कावासोती । ढल निर्माणका खाल्डो खन्ने क्रममा पुरिएर तीनजना महिलाको मृत्यु भएको छ ।
कावासोतीको फलफुल चोकमा ढल निर्माणका लागि खाल्डो खन्दा उनीहरु पुरिएका थिए । २ जनालाई निकालेर अस्पताल लैजाँदै गर्दा र एकजनाको घटनास्थलमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा कावासोती नगरपालिका ५ लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना, सोही ठाउँकी २५ वर्षीया तानमाया गाहा र चमेली दर्लामी मगर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।
कावासोती नगरपालिका ३ फलफुलचोकमा नगरपालिकाद्वारा ढल निकासको ह्युम पाईप राख्नको लागि बनाउँदै गरेको निर्माणाधिन नालामा काम गर्ने मजदुर पुरिएका थिए ।
गाहा र रानालाई निकालेर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । मगर भने पुरिएको अवस्थामा राति मृत फेला परेकी हुन् ।
घटनाको विरोधमा स्थानीय र मृतकका आफन्तले कावासोती नगरपालिकाका प्रमुख विष्णु भुसालविरुद्ध नारावाजी गर्दै घर घेराउ गरेका छन् । उनीहरुले नगरपालिकाको लापरवाहीले मजदुरको ज्यान गएको आरोप लगाएका छन् ।

Facebook Comment
Comment