कोशी प्रदेशमा छ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु

नेपालभ्युज

कोशी प्रदेशमा छ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु

झापा । कोशी प्रदेशमा क्षयरोगबाट मृत्यु हुनेको दर गत वर्षको तुलनामा बढेको छ । प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय धनकुटा कार्यालयका क्षयरोग फोकल पर्सन तुलसीप्रसाद गुरागाईंले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा कोशीका १४ जिल्लामा ७९ जनाको क्षयरोगबाट मृत्यु भएको जानकारी दिए ।

कोशीमा एक हजार एक सय १४ उपचार केन्द्र, एक सय ३२ स्थानमा खकार परीक्षण गर्ने ल्याब, १९ जिन एक्सपर्ट मेसिन, चार क्षयरोग प्रतिरोधी उपचार केन्द्र र एउटा आवासीय गृह रहेको उनले बताए ।

सरकारले प्रदेशभरिका क्षयरोगका बिरामीलाई प्रादेशिक अस्पताल भद्रपुर, ओखलढुङ्गा सामुदायिक अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरस्थित नेपाल क्षयरोग निवारण संस्थामार्फत निःशुल्क उपचार गर्दै आएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा दुई हजार २३ जनामा क्षयरोग देखिएको छ ।

जसमध्ये आफैँ स्वास्थ्य जाँच गराएर पत्ता लगाउने ३७ दशमल नौ प्रतिशत, निजी अस्पतालमा जाँच गर्दा ३९ दशमलव तीन प्रतिशत र सरकारी अस्पतालमा परीक्षण गर्दा क्षयरोग पत्ता लागेका १८ दशमलव चार प्रतिशत रहेका फोकल पर्सन गुरागाईँले जानकारी दिए ।

कोशीका १४ जिल्लामध्ये सबैभन्दा बढी क्षयरोगी झापा, मोरङ र सुनसरीमा रहेका छन् । झापामा पाँच सय ७९, मोरङमा पाँच सय २३ र सुनसरीमा चार सय ७९ क्षयरोगी रहेका छन् ।

यस्तै, उदयपुरमा एक सय ४५, इलाममा ८२, पाँचथरमा २२, तेह्रथुममा २१, धनकुटामा २३, भोजपुरमा २८, खोटाङमा १६, ओखलढुङ्गामा ५३, सोलुखम्बुमा १६, सङ्खुवासभामा २२ र ताप्लेजुङमा २३ क्षयरोगका बिरामी रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved