आगामी वर्षको बजेट समावेशीमूलक र वस्तुपरक हुनेछ : अर्थमन्त्री पुन

नेपालभ्युज

आगामी वर्षको बजेट समावेशीमूलक र वस्तुपरक हुनेछ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट समावेशी मूलक र वस्तुपरक बनाइने बताएका छन् । आइतबार ‘प्रि बजेट डिस्कसन’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि विभिन्न निकाय र क्षेत्रसँग छलफल र सुझाव लिने लिने प्रक्रिया भइरहेको बताए ।

‘पुँजीगत खर्च गर्नमा तीनतहकै सरकार चुके पनि अब यसको रफ्तार बढ्नेछ, मन्त्री पुनले भने ‘अबको बजेट समावेशी मूलक र वस्तुपरक बनाइने छ ।’

उनले नेपालमा पर्यटन, ऊर्जा, निर्माण क्षेत्र र आइटी क्षेत्रमा निकै ठुलो सम्भावना रहेको भन्दै आगामी आवमा सरकारले यी क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट बनाउने बताए । बजेटलाई मौद्रिक नीतिसँग मिलाएर सार्वजनिक गरिने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगानाले पुँजीगत खर्च बढाउनुपर्ने कुरामा दुई मत नरहेको बताइन् । आगामी आर्थिक वर्षको लागि प्रि बजेट प्रक्रियामा राष्ट्र बैंकले पनि विभिन्न कार्यक्रम गरिरहेको उनको भनाई छ ।

उनले अर्थतन्त्र सुधार्नका लागि निजी क्षेत्र सरकार र राष्ट्र बैंक एक जुट हुनुपर्ने बताइन । ‘वर्तमान समयमा बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाइरहेको छ, उनले भनिन् ‘यो समयको सदुपयोग गरेर कर्जा लिई लगानी बढाउनोस् ।’

आफ्नो भनाई राख्दै पूर्व अर्थमन्त्री डा‍‍‍.युवराज खतिवडाले आगामी आवको अर्धवार्षिक समीक्षामा बजेटको आकार घटाउन नपर्ने गरी बजेट बनाउनुपर्नेमा जोड दिए । वर्षैपिच्छे बजेटको आकार घटाउने प्रक्रियाले खराब जग बसेको उनको भनाई छ ।

‘बजेटको सार नगुमाऔं, बजेट बनाउँदा अनुमान गर्न मिल्ने कुरा मात्र अनुमानमा राखौं, उनले भने ‘आर्थिक वृद्धि भएर मात्र हुँदैन त्यसले रोजगारी सिर्जना र गरिबी निवारणमा कत्तिको योगदान दिन्छ त्यो महत्त्वपूर्ण रहन्छ ।’

कार्यक्रममा अर्थमन्त्री वर्षमान पुन, पूर्व अर्थमन्त्री डा युवराज खतिवडा, राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना, नेपाल व्यवस्थापन संघका अध्यक्ष मोहन राज ओझासहित म्यानका विभिन्न पदाधिकारीहरू लगायतले उपस्थिति जनाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved