीहरूले अन्तरवार्ता हेरेपछि प्रतिक्रिया दिएका छन्।

कलाकारको गीत-संगीत र पर्दामा मात्रै भूमिका हुँदैन। तिनको भूमिका समाज र समुदायप्रति पनि हुन्छ। चर्चा बटुल्न दिइने सस्ता अभिव्यक्तिले कानुनको मात्रै अवहेलना भएको छैन उनीहरुको चेतनाको दरिद्रस्तर पनि देखाइदिएको छ ।

बेकामे युट्युबर- बाटोमा जो भेटियो उसकै अन्तरवार्ता

यस प्रकरणमा युट्युबरले धारणा र फैसला माग्न कोही छुटाएका छैनन्। डीएमजी नेपाल नामको युट्युब च्यानलमा एक होष्टल सञ्चालिकासँगको अन्तरवार्ता अपलोड गरिएको छ। कतिपय युट्युबरले त बाटोमा जो भेटियो उसैलाई समेत सन्दीपको पक्षमा फैसला मागिरहेका छन्।

सन्दीपविरुद्ध उजुरी परेको १९ दिनपछि २१ सेप्टेम्बरमा अपलोड गरिएको भिडिओमा ‘यदि किशोरी बलात्कृत नै भए पनि सन्दीपको दोष नभई होस्टलको दोष हुने’ बताएकी छिन्। ‘आफ्नो हाताबाट निस्कन दिनु होस्टलको गल्ती भएको भन्दै’ उनले प्लस टु पढ्ने किशोरीलाई नाबालिका भन्न नमिल्ने बताएकी छिन्।

‘इन्द्रेणी अनलाइन’ नामक युट्युब च्यानलमा रहेको एक भिडिओमा ‘होटलमा जाने र सुत्ने केटी नाबालिका हुन नसक्ने भन्दै’ आफूलाई अभियन्ता भन्दै शर्मिला वाइबालगायतले दिएको अन्तरवार्ता राखिएको छ। ‘डीजीएम नेपाल’ नामको यूटयुब च्यानलमा एक युवाले ‘सन्दीपले युवतीलाई जबरजस्ती घिच्च्याएर बोकेर नलगेको र हाँस्दै सहमतिमा होटल छिरेकाले बलात्कार भएको भन्न नहुने’ तर्क राखेका छन्।

 

नेता र कानुन व्यवसायीसमेत उस्तै, युट्युबरको त कुरै छाडौँ

एभरेस्ट नेपाल नामको युट्युब च्यानलमा वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले पनि ‘नाबालिकाको उमेर २ वर्ष बढाएकै कारण सन्दीप फसेको आशय व्यक्त गरेका छन्।

७ सेप्टेम्बरमा युट्युब च्यानलमा ‘वरिष्ठ वकिल नै भन्छन् – सन्दीप लामिछानेमाथि ठूलो षडयन्त्र अब हेर्दै जानु के–के हुन्छ?’ शीर्षकमा अपलोड भएको अन्तर्वार्तामा नेउपाने भन्छन् ‘‘सन्दीप लामिछानेको प्रतिस्पर्धी कोही होला। उसलाई अफ्ठेरो पार्न बलात्कार मुद्दा लगाइदिएको हुनसक्छ। जस्तो पल शाह प्रकरणमा पनि यस्तै भयो।’’

यत्ति मात्र नभई ‘माया र युद्धमा सबै कुरा जायज हुने र कुरा नमिलेपछि अदालतमा मुद्दा पुग्ने गरेको’ अन्तरवार्तामा चर्चा गरिएको छ। प्रश्न सोध्नेले पनि नगरकोट डेटिङ र काठमाडौंमा सँगै रात बिताएपछि कसरी बलात्कार हुन्छ ? भन्दै सन्दीप निर्दोष देखाइनैपर्ने आशयको उत्तरको अपेक्षा गर्छन्।

टेलिभिजन कार्यक्रम पनि घटिया बन्दै

प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा ऋषि धमलासँग नेकपा एमालेका नेता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाइले अत्यन्तै छुद्र अभिव्यक्ति दिएका छन्। त्यहाँ प्रसाईंले अदालतलेभन्दा पहिले पल शाह र सन्दीप लामिछानेलाई निर्दोष ठहर गरिदिएका छन्। उनी भन्छन् ‘‘१७ वर्षकी केटी नाबालिका हुँदैनन्। उहिले हाम्री आमाहरूले १५ वर्षमा नानी जन्माएको। एउटा केटी पिरियड भएपछि उ बालिग हो क्या। यहाँ जे पनि कानुन बनाइदिएको छ। पल शाह र सन्दीप लामिछाने बलात्कारी होइन। बागर्नेनिङमा कुरा मिलेन।’’

अनेक फन्डा गरेर चर्चामा आउन सिपालु अन्तरवार्ताकार धमलाले प्रसाईंलाई यस्ता अभिव्यक्तिको लागि झनै उक्साएका छन्, ‘‘होइन। उसो भए दुर्गा प्रसाईंको घोषणा ?’’ उनले भनेका छन्। धमला र प्रसाईंबीच ‘अहिलेका केटाकेटीहरू ७ क्लासमा पढ्दा देखि लभ गर्ने, चिठ्ठी पठाउने, डेटिङ जाने प्रचलन भएकाले उनीहरूले यौन सम्बन्ध राखेमा बलात्कार नहुने’ भन्दै भएको कुराकानी सुन्न सकिन्छ।

उनै प्रसाईंले प्राइम टाइम्स टेलिभिजनको अर्को कार्यक्रममा उस्तै धारणा राखेका छन्। ‘आम्मा कसम यहाँ दुख्छ’ नामको कमेडी कार्यक्रममा बलात्कार जस्तो जघन्य अपराधको विषयलाई त हाँसो मजाकको रूपमा प्रस्तुत गरिएको छ। प्रसाईंले पीडित युवतीको गल्ती नै देखाउँदै भनेका छन् ‘‘दिनभर घुम्न हुने, फेसबुकमा लेख्न हुने, सुत्न पनि हुने अनि सबै कुरा गरेर एक महिना बितेपछि बलात्कार भएँ भन्दै आएर हुन्छ ? माया लाउन उमेरले छेक्दैन। पल शाहलाई हेर्नुस् त १० लाखको लागि त्यो बैनीले अपराध गर्नुहुन्छ ?’’ यस्तै उनले सन्दीप लामिछानेलाई ‘पूरै नेपाल लागेर जोगाउनुपर्ने’ बताएका छन्।

केही पहिला एक टेलिभिजनमा प्रसारित एक कार्यक्रमको भिडिओ क्लिप भाइरल भएको थियो। जहाँ बलात्कार जस्तो जघन्य अपराधको विषयलाई अट्टहास हाँसोका साथ मजाक बनाइएको छ। एक जना निर्देशकले ‘‘दाइ म भिलेनमै खेल्छु भन्यो। किन भिलेनमै खेल्ने भनेर सोधे। उसले भन्यो भिलेनको त रेप सिन हुन्छ नि भन्यो हा हा हा।’’ फेरि अर्का एकजनाले थपे ‘हल्का रमाइलो हाहा ।’ चारै जना एक छिन मुर्छा परेर हाँसे।

सोही क्लिपलाई आफ्नो फेसबुकमा पोस्ट गर्दै यौनहिंसाविरुद्धको अभियानमा सक्रिय पत्रकार निशा वलीले टिप्पणी गरेकी छिन्, ‘‘बलात्कार जस्तो जघन्य अपराधको विषयलाई अट्टहासका साथ मजाक बनाउने कलाकारहरूलाई नै हामीले राष्ट्रको गहना मानिदिनुपर्ने ?’’

प्रस्तोताका विषय गम्भीर, नेताका विचार हलुका

ग्यालेक्सी टेलिभिजनमा प्रसारण हुने कार्यक्रम लालमोहरमा पनि सन्दीप प्रकरणका विषय उठान गरिएको छ। जसका सञ्चालक हुन् रमेश प्रसाईं। १४ सेप्टेम्बरमा युट्युबमा राखिएको सो कार्यक्रममा एमाले नेतृ निवर्तमान सांसद गङ्गा चौधरी, अधिवक्ता राधिका खतिवडा र पूर्व एआइजीपी राजेन्द्रबहादुर सिंह अतिथि छन्।

एमाले नेतृ चौधरी भन्छिन् ‘‘सन्दीप प्रकरणमा सँगसँगै होटल जाने, घुम्न जाने युवती कसरी बलात्कृत भइन् ? बलात्कृत युवतीले १५ -२० दिनपछि दिनपछि उजुरी गर्छ र ? त्यो गलत हो। यदि बेहोसमा बलात्कृत भए पनि होस आएपछि उजुरी गर्न जाँदैन ?’’

‘मन मिलेसम्म लभको संज्ञा दिने, मन नमिलेपछि अभिष्ट पुरा गर्न बलात्कारको संज्ञा दिने काम बढेको उनको दाबी छ । सोही कार्यक्रममा अधिवक्ता खतिवडा र सिंहले नाबालिगलाई बालिगले संरक्षण गर्नुपर्ने कानुनमा भएको बताएका छन्।

उनीहरूले नाबालिकाको हकमा शारीरिक सम्पर्कको क्रममा लिइएको मन्जुरी नमानिने भन्दै बलात्कार हुने कानुनको प्रावधानको व्याख्या गरेका छन्।

सस्तो लोकप्रियताको पछि दौडँदा बनाइयो बलात्कारलाई मजाक

समाजले आइकन मानेका कलाकार, राजनीतिक दलका नेताले बलात्कारजस्तो संवेदनशील विषयमा दिएका अभिव्यक्तिले उनीहरूको चेतनामा बारम्बार प्रश्न उठाइरहेको छ। यस्ता विषयमा समाजमा आफैंले खेल्नुपर्ने भूमिका भुलेर क्षणिक रमाइलोको लागि सस्तो लोकप्रियताको पछि दौडिरहेका देखिन्छन्।

यस्ता अभिव्यक्ति नजिकबाट नियालिरहेका समाजशास्त्री मधुसूदन सुवेदी भन्छन् ‘‘कलाकारितामार्फत कलाकारले सिङ्गो समाजलाई मार्गदर्शक गरिरहेको हुन्छ। तिनै कलाकार समाजप्रति जिम्मेवार नभएजसरी गम्भीर विषयमाथि पनि हलुका अभिव्यक्ति दिन्छन्, जसकारण कला क्षेत्र नै बदनाम हुन पुग्छ।

सामाजका अरू मानिसहरू अपराधकाविरुद्ध एक भई आन्दोलनमा उत्रिएका छन्। तर, केही कलाकार र नेताहरू संवेदनशील विषयमाथि हलुका र रमाइलो अभिव्यक्ति दिइरहेका छन्। यो राम्रो होइन।’’

कतिपय देखिन्छन् संवेदनशील पनि

बलात्कारजस्तो जघन्य अपराधलाई लिएर (केही अपवादलाई छोडेर) युटयुबरहरू गम्भीर छैनन् भन्दा फरक पर्दैन। तर, सबै युटयुबर र टेलिभिजन प्रस्तोताले पीडितलाई मात्रै तारो बनाउन खोजेका छैनन्। विषयवस्तुको गाम्भिर्यतालाई ध्यान दिँदै संवेदनशील पनि बनेका देखिएको छ।

‘योहो’ टेलिभिजनमा ९ सेप्टेम्बरमा युट्युबमा राखिएको ‘पल शाहका वकिलको खुलासा–यसरी बच्न सक्छन् सन्दीप, यसरी अगाडि बढ्दै छ मुद्दा’ शीर्षको अन्तरवार्तामा वरिष्ठ अधिवक्ता लभ मैनालीले पछिल्लो समयमा बलात्कारको घटनामा राज्य संवेदनशील देखाएकाले पीडितहरू खुल्न थालेको बताएका छन्।

उनले भनेका छन्। ‘‘पहिला पहिला ठुला पदमा बस्नेहरू, पहुँच हुनेले शक्तिरको दुरुपयोग गरेर आफूलाई निर्दोष साबित गर्थे। पीडितलाई मार्ने धम्की दिएर वा पैसा दिएर मुद्दा फिर्ता गराउँथे। त्यो अवस्थामा पीडितहरूले आफ्नै बेइजत हुने डरले खुल्न सकेका थिएनन्। अहिले त्यो अवस्था नभएकाले पीडित खुल्न थालेका छन्।

७ सेप्टेम्बरमा प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा ऋषि धमलाले २ जना अधिवक्तासँग र सन्दीप प्रकरणमा कुरा गरेका छन्। ‘पल शाहपछि सन्दीप लामिछाने यसरी परे बलात्कारको फन्दामा, कस्तो होला कारबाही? यस्तो छ तयारी,’ कुराकानी र क्याप्सन मिलेको छैन।

तर, अन्तरवार्ता दिनेहरूले जायज तर्क पेश गरेका छन्। एकराज भण्डारी र सुरेन्द्र भण्डारीले घटना अनुसन्धानकै क्रममा रहेको र दोषी देखिए सन्दीपले कारबाही भोग्नुपर्ने बताएका छन्। ९ सेप्टेम्बरमा उनै धमलासँग क्यानका दुर्गाराज पाठक र अमिर अख्तरले अनुसन्धानमा सन्दीपले सहयोग गर्नुपर्ने बताएका छन्।

८ सेप्टेम्बरमा हिमालय टेलिभिजनयोहो टेलिभिजनको युट्युबमा अपलोड भएको अन्तरवार्तामा क्यानका महासचिवले ‘यदि, सन्दीप दोषी ठहर नभए पनि नैतिकताका आधारमा क्यानले कारबाही गर्ने’ बताएका छन्।

उनले भनेका छन्, ‘‘अनुसन्धानपछि यदि उ निर्दोष ठहरियो भने पनि अन्तर्राष्ट्रिय छवि बनाएको कलाकार, क्याप्टेनको अनुशासन नभएको देखिन्छ। यस्ता गतिविधि आशोभनीय र अनैतिक देखिने भन्दै कारबाही गर्नेछौँ।’’

एपीवान टेलिभिजनको कार्यक्रम ‘एपी सेन्टरमा’ प्रस्तोता समा थापासँग अधिवक्ता राधिका खतिवडा र मनोविद् डा नन्दिता शर्माले अन्तरवार्ता दिएका छन्। जहाँ उनीहरूले ‘शिक्षा र चेतनाका कारण पीडितहरू खुल्ने क्रम बढेको’ बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved