भारतको सहयोगमा खोटाङमा विद्यालय भवन र छात्रावास निर्माण

नेपालभ्युज

भारतको सहयोगमा खोटाङमा विद्यालय भवन र छात्रावास निर्माण

काठमाडाैं । भारत सरकारको तीन करोड ६१ लाख रुपैयाँ सहयोगमा खोटाङको रावाबेसी गाउँपालिकामा विद्यालय भवन र छात्रावास निर्माण भएको छ । ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत खोटाङको शारदा माध्यमिक विद्यालयको भवन एवं छात्रावास भवन निर्माण भएको हो ।

भवनहरूको बिहीवार आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति (जिसस)का प्रमुख सनबहादुर राई, रावाबेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठ र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा उद्घाटन गरे  ।

‘नेपाल–भारत विकास सहकार्यअन्तर्गतको भारत सरकारको अनुदान सहयोगमा दुई तल्ले विद्यालय भवन, छात्रावास भवनको निर्माण र दुवै भवनका लागि आवश्यक फर्निचरको खरिदका लागि उपयोग गरिएको भारतीय दूतावासलद्वारा जारी  विज्ञप्तिमा भनिएको छ । परियोजना जिल्ला समन्वय समिति, खोटाङमार्फत कार्यान्वयन गरिएको दूतावासले जनाएको  छ ।

दूतावासका अनुसार भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत पहिले साना विकास परियोजनाका नामले परिचित यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको  छ ।

शारदा माध्यमिक विद्यालय सन् १९५२ मा स्थापना भएको हो । कक्षा १ देखि प्लस टू तहसम्म अध्यापन हुने यस विद्यालयमा ३६५ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । जसमा ५० प्रतिशत छात्रा रहेका छन् । गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले उल्लेखनीय सफलता हासिल गरेको सरोकारवालाहरूको भनाइ छ ।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएको छ ।

 

जसमध्ये ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन् । यीमध्ये कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना रहेका छन् । जसमा एउटा परियोजना खोटाङमा रहेको छ । यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ ।

जसमध्ये कोशी प्रदेशलाई १४१ वटा एम्बुलेन्स र ३५ वटा स्कूल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा ४ वटा एम्बुलेन्स र एउटा स्कुल बस खोटाङ जिल्लालाई उपलब्ध गराइएको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्र (विशेषगरी नेपालको शैक्षिक क्षेत्र)मा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको भारतीय दूतावासको भनाइ छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved