टिप्पणी

‘चण्डी’ कुनै किराती भाषाका शब्द हैन

‘चण्डी’ कुनै किराती भाषाका शब्द हैन

चण्डीले…चण्डीले…
मोहनी लगायो कुनचैँ ‘रन्डी’ले !

ख्यालठट्टा, हँस्सीमजाक गर्दा खोटाङको उभोखोलातिर साकेला भाकामा गाइने गीतको एक टुक्रा हो यो । गीतले भनेझैँ राई समुदायमा चण्डी शब्द ‘रन्डी’कै भूमिकामा वेश्या भएर आइपुगेको सत्य हो । यो कुनै राई भाषाको शब्द हैन । कुनै किरातीको जिब्रोले यो शब्द उच्चारण गर्दैन । तर, मोहनीचाहिँ लगाइराखेकै छ । अक्सर, वेश्याहरूको कमाल यस्तै हुन्छ कि ?

ठ्याक्कै भन्नुपर्दा राईजातिको महान् चाड साकेला/साकेवा/तोस/तोसी/वास/सेग्रो/स्याँदरमाथि जबरजस्त सौता पस्न आइपुगेको शब्द हो चण्डी । आमामाथि सौता पस्न आउने ‘रन्डी’लाई सिस्नुपानी लाएर ठेगान लाउनुपर्नेमा उरन्ठेउलाहरू वेश्याकै पक्षमा पो बोलिहिँड्छन् । लेखिहिँड्छन् । रिपोर्टिङ गरिहिँड्छन् । अचम्म ! आमालाई रुवाउने, सिद्ध्याउने यिनका यी हर्कतहरू कुनै मानेमा क्षम्य छैनन् । यी कुकर्महरू जान-अन्जान जसरी भएका हुन् ? तुरुन्तै सच्चिनु र सच्च्याइनु जरुरी मात्र हैन, अपरिहार्य छ । आमाप्रति सम्मान गर्ने प्रत्येक असल सन्तानको कर्तव्य हो यो ।

भाषाविद् भन्छन्— चण्डी शब्द कुनै किराती भाषाका शब्द हैन । किराती जिब्रोले बोल्ने शब्दै हैन । यो त राई जातिको चाडलाई हिन्दुकरण गरी सिद्ध्याउनलाई सत्ताद्वारा लादिएको षड्यन्त्रकारी शब्द हो । त्यसो त कुनै पनि जातिको चाडलाई बद्नाम गर्नु, बङ्ग्याउनु र सिद्ध्याउनु अक्षम्य अपराध हो । सत्ताले हिजो यस्ता खाले अपराध बग्रेल्ती गरेकै थियो । दशौं हजार हाम्रै मान्छेको बलीदानपछि प्राप्त गणतान्त्रिक मुलुकमा अबउप्रान्त यस्तो अपराध हुने छैन । सत्ता सञ्चालकहरू यस विषयमा जानकारै होलान् ।

अब यति भनिसकेपछि हाम्रो चाडलाई के भन्ने त ? हामी प्रत्येकले आफ्नो आमाबाउ, बाजेबजुलाई सोध्ने, उहाँहरूले जे भन्नुहुन्छ ? हौ, त्यही भन्ने । यदि उहाँहरूले नि जान्नुभएन भने मुन्दुमका जानकार व्यक्तित्वहरूलाई सोध्ने, पक्कै उहाँहरूले जवाफ दिनुहुनेछ नै ।

अन्तमा, किरात राई सांस्कृतिक कलाकार सङ्घ, किरात राई लेखक सङ्घ, किरात राई यायोक्खाको विभिन्न जिल्ला कमिटी आदिको आयोजनामा २०६० सालदेखि चण्डी भन्नु हुँदैन भन्दै सभ्य भाषामा निरन्तर अभियान चलाउँदै आइयो । तर, दुःख लाग्दो कुरो अझै हाम्रो मान्छे कुरा बुझ्दैनन्। हाम्रै मान्छेको चेतनाहीन स्वाँठ पारा हेर्दा र विगतमा राज्यसत्ताले गरेको दमनकारी व्यवहार सम्झँदा ‘रन्डी’’ शब्द प्रयोग गर्न बाध्य भइयो । विज्ञ तथा सर्मिन्दा पाठकसामु माफी माग्न चाहान्छु, माफ गर्नुहोला ।


Comment

One thought on “‘चण्डी’ कुनै किराती भाषाका शब्द हैन

  1. हिन्दु सास्त्र र बेद,पुराणमा अनुसार चण्डी का अर्थात चण्ड कपोलकल्पित एक पात्र देविको रुपमा चित्रण गरेको पढ्न र सुन्न पाईन्छ।
    जस्मा चण्डिधारण गरि नाच अर्थात भजन किर्तन यस्तै कुनै कथाअनुरुप हिन्दुहरुले कर्म गर्ने गरेको पाईन्छ त्यसै अनुरुप पवित्र हाम्रो आस्था मौलिकता माथि बरबर अतिक्रमण हो भन्ने सोझै अनुमान लगाउन सकिन्छ।
    यस्मा गम्भिर भएर सोचौ र अध्यन गर्न आवस्यक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved