जलवायुविज्ञ भन्छन्- पृथ्वीको तापक्रम १५ डिग्रीभन्दा बढ्नु नदिन सबैको पहल आवश्यक

नेपालभ्युज

जलवायुविज्ञ भन्छन्- पृथ्वीको तापक्रम १५ डिग्रीभन्दा बढ्नु नदिन सबैको पहल आवश्यक

काठमाडौं । विज्ञहरुले कार्बन उत्र्सनलाई घटाउँदै पृथ्वीको तापक्रमलाई १.५ डिग्रीभन्दा बढ्न नदिन सबैको प्रयास आवश्यक रहेको बताएका छन् ।  बुधवारदेखि काठमाडौंमा शुरु भएको हिमाल, जनता र जलवायु सम्बन्धी विज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै विज्ञहरुले कार्बन उत्र्सजनलाई घटाउदै पृथ्वीको तापक्रमलाई १.५ डिग्रीमा सिमित राख्नुपर्नेमा जोड दिएका हुन् ।

दुई दिनसम्म चल्ने सम्मेलनको पहिलो दिनको पहिलो सत्रमा पृथ्वीको तापक्रमलाई १.५ डिग्रीमा सिमित गरिनुपर्ने प्रयासहरुको सम्बन्धमा छलफल भएको थियो । पृथ्वीको तापक्रमलाई १.५ डिग्रीभन्दा बढ्न नदिन विभिन्न राष्ट्रकोबीच सहजताको वातावरण कसरी बनाउने भन्ने विषयमा छलफल केन्द्रीत भएको जलवायु विज्ञ मञ्जित ढकालले बताए ।

जलवायुविज्ञ ढकालले जलवायु परिवर्तनको मुद्दा पर्वतीय देशहरुको मुद्दा मात्रै नभई अन्य देशको पनि मुद्दा भएकाले यो विषयलाई विश्वव्यापीकरण गर्न पनि छलफलले सहयोग पुर्‍याएको उनले बताए । विभिन्न मुलुकहरुबीचमा आपसी सहकार्यबाट मात्रै कार्बन उत्सर्जनमा कमी ल्याउन सकिन्छ भन्ने सन्देश छलफलले दिएको उनले बताए । त्यस्तै छलफलमा जलवायु परिवर्तनको असर पर्वतीय मुलुकमा मात्रै असर नपरि हिउँ पग्लिएर सुमुन्द्रमा पुग्दा तल्लो तटिय भू–भागमा रहेका देशहरुमा पनि असर पर्ने भन्दै यो विषयलाई त्यस्ता देशहरुले पनि अपनत्व लिनुपर्नेमा जोड दिइएको छ ।

त्यस्तै पहिलो दिनको अन्तिम सत्रमा जलवायु परिवर्तनका कारण आएका संकटहरुको सम्बन्धमा छलफल भएको थियो । छलफलमा विज्ञ तथा सरोकारवालाहरुले जलवायु परिवर्तनका कारण गहिरो संकट आएको भन्दै त्यसको समाधानका सम्बन्धमा ध्यान दिनुपर्ने बताएका थिए ।

सो छलफलका सम्बन्धमा जानकारी दिँदै राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले हिमाली राष्ट्रहरुले जलवायु परिवर्तनका कारण व्यहोरेको नोक्शानीका लागि आउने सहयोग रकम छिटोभन्दा छिटो पाउनुपर्नेमा सबैले जोड दिइएको बताए । उनले जलवायुजन्य क्षति तथा नोक्शानीलाई स्पष्टताका साथ अन्तर्राष्ट्रिय मञ्चहरुमा राख्नुपर्नेमा सबैको जोड रहेको बताए।

उनले भने, ‘हिमालमा जलवायु परिवर्तनका कारण भएका उदयीमान जलवायुजन्य संकटहरुका बारेमा चर्चा परिचर्चा गर्‍यौं । यस्तो निचोड, संकट गहिरो छ । बाढी पहिरो बढ्दैछ । यसको समाधान कसरी गर्ने भन्ने छलफल भयो । लस एण्ड ड्यामेजको फाइनान्सीङ फ्यासिलिटी बनेको छ ।’

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved