संसदीय समितिले बोलायो स्वास्थ्य मन्त्री, प्रगति विवरण माग

नेपालभ्युज

संसदीय समितिले बोलायो स्वास्थ्य मन्त्री, प्रगति विवरण माग

काठमाडौं । संसदीय समितिले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसँग छलफल गर्ने भएको छ ।

सोमबार सिंहदरबारमा बसेको संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले स्वास्थ्य मन्त्रालयको चालु आर्थिक वर्षको प्रगति विवरणबारे स्वास्थ्य मन्त्री बस्नेतसँग छलफल गर्ने निर्णय गरेको हो ।

सोमबार बोलाइएको बैठकमा मन्त्रालयका गतिविधिबारे मन्त्रालयका अधिकारीहरूले दिएको प्रस्तुति चित्तबुझ्दो नभएपछि त्यसबारे विस्तृत छलफल गर्न स्वास्थ्य मन्त्री बस्नेतलाई नै बोलाउने निर्णय गरिएको पनि समितिका सभापति भानुभक्त जोशीले जानकारी दिए ।

त्यसै गरी बैठकले चालु आर्थिक वर्षको हालसम्मको प्रगति विवरण लिखित रूपमा समितिमा बुझाउन पनि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।

‘हामीले एउटा कुरा त मन्त्रीज्यूलाई ल्याएर पूर्ण बैठक बस्नका लागि तयारी गर्ने भन्ने विषयमा सहमति गर्‍यौँ । दोस्रो भनेको अहिलेसम्म भएको कामको प्रगतिहरूको बारेमा लिखित ढंगले प्रतिवेदन पठाउनका लागि निर्देशन दिने भन्यौँ’, सभापति जोशी भन्छन्, ‘तेस्रो भनेको स्वास्थ्यसँग आबद्ध भएको स्वायत्त निकायहरू खास गरी बिमा बोर्ड राष्ट्रिय चिकित्सा शिक्षा आयोग लगायतका निकायहरूसँग पनि छुट्टाछुट्टै हामीले बैठक गर्ने भन्ने तेस्रो निर्णय गर्‍यौँ ।’

समितिले स्वास्थ्य क्षेत्रमा देखिएको समस्याहरूको पहिचान गर्नका लागि सम्बन्धित स्वायत्त निकायहरू राष्ट्रिय चिकित्सा शिक्षा आयोग, बिमा बोर्ड लगायतसँग पनि छुट्टछुट्टै छलफल गर्ने निर्णय गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved