भरतपुर विमानस्थल बिस्तारका लागि सोमबारदेखि प्रक्रिया सुरु हुने

नेपालभ्युज

भरतपुर विमानस्थल बिस्तारका लागि सोमबारदेखि प्रक्रिया सुरु हुने
भरतपुर विमानस्थल/फाइल तस्वीर

काठमाडौं । भरतपुर विमानस्थलको बिस्तारको प्रकृया अघि बढ्ने भएको छ । भरतपुरमा रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्र शक्तिखोरमा स्थानान्तरण गरेर धावनमार्ग बिस्तार गर्न लागिएको हो ।

विस्तारका लागि सर्वे गरी डिजाइन गर्नुका साथै डिजाइन अनुरुप ओएलएस (अप्सट्रेकल लिमिटेशन सर्वे) गरिने छ । सर्बेको काम भोलि (सोमबार) सुरु गरिने भएको हो । गत शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बैठक बसेर सोमबार काम सुरु गर्ने सहमति भएको थियो ।

यसका लागि आइतबार नै प्राविधिकहरुको टोली चितवन पुग्नेछ । भरतपुर बिमानस्थलका प्रमुख दीपक बिकले भने, “सोमबारदेखि काम अघि वढाउँदै छौ । एक हप्ताभित्र सर्वेको काम सम्पन्न हुनेछ ।”

नगर प्रमुख दाहालको अध्यक्षतामा बसेको बैठकमा महानगरका उपप्रमुख चित्रसेन अधिकारी, नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी सहितको उपस्थिति थियो । बैठकले विमानस्थल विस्तार र घोडा प्रजन्नन केन्द्र शक्तिखोरमा स्थान्तरण एक साथ अगाडि बढाउने सहमति गरेको हो ।

सर्वेको नतिजा आएपछि डिजाइनअनुसार बजेट सुनिश्चित गरेर विस्तारको काम अघि बढाइने छ । यस्तै समग्र विमानस्थल विस्तार सहजीकरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना र महानगरपालिकाको प्रतिनिधि सम्मिलित सहजीकरण समिति गठन गर्ने सहमति भएको छ ।

गत माघ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सैनिक संरचना हटाएर भरतपुर विमानस्थल विस्तार गर्ने निर्णय गरेको थियो । संरचना सार्दा हुने खर्च नागरिक उड्डयन प्राधिकरणले बेहार्ने छ ।

विमानस्थलसँगै नेपाली सेनाको घोडा प्रजनन् केन्द्र लगायत संरचना छन् । कूल ५८ बिघा क्षेत्रफलमा विमानस्थल विस्तारका लागि १९ बिघा जमिन आवश्यक पर्छ । अहिले एक हजार दुई सय मिटरको धावनमार्ग रहेको विमानस्थलमा उत्तर–पश्चिमतर्फ चार सय १२ मिटर बिस्तार गर्ने योजना छ । यसअनुसार विमानस्थलको धावनमार्ग कम्तीमा एक हजार पाँच सय मिटरको बनाउनुपर्नेछ ।

ठूला जहाजसमेत चल्ने गरी विमानस्थल बिस्तार हुनेछ । हाल विमानस्थलको धावनमार्गको लम्बाई कम भएकाले ठूला जहाज उडान–अवतरण गर्न सक्दैनन् । विमानस्थल विस्तार भएपछि रात्रिकालिन उडान, ठूलो क्षमताका जहाज, धेरै वटा उडान सुरु हुने र हवाईइन्धनको पनि सेवा उपलब्ध हुने हुनेछ ।

प्रमुख दाहालले सबै तिरबाट एकसाथ काम अघि बढ्ने भएकाले बिमानस्थल बिस्तार छिट्टै हुनेमा विश्वास व्यक्त गरिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved