पाकिस्तानमा नयाँ सरकार गठनका लागि शरिफको दललाई सहयोग गर्न सेना प्रमुखको अपिल

नेपालभ्युज

पाकिस्तानमा नयाँ सरकार गठनका लागि शरिफको दललाई सहयोग गर्न सेना प्रमुखको अपिल

काठमाडौं । पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनीरले गठबन्धन सरकार निर्माणका लागि नवाज शरीफलाई सहयोग गर्न अपिल गरेका छन् ।

पूर्वप्रधानमन्त्री नवाज शरीफले गठबन्धन सरकार गठनका लागि गरेको आग्रहलाई सेना प्रमुखले समर्थन गरेका हुन् ।

मुनिरले राजनीतिक दलहरुलाई एकीकृत सरकार गठन गर्न आव्हान गरेकोे इण्डियन एक्सप्रेसले जनाएको छ ।

मुनीरले इमरान खानको दललाई सरकार बाहिर राख्ने रणनीति अनुरुप शरिफको पार्टीलाई लोकतान्त्रिक दलहरुले सहयोग गर्नु पर्ने भन्दै दबाब बढाएका हुन् ।

पूर्व प्रधानमन्त्री नवाज शरिफले आफ्नो पार्टी पहिलो भएको दाबी गर्दै गठबन्धन सरकारका लागि आव्हान गरेका छन् ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार शरिफको दल पाकिस्तान मुस्लिम लिग पीएमएलले पाकिस्तान पिपुल्स पार्टी पीपीपीसँग सरकार गठनका लागि आन्तरिक छलफल सुरु गरेको छ ।

सरकार गठनका लागि कम्तीमा एक सय ३४ सांसदको समर्थन आवश्यक छ । अहिलेसम्म सार्वजनिक मत परिणाम अनुसार पीएमएलले ७१ सिट जितेको छ भने पूर्व विदेशमन्त्री विलावल भुट्टो जर्दारीको पीपीपीले ५४ सिट जितेको छ ।

मत परिणाम अनुसार पूर्वप्रधानमन्त्री इमरान खानको दल पाकिस्तान तेहरिक–ए इस्लाम (पीटीआई) समर्थित स्वतन्त्र उम्मेदवार सबैभन्दा धेरै एक सय सिटमा विजयी भएका छन् ।

अन्य दल २८ सिटमा विजयी भएका छन् । २ सय ६६ सिटमध्ये दुई सय ५३ सिटको नतिजा सार्वजनिक हुँदा कुनै पनि दलले सरकार गठनका लागि आवश्यक बहुमत ल्याउन नसक्ने देखिएको हो । पाकिस्तानमा ३ सय ३६ सदस्यीय संसद् छ ।

तीमध्ये २ सय ६६ सिटमा प्रत्यक्ष चुनावबाट चुनिने प्रावधान छ । सरकार गठनका लागि कम्तीमा एक सय ३४ सांसदको समर्थन आवश्यक छ । समानुपातिक प्रणालीबाट चुनिने ७० सिटमध्ये ६० सिट महिला र १० सिट गैरमुस्लिमका लागि छुट्याइएको छ ।

चुनावको औपचारिक नतिजा घोषणा हुन भने बाँकी नै छ । बिहीबार भएको आम निर्वाचनमा धाँधली भएको टिप्पणी भएको छ । बेलायत र अमेरिकाले पनि हस्तक्षेप वा धाँधली भएको विषयमा अनुसन्धान हुनुपर्ने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved