प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानले आज भृकुटीमण्डपमा सभा गर्दै

नेपालभ्युज

प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानले आज भृकुटीमण्डपमा सभा गर्दै

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानले आज काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गर्दैछ । कार्यक्रम विहान ११ बजे भृकुटीमण्डमा सुरु हुने छ ।

झापाको काकडभिट्टाबाट सुरु गरेको नागरिक बचाउ अभियानको वार्षिकोत्सव कार्यक्रम गर्न लागिएको हो । प्रशासनले काठमाडौंको टुँडीखेलमा कार्यक्रम गर्न अनुमति नदिएपछि प्रसाईंले भृकुटीमण्डपमा कार्यक्रम गर्न लागेका हुन् ।

गत मंसिरमा काठमाडौँको चक्रपथभित्र कार्यक्रम गर्न नपाएका प्रसाईंले यो पटक भने काठमाडौंको केन्द्रमा नै कार्यक्रम गर्ने अनुमति पाएका छन् । सभाका लागि भृकुटीमण्डपमा भव्य स्टेज बनाइएको छ ।

कार्यक्रमका लागि देशका विभिन्न जिल्लाबाट सहभागी हुनेहरु काठमाडौं आइसकेका छन् । वार्षिकोत्सव कार्यक्रमका लागि विभिन्न राजनीतिक दलका नेतालाई आमन्त्रण गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतलाई पनि निम्तो बाँडिएको अभियानले जनाएको छ । सभामा आमन्त्रितलाई मन्तव्यका लागि समय छुट्याइएको छ ।

कार्यक्रममा सहभागी हुनुपर्ने भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह भने चितवन लागिसकेका छन् । प्रसाईंले गत वर्ष शाहलाई नै उपस्थित गराएर अभियानको सुरुवात गरेका थिए ।

कार्यक्रममा भ्रष्टाचार र तस्करीमा संलग्न ३१ जनाको प्रमाणसहित नाम सार्वजनिक गर्ने अभियानले जनाएको छ । प्रमाणसहित उनीहरुको नाम घोषणा गरिने बताइएको छ ।

विभिन्न जिल्लाबाट अभियानमा सहभागी हुन आउनेलाई काठमाडौंका कीर्तिपुर कलंकी, गोंगबु, स्वयम्भू, ताहाचल, वनस्थली, चावहिल, गौशाला, भक्तपुर कोटेश्वर लगायत मुख्य ७ रुटबाट ब्यानर तथा झण्डासहित जुलुसमा सहभागी गराइने अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले जानकारी दिए ।

जुलुस बिहान साढे ११ बजे भृकुटीमण्डपमा पुग्ने र मुख्य कार्यक्रम सुरु हुने उनको भनाई छ । अभियानमा मिटरब्याज पीडित, लघुवित्त पीडित, बैंकको ऋण तिर्न नसकेका व्यक्तिसहित राजावादी अभियन्तासमेत सहभागी हुने जनाइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved