सल्लेरीमा आगो तापेरै स्थानीयको दिन बित्दै, पाइपमै पानी जम्न थालेपछि समस्या

नेपालभ्युज

सल्लेरीमा आगो तापेरै स्थानीयको दिन बित्दै, पाइपमै पानी जम्न थालेपछि समस्या

सल्लेरी । चिसो अत्यधिक बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरीका स्थानीयले आगो तापेर समय बिताउने क्रम बढेको छ ।

चिसोबाट बच्न बालबालिकादेखि वृद्धवृद्धासम्म सडकमा आगो तापेर बस्न थालेका हुन् । चिसोले विशेषगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने गरेको सल्लेरीका दावा शेर्पाले बताए ।

एक सातायता सल्लेरीको तापक्रम निरन्तर माइनसमा गएको छ । मङ्गलबार सल्लेरीको तापक्रम माइनस दुई डिग्री सेल्सियस मापन गरिएको छ । उनका अनुसार यो तापक्रम जिल्लामा यस वर्षकै कम हो ।

सल्लेरी बजार क्षेत्रसहित आसपासका धेरैजसो स्थानमा मानिसले आगो तापेर समय बिताउने गरेका छन् । घरभित्र बस्दासमेत चिसोले कठ्याङ्ग्रिन थालेपछि सडकमा आगो बालेर बस्न थालेको नयाँ बजारकी सूर्यकुमारी राजभण्डारीले बताइन् ।

उनले भनिन् , “वृद्धवृद्धालाई झन् धेरै गाह्रो भयो, अरु उमेरका मानिसले त चिसो पचाउला तर अलिक बूढापाकालाई समस्या भयो, चिसोले राति सुत्दासमेत कठ्याङ्ग्रिन थालेको छ, खै सल्लेरीमै यस्तो छ झन् माथिल्लो क्षेत्रमा त के होला अवस्था, यो वर्ष धेरै चिसो भयो ।” अधिक चिसोका कारण व्यवसाय सञ्चालन गर्नसमेत कठिन भएको सल्लेरीमा टेलरिङ व्यवसाय गर्दै आउनुभएका खड्गबहादुर हिङ्माङले बताए ।

जिल्लाको माथिल्लो क्षेत्रको जनजीवन चिसोले अझ धेरै प्रभावित बनेको छ । हिमाली क्षेत्र नाम्चे, लुक्ला, फाक्दिङलगायतका स्थानमा चिसोले दैनिकी कष्टकर बनेको स्थानीय आङफुर्वा शेर्पाले बताए । जसका कारण अन्य काम वस्तुभाउको स्याहार गर्न, घाँसपात गर्नसमेत समस्या भएको उनको भनाइ छ ।

पानी आपूर्तिमा समस्या

जिल्लाको खुम्बु क्षेत्रमा चिसोका कारण पाइपमै पानी जम्न थालेपछि पानी आपूर्तिमा समस्या भएको छ । अत्यधिक चिसोका कारण पाइपमै जम्दा सगरमाथा क्षेत्रमा पिउने पानीको आपूर्ति प्रभावित भएको हो ।

दिउँसो घाम लागेको समयमा समेत जमेको पानी नपग्लिँदा खुम्बुका विभिन्न ठाउँमा खानेपानी आपूर्ति बन्द भएको स्थानीय नुरु शेर्पाले बताए ।

उनले भने, “खुम्बुमा यतिखेर खाने तेलदेखि घरभित्र भरेको पानीसमेत जमेर ढिक्काजस्तै बन्छ, मज्जाले घाम लागेको बेला त त्यो पग्लिन्छ, यसरी घाम नलाग्दा त घरभित्रको पानी दिनभर नै पग्लिदैन, यहाँको अवस्था त तपाईँहरूले सोचेभन्दा फरक छ नि, कत्ति गाह्रो छ, त्यही भएर धेरैजसोले खुम्बु छाडे, हामी थोरैमात्रै गाउँमा छौँ ।” यो क्षेत्रको तापक्रम घटेर माइनस १७ डिग्री सेल्सियससम्म झर्ने गरेको स्थानीयले बताएका छन् ।

चिसोले विकास निर्माणका कामदेखि अन्य दैनिक क्रियाकलापसमेत प्र्रभावित बनेको छ भने गाउँघरमा मानिसको चहलपहल न्यून हुँदै गएका छन् ।

विद्यालय अघिकांश बन्द भएपछि बालबालिका आगो तापेर समय कटाउनु यहाँका नागरिकको बाध्यता भएको पिके माध्यमिक विद्यालय लोदिङका शिक्षक ल्हाक्पा शेर्पाले जानकारी दिए । उनले भने, “चिसोले विद्यालयमा विद्यार्थीको सङ्ख्या बढ्दै गए पनि विद्यालय नै बन्द गरेका छौं , शिक्षकलाई पनि गाह्रो छ, कतिपय शिक्षक तराईको हुनुहुन्छ, त्यसैले उहाँहरूलाई चिसोमा यहाँ बस्न निकै कठिन छ ।”

रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved