साता समीक्षा : सत्ता उलटपुटलसँगै उथलपुथल सेयर बजार

नेपालभ्युज

साता समीक्षा : सत्ता उलटपुटलसँगै उथलपुथल सेयर बजार

काठमाडौं । यो साताभर नै सेयर बजारले उतारचढाव भोगेको छ । राजनीतिक गठबन्धन परिवर्तन भएसँगै त्यसको प्रभाव नेप्सेमा समेत देखिएको हो ।

यहीँ साता सेयर बजार र लगानीकर्ताले नयाँ अर्थमन्त्री पाए । पुराना अर्थमन्त्रीको बिदाइ र नयाँ अर्थमन्त्रीको आगमनले सेयर लगानीकर्तामा एक प्रकारको हर्ष न विष्मातको अवस्था देखिएको छ ।

आइतबार ११ दशमलव ७८ अंकको गिरावट आएर सेयर बजार बन्द भएको थियो । जसमा २ अर्ब ८ करोड २७ लाख ८६ हजार ८९ रुपैयाँको कारोबार भएको थियो ।

आइतबार सामान्य तवरले सञ्चालन भएको नेप्सेमा सोमबार भने एकाएक उछाल आयो । कारोबारको दोस्रो दिन अर्थात् सोमबार तत्कालिन गठबन्धन सरकार प्रधानमन्त्री प्रचण्डले पुनर्गठन गरे । उता सरकार पुनर्गठन भयो यता सेयरबजार आक्रामक रूपमा बढ्न थाल्यो । कारोबारको सुरुवाती समयदेखि नै बढ्न थालेको सेयर बजारले कारोबारको मध्यान्नतिर तीन पटकसम्म सकारात्मक सर्किट ब्रेक लाग्यो र बजार नै बन्द भयो ।

सोमबार बजार खुलेको ३ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेर २०३९.६० बिन्दुमा पुगेपछि २० मिनेटको लागि सर्किट ब्रेक लागेको थियो । त्यस्तै, २० मिनेटपछि खुलेको सेयर बजार १ मिनेटमै पुनः दोस्रो पटक सर्किट ब्रेक लागेको थियो ।

त्यसपछि ४० मिनेट बन्द भएर फेरि, कारोबार खुलेको १ मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६ प्रतिशतले बढेर तेस्रो सर्किट ब्रेक लागेपछि कारोबार नै बन्द भएको थियो । सोमबार सेयर बजार परिसूचक ११७.७० अंक बढेर २०७८.०० को विन्दुमा पुगेको थियो ।

नेप्सेमा आएको यो उछाल एक दिन पनि टिक्न सकेन । मंगलबार नेप्सेमा पहिरो गयो । सो दिन नेप्से परिसूचक ७० दशमलव ३१ अंकले घटेर २००७ दशमलव ६९ को विन्दुमा पुग्यो । जसमा ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार ९ सय ९८ रुपैयाँको कारोबार भएको थियो ।

यसरी दुई दिन उथलपुथल भएको नेप्सेले बुधबार भने पुनः लय समात्यो र पहिलाकै स्थानमा फर्कियो । साताको कारोबारको चौथो दिन नेप्से परिसूचक ९ दशमलव ३३ अंकले बढेर २०१७ दशमलव ०३ को विन्दुमा पुगेको पुग्यो । जसमा कारोबार रकम भने ३ अर्ब ४५ करोड ८३ लाख ८ हजार ३ सय ५७ रुपैयाँ रहेको थियो ।

त्यस्तै, कारोबारको अन्तिम दिन बिहीबार नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ । बिहीबार नेप्से परिसूचक १३ दशमलव ५१ अंकले बढेर २०३० दशमलव ५५ को विन्दुमा पुगेको हो ।

आज ३०९ कम्पनीका ४७ हजार ६ सय ९९ पटकको कारोबारमा ८९ लाख २९ हजार १ सय ५१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ३ अर्ब १९ करोड ९२ लाख ५ हजार ८ सय २० रुपैयाँ रहेको छ ।

साताको पहिलो कारोबारको दिन ११ दशमलव ७८ अंकले बढेको सेयर बजार दोस्रो दिन ११७ दशमलव ७० अंकले बढेर तहल्का मच्चाएको थियो । तर, मंगलबार भने पुनः ७० दशमलव ३१ ले घटेको सेयर बजार बुधबार र बिहीबार सामान्य अंकले बढेको छ । साताको कारोबारको पाँच दिनमा १ दिन सेयर बजार घटेको छ भने चार दिन बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved