भारतमा लोकसभा चुनावको घोषणा : सात चरणमा मतदान, ४ जुनमा मतगणना

नेपालभ्युज

भारतमा लोकसभा चुनावको घोषणा : सात चरणमा मतदान, ४ जुनमा मतगणना

काठमाडौं । भारतमा १९ अप्रिल (वैशाख ७) बाट सात चरणमा लोकसभा चुनाव हुने भारतको निर्वाचन आयोगले  जनाएको छ ।

आयोगले शनिबार पत्रकार सम्मेलनमार्फत चुनावको मिति घोषणा गरेको हो । जसअनुसार पहिलो चरणको मतदान १९ अप्रिलमा हुनेछ । त्यसपछि दोस्रो चरण २६ अप्रिलमा हुने छ । तेस्रो चरण ७ मेमा, चौथो चरण १३ मे, पाँचौ चरण २९ मे र छैठौं चरणको मतदान २५ मेमा हुने बताइएको छ ।

यसैगरी, अन्तिम सातौं चरणको मतदान जुन–१ मा हुनेछ । अप्रिल १९ बाट सुरु भएर जुन १ मा मतदानको कार्य सकिने मुख्य निर्वाचन आयुक्त राजीव कुमारले पत्रकार सम्मेलनमा जानकारी दिए ।  मतगणना एकैसाथ ४ जुनबाट प्रारम्भ हुने आयोगले जनाएको छ ।

लोकसभाको ५ सय ४३ सिटका लागि मतदान हुनेछ । आयोगका अनुसार पहिलो चरणमा १ सय २, दोस्रोमा ८९, तेस्रोमा ९४, चौथोमा ९६, पाँचौंमा ४९, छैठौंमा ५७ र सातौं चरणमा ५७ सिटका लागि मतदान हुनेछ ।

लोकसभा चुनावसँगै आन्ध्र प्रदेश, उडिशा, अरुणाचल प्रदेश र सिक्किममा विधानसभा चुनाव पनि हुँदैछ । त्यस्तै, देशभरका विधानसभामा रिक्त रहेका २६ सिटमा उपनिर्वाचन पनि सोही अवधिमा गराइने आयोगले बताएको छ ।

भारतको केन्द्रीय निर्वाचन आयोगका अनुसार कुल ९६ करोड ८० लाख मतदाता सूचीकृत भएका छन् । जसमा ४७ करोड १० लाख महिला र ४९ करोड ७० लाख पुरुष मतदाता छन् ।

भारतीय संविधानमा प्रत्येक पाँच वर्षमा हुने लोकसभाको चुनावका लागि अधिकतम ५५२ वटा सिट हुन सक्ने व्यवस्था छ । अहिले भारतको लोकसभाको सिट संख्या ५४५ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved