उर्मिला अर्याल भन्छिन्- अध्यक्षमा आकांक्षा छ, नारायण दाहाल र झक्कुप्रसाद सुवेदीभन्दा कम छैन

'उपाध्यक्ष बन्दा प्रोमोट गर्ने पार्टी नेतृत्वको कुरा थियो'

नेपालभ्युज

उर्मिला अर्याल भन्छिन्- अध्यक्षमा आकांक्षा छ, नारायण दाहाल र झक्कुप्रसाद सुवेदीभन्दा कम छैन

काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ अर्थात् पर्सि हुँदैछ । अध्यक्षको दाबेदारी दल नेकपा (माओवादी केन्द्र) ले उम्मेदवार टुङ्ग्याउनेगरी बोलाएको पदाधिकारी बैठक जारी छ ।

बैठकले कसको नाम जुराउँछ, त्यो हेर्न बाँकी छ । तर, हाल राष्ट्रियसभा उपाध्यक्ष रहेकी उर्मिला अर्यालले पनि आकांक्षा व्यक्त गरेकी छन् । उनी २०७८ माघ १३ गते राष्ट्रियसभा सदस्यमा निर्वाचित बनेकी हुन् । अब उनको कार्यकाल ४ वर्ष बाँकी छ ।

तर, पार्टीभित्र ६ वर्ष कार्यकाल भएकै सदस्यलाई अध्यक्ष बनाउने मत बलियो देखिएको छ । यसो हुँदा त्यस सूचीमा नारायण दाहाल र झक्कुप्रसाद सुवेदीको नाममाथि छलफल भइरहेको एक नेता बताउँछन् । उनीहरू दुईमध्ये एकजनाको नाममा सहमति जुट्नसक्ने ती नेताले सङ्केत गरे ।

तर, यता ४ वर्ष कार्यकाल बाँकी रहेका अर्याल पनि आफू अध्यक्ष बन्न चाहेको बताउँछिन् । नेपालभ्युजसँग उनले भने, “कतिपयले ४ वर्ष भएपनि मलाई नै बनाउनुपर्छ भन्नुभएको छ ।”

त्यसो त सत्ता गठबन्धनमा भएको सहमतिअनुरूप उपाध्यक्ष पद नेकपा (एमाले) को भागमा परेको छ । यदि अर्याल नभइ अरु कोही अध्यक्ष बनेको खण्डमा उनले राजीनामा दिनुपर्छ । उनी भन्छिन्, “आकांक्षा हुँदाहुँदै पनि अध्यक्ष अरु नै बनेको खण्डमा मैले सहजरूपमै उपाध्यक्षबाट राजीनामा दिन्छु र सदस्यकै रूपमा बस्छु ।”

०६३ चैत्र १० देखि २०६४ ज्येष्ठ १० गतेसम्म महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्रीसमेत बनेकी अर्याल चर्चामा रहेका नारायण दाहाल र झक्कुप्रसाद सुवेदीभन्दा आफू कुनै पनि कुरामा कम नभएको दाबी गर्छिन् । “उहाँहरूको भन्दा मेरो पोर्टफोलियो कमजोर पनि छैन र म कुनै पनि कुरामा कमी छैन ।”

केही दिनपहिले उनी प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेकी थिइन् । त्यसक्रममा उनले आफूलाई आकांक्षा रहेको सुनाएका थिए । नेपाली कांग्रेससँगको गठबन्धन नभत्किँदै बालुवाटार पुगेकी अर्याललाई प्रधानमन्त्री प्रचण्डले कृष्णप्रसाद सिटौलाको नाम लिँदै ‘सरी’ भनेका थिए ।

तर, अहिले सिटौला अध्यक्षको ‘रेस’बाट बाहिरिएका छन् । यस्तो अवस्थामा अर्यालले अझ बढी अपेक्षा गरेकी छन् ।

त्यसो त उपाध्यक्ष बन्दा आफूलाई पार्टी अध्यक्ष प्रचण्डले ‘पछि प्रोमोट गर्छु, अहिले उपाध्यक्षमा बसिराख्नुस्’ भनेको उनी सम्झन्छन् । उनी भन्छन्,”पहिले पनि म उपाध्यक्षमा जान्नँ नै भनेको थिएँ । मलाई रहर थिएन । अध्यक्ष कमरेडले त्यतिबेला उपाध्यक्ष भइराख्नस्, पछि तपाईं नै अध्यक्ष बन्नुस् भन्नुभएको थियो ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved