अघिल्लोपटक सम्हालिन नसकेका रवि यसपटक रक्षात्मक

अघिल्लो पटक उनले आफ्नो आलोचना गर्ने मिडिया हाउस र पत्रकारमाथि तल्लो स्तरमा गालीगलौजसमेत गरे । मिडिया हाउस घेर्ने र नेतृत्व आफैँले गर्ने भन्दै मिडियाहरूलाई बहिष्कारसमेत गर्नुपर्ने धम्की दिए ।

नेपालभ्युज

अघिल्लोपटक सम्हालिन नसकेका रवि यसपटक रक्षात्मक

काठमाडौं । ‘सक्नुहुन्न मलाई । अहँ नचलाउनुस् । लखेटी-लखेटी मलाई उपप्रधान एवम् गृहमन्त्री बनाउनुभयो, अब के बनाउनुहुन्छ ?’ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाएर चर्चामा आएका रवि लामिछानेले अघिल्लो सालको पत्रकार सम्मेलनमा भनेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले त्यो बेलामा सांसद, गृहमन्त्री तथा पार्टी सभापति पद गुमाएका थिए । उनको पुरानो नागरिकता र अवैध पासपोर्टको बारेमा मिडियाले लगातार समाचार आइरहेका थिए ।

सर्वोच्च अदालतको फैसलासँगै सांसद, गृहमन्त्री तथा पार्टी सभापति पद गुमाएका रविले गृहमन्त्रीमा फर्किने कसरत गरेका थिए । पद पाउन बालुवाटारदेखि बालकोटसम्म परिक्रमा गरिरहेका उनले अनेक प्रयत्नका बाबजुद पनि गुमेको गृहमन्त्री पद फर्काउन नसकेपछि मिडियाप्रति आक्रोश पोखेका थिए ।

आफूले तय गरेको विशेष पत्रकार सम्मेलनलाई ‘कोणसभा’ जस्तो बनाएका थिए । रविका हरेक ‘पन्चलाइन’लाई कार्यालय परिसरमा रहेका उनका समर्थक ताली बजाएर स्वागत गर्थे । कार्यकर्ताको हुटिङले हौसिँदै उनले पत्रकारलाई नै प्रतिप्रश्न गरे ।

केही कुरामा विषवमनसमेत गरे, विशेषगरी ‘मेनस्ट्रीम मिडिया’प्रति । नेपाली नागरिकता नै नभएको व्यक्ति सांसद र गृहमन्त्री भएको विषयमा मिडियामा आएको समाचार र सर्वोच्च अदालतबाट समेत सावित भएको वास्तविकता ओझेल पार्न खोज्दै रविले ‘नेपाली पत्रकारिताको लेभल भएन’समेत भन्न भ्याए ।

२२ माघ २०७९ मा रवि लामिछानेको पत्रकार सम्मेलन

उनको आलोचना गर्ने मिडिया हाउस र पत्रकारमाथि तल्लोस्तरमा गाली-गलौजसमेत गरे । मिडिया हाउस घेर्ने र नेतृत्व आफैँले गर्ने भन्दै मिडियाहरूलाई बहिष्कारसमेत गर्नुपर्ने धम्की दिए ।

उनले १२ भाइमध्येका कैलाश सिरोहिया, शिव गाउँले, अमित ढकाल आदिको नाम लिँदै चितवनमा निर्वाचन लड्न आउन चुनौतीसमेत दिए । ‘अनलाइन, कान्तिपुरमा सही आएको छ ?,’ उनको आक्रोश थियो, ‘कन्फ्लिक्ट अफ इन्ट्रेष्ट के हो ? देश चलाउने हो भने मसँग चुनाव लड्न आउनुस्,’ उनले भने ।

अझ उनले १२ भाइ प्रकाशक-सम्पादकहरूले नै देश बिगारेको भाष्य निर्माण गर्न खोजे । अझ रास्वपाको प्रमुख शत्रु नै १२ भाइ सम्पादक हुन्, जसले गर्दा मैले काम गर्नसमेत पाइनँ भन्ने आशय व्यक्त गरे ।

रविले गरे आत्मालोचना, मिडियामाथि गरेको टिप्पणीप्रति मागे माफी

त्यसको वर्ष दिनपछि फेरि परिस्थितिले रविलाई फेरि पत्रकार सम्मेलन गर्ने अवस्थामा पुर्‍यायो रविलाई । सुप्रिम, सूर्यदर्शन, साहारा चितवन र बुटवलको सुप्रिम सहकारीको पैसा आफू संलग्न रहेको गोर्खा मिडियाको खातामा ट्रान्सफर भएको भन्ने समाचार मिडियामा आए । त्यो मिडियामा उनको १५ प्रतिशत शेयर लिएको भनिएको थियो ।

ग्यालेक्सीको १५ प्रतिशत सेयर लिन सुप्रिम सहकारीबाट रकम लिएर गोर्खा मिडियाको खातामा राखेको र टेलिभिजन छाड्दा गोर्खा मिडियाबाट रविको खातामा एक करोड ८० लाख भुक्तानी लिएको आरोपबारे गरेको पत्रकार सम्मेलनमा भने उल्टै मिडिया रक्षात्मक बने ।

पत्रकारलाई उनलाई विगतको जस्तो अपेक्षा गरेर आउनुभएको भए त्यो पूरा नहुने पहिल्यै बताए । आफू मिडियाविरुद्ध नभएको र मिडियालाई पनि आफूविरुद्ध नलाग्नु आग्रह गरे ।

बेतिथिविरुद्ध आफूहरू सँगै लड्न आह्वानसमेत गरे । उनले भने, ‘व्यवस्था परिवर्तनमा सञ्चारमाध्यमको भूमिका अतुलनीय छ । म मिडियाविरुद्ध छैन । हामी बेथितीकोविरुद्ध लडौँ । तथ्यमा लेखौँ । तपाईंलाईँ छोड्दिनँ भनेर नलागौँ । नयाँ राजनीतिक दललाई हतोत्साहित नगरौँ । तर तथ्यमा नआएको कुरालाई नलेखौँ । यसलाई नछाड्ने हो भनेर प्रतिशोध नसाँधौँ । मिलेरै बेथितिविरुद्ध लडौँ । तर, सहकारी ठगीमा यति धेरै समाचार आयो कि यो पीडितको पक्षमा भएको भए पीडितले न्याय पाउँथे ।’

उनले यति मात्र भनेनन् ‘पर्सनल अट्याक’ गर्नु गल्ती भएको भन्दै रविले मागे माफीसमेत मागे । सोमबार पत्रकार सम्मेलनमा सम्हालिएका रविले अघिल्लो पत्रकार सम्मेलनमा आफ्नो प्रस्तुत गलत भएको स्वीकार गरे ।

सोमबार पत्रकार सम्मेलनमा रवि लामिछाने, र उनको खातामा डिपोजिट भएको भनिएको रकमबारे बैंक स्टेटमेन्ट

त्योबेला आफूले डा. रामेश कोइराला, धर्म भुसाल, सम्भव सिरोहिया लगायतलाई पर्सनल अट्याक गर्नु आफ्नो गल्ती भएको उनले बताए । ‘अघिल्लो प्रेसमिटमा मैले कतिपय साथीहरूलाई पर्सनल अट्याक पनि गरेको छु आवेगवश,’ उनले भने, ‘त्यसको लागि क्षमा चाहन्छु ।’

साथै उनले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने रास्वपा सभापति लामिछानेले आफू जिम्मेवार ढङ्गले प्रस्तुत हुन चाहेको बताए । उनले अगाडि भने, ‘त्यस्तो आज पनि हुन्न, भविष्यमा पनि त्यस ढङ्गले प्रस्तुत हुने विचार गरेको छैन ।’

रविले ग्यालेक्सी टीभी छाड्दा आफ्नो नाममा १ करोड ८० लाख रुपैयाँ आफ्नो निजी खातामा नआएको दाबी गरे । सम्बन्धित कम्पनीले चेक दिए पनि खातामा पैसा जम्मा नभएको उनले बताए ।

१ करोड ८० लाखबारे रवि लामिछाने : जम्मा गर्नेसँग पैसा नभएपछि मेरो खातामा जम्मा भएन

बैंकको पत्र पढेर सुनाएका उनले बैंक क्लियरेन्समा पैसा नआए पनि कम्पनी रजिस्ट्रार कार्यालयमा स्लिप गएको उनले दाबी गरे । ‘१ करोड ८० लाखको चेक डिपोजिट नभएको भन्दिनँ, तर घण्टी बजेन,’ रविले भने ।

पत्रकार सम्मेलनमा उपस्थित रास्वपा नेता एवं पूर्व बैंकर अनिल केशरी शाहले रविको नाममा चेक डिपोजिट गरिए पनि खातामा पैसा जम्मा नभएको बताए ।

रविले सहकारी पीडितहरूलाई आफूले भेटेर लडाइँमा उनीहरू हारे पनि आफू नहार्ने भन्दै ढाडस दिएको बताए । साथै उनले जिबी राईलाई सहकारीका बचत कर्ताको रकम फिर्ता गर्न आग्रह गरेका छन् ।

‘जिबी राईजी तपाईं जहाँ, संसारको जुन कुनामा हुनुहुन्छ, मकै पोलेर भारी बोकेर जम्मा गरेका छन्, तिनको बचत जस्ताको तस्तै ब्याजसहित फिर्ता गरिदिनुहोस्, सरकारसँग सहकार्य गर्नुहोस्, सार्वजनिक हुनुहोस्,’ उनले भने ।

सरकारले जिबी राई र उनका साथीहरूलाई किन समातेको भन्दै प्रश्न गरे । ‘सरकारको यो जिम्मेवारी हो । हामी सरकारमा पनि छैनौँ हामीसँग त्यो क्षमता पनि छैन,’ उनले भने ।

एक करोड ८० लाख लिएको प्रमाण सार्वजनिक भएपछि रवि पुगे ग्लोबल बैंकको कार्यालय


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved