कालीगण्डकी करिडोरमा सुक्खा पहिरो, सडक खुल्न एक साता लाग्ने

नेपालभ्युज

कालीगण्डकी करिडोरमा सुक्खा पहिरो, सडक खुल्न एक साता लाग्ने

बागलुङ । सुक्खा पहिरोका कारण आइतबार रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड अवरूद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बरलवाको भिरमा गत राति पहिरो खसेको हो ।

पहिरोले बागलुङ–गृल्मी खण्डअन्तर्गत मालढुङ्गा–अर्बेनी सडक पूर्णरूपमा अवरूद्ध भएको हो । यसअघि फागुन ११ र २६ गते पनि सोही ठाउँमा पहिरो खसेको थियो । सुक्खा पहिरोका कारण करिडोर एक साता बन्द भएको थियो ।

बागलुङको मालढुङ्गादेखि गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ । काम चलिरहेकैबेला आइतबार रातको समयमा एक्कासी पहाड खसेपछि सडक अवरूद्ध भएको र काम रोकिएको कालोपत्रको काम गरिरहेको निर्माण कम्पनी कालिका कन्ट्रक्सनका इञ्जिनियर छकबहादुर गुरूङले बताए ।

“पहिरो खसेको ठाउँ निकै कमजोर छ, त्यहाँ पटकपटक पहिरो खसेर काममा बाधा पारिरहेको छ”, आयोजनाका इञ्जिनियर अरूण खत्रीले भने, “पहाड सिँगै खसेकाले यो पटक पनि सडक खुल्न समय लाग्छ ।”

पहिरो खुलाउनका लागि आयोजना र निर्माण कम्पनीले आज बिहानैदेखि काम थालेका छन् ।

बरलवाको भिरमा खसेको सुक्खा पहिरोले सडक अवरूद्ध भएको छ । सडक अवरूद्ध भएकाले करिडोर हुँदै लामो तथा छोटो दूरीका सवारीसाधन आवागमनमा समस्या भएको प्रहरीले जनाएको छ ।

सडक अवरूद्ध भएका कारण जिल्ला सदरमुकाम बागलुङ बजार र दक्षिण जैमिनी तथा बरेङ गाउँपालिकाबाट बुटवललगायत ठाउँमा चल्ने सवारीसाधन रोकिएका छन् । भिरालो जमिन रहेको उक्त स्थानमा बेलाबेलामा सुक्खा पहिरो जाने गरेको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved