नापतौल यन्त्र ठगी गर्ने सात सय ८६ व्यवसायी तथा उद्योगीलाई कारबाही

नेपालभ्युज

नापतौल यन्त्र ठगी गर्ने सात सय ८६ व्यवसायी तथा उद्योगीलाई कारबाही

काठमाडौं । नापतौल यन्त्रको जाँचमा अनियमितता तथा तौलमा ठगी गर्नेलाई कारबाही गरी जरिबाना गरिएको छ ।

नापतौलका क्रममा ठगी गर्ने, समयमा नापतौल यन्त्रको जाँच नगराउने सात सय ८६ व्यवसायी तथा उद्योगीलाई कारबाही स्वरुप जरिबाना गरिएको हो ।

गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षको सात महिनामा सो कारबाही गरेको जनाएको छ । सो कार्यालयवाट विभिन्न समयमा बजार क्षेत्रमा खटिएका कर्मचारी तथा उजुरीका आधारमा उक्त सङ्ख्यामा कारबाही गरिएको कार्यालय प्रमुख मनिषकुमार दासले जानकारी दिए ।

उनका अनुसार कार्यालयले चालू आवको उक्त अवधिमा सात सय ६६ व्यवसायी तथा उद्योगीलाई नापतौल यन्त्र सञ्चालनका लागि नयाँ इजाजतपत्र प्रदान गरिएको छ ।

कार्यालयबाट प्राप्त तथ्याङ्कअनुसार मकवानपुर, चितवन, पर्सा, बारा तथा रौतहट जिल्लाका व्यवसायी तथा उद्योगीलाई २०८०र८१ को साउनदेखि माघसम्ममा सो इजाजतपत्र प्रदान गरिएको जनाइएको छ ।

पाँच जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले सात महिनाको अवधिमा ३४ व्यवसायीको नापतौल यन्त्रको नवीकरण, दुई हजार पाँच सय १६ व्यवसायीको यन्त्रको जाँचसमेत गरिएको प्रमुख दासले जानकारी दिए ।

उनका अनुसार एक सय ५५ पेट्रोलियम पदार्थ बिक्री गर्ने पम्पको जाँच, चार सय ८६ पम्पको नोजल जाँचलगायत जाँच गरिएको छ ।

सो अवधिमा कार्यालयका कर्मचारीबाट विभिन्न बजारक्षेत्रको १० स्थानमा डोर सञ्चालन, एकल अनुगमन २० पटक र नौ पटक संयुक्त अनुगमन भएको थियो ।

चालू आवको हालसम्म रु ७३ लाख सात हजार आठ सय ५९ राजश्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी सञ्जीव ठाकुरले जानकारी दिए ।

हेटौँडाको औधौगिक क्षेत्रमा रहेको नापतौल विभागको ट्याङ्कर ‘क्यालिविरेशन’को कार्यालयमा भौतिक साधन, बजेट तथा कर्मचारीको अभावले काम गर्न समस्या भइरहेको कार्यालयका अधिकृत नयन आचार्यले बताए । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved