माओवादी नेताको दाबी : देव गुरुङले भूकम्पपीडितको राहतमा भ्रष्टाचार गरे (पत्रसहित)

भूकम्प प्रभावितका लागि चिनियाँ कम्युनिस्ट पार्टीले पठाएको राहत सामग्रीमा महासचिव गुरुङले आफ्ना नातेदारसँग मिलेर भ्रष्टाचार गरेको केसीले आरोप लगाएका छन् ।

नेपालभ्युज

माओवादी नेताको दाबी : देव गुरुङले भूकम्पपीडितको राहतमा भ्रष्टाचार गरे (पत्रसहित)

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई रुकुम जाजरकोट भूकम्प पीडितका लागि चीन सरकारले सहयोग गरेको राहत सामग्रीमा भ्रष्टाचार गरेको आरोप लागेको छ । माओवादी केन्द्रकै वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसी (सन्देश) ले यस्तो आरोप लगाएका हुन् ।

भूकम्प प्रभावितका लागि चिनियाँ कम्युनिस्ट पार्टीले पठाएको राहत सामग्रीमा महासचिव गुरुङले आफ्ना नातेदारसँग मिलेर भ्रष्टाचार गरेको केसीले आरोप लगाएका छन् ।

केसीले राहत सामग्रीमा करोडौँ रकम अनियमितता गरेको आरोप लगाउँदै पार्टी र सरकारले यस विषयमा छानबिन गर्नुपर्ने माग गरेका हुन् ।
रुकुम पश्चिमका राहत लिएर पुगेकी चिनियाँ अधिकारीमाथि हातपात भएको थियो ।

जाजरकोट र रुकुमपश्चिममा भूकम्प प्रभावितलाई वितरणका लागि राहत सामग्री लिएर पुगेको चिनियाँ संस्था ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ की मुख्य निर्देशक सोउ सिच्याङमाथि गत २० मंसिरमा जाजरकोटको भेरी नगरपालिकाको रिम्नामा हातपात भएको थियो ।

सो घटनामा केसीमाथि गत २८ पुसमा बसेको पार्टी स्थायी समिति बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरणको जवाफ लेख्दै केसीले महासचिव गुरुङमाथि उल्टै अनियमितताको आरोप लगाउँदै छानबिनको माग गरेका हुन् ।

केसीले पार्टीलाई लेखेको स्पष्टीकरणमा उल्लेख गरेका छन्, ‘‘मुक्ति मरासिनी देव गुरुङको सहोदर भदैनीको लोग्ने भएको र यी एकाघरका नातेदार रहेको तथा देव गुरुङले नै भनसुन गरी चिनियाँहरूको प्रोजेक्ट मरासिनीको संस्थालाई दिलाएको तथा यसको भ्रष्टाचारबाट हुने आम्दानीमा यी दुवै हिस्सेदार रहेको बारेमा पार्टी र सरकारले गम्भीरतापूर्वक छानबिन गरोस् ।’’

ललितपुरको बखुण्डोलमा कार्यालय रहेको ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ले राहत सामग्रीका लागि प्रत्यक्ष सहयोग गरेको थियो ।

केसीले महासचिव गुरुङका नातेदार भनेर दाबी गरेका मरासिनीको ‘ग्लोबल कोअपरेसन फर डेभलपमेन्ट’ नामक संस्थाले उक्त राहत सामग्री वितरणको जिम्मा लिएको थियो । उक्त राहत सामग्री जाजरकोटको भेरी नगरपालिका– १ रिम्नास्थित केसीकै घरमा थन्क्याइएको थियो ।
आक्रमणको घटनामा आफ्नो संलग्नता रहेको भने केसीले स्विकारेका छन् ।

आफूले राहत वितरणमा अनियमितता भएको कुरा उठाएपछि आफूमाथि प्रहार भएको उनको आरोप छ । ‘‘एक परिवारलाई ४० हजारका दरले सामान दिने भनिएको थियो, पछि देव गुरुङले नै रुकुम पश्चिम पुगेर प्रति परिवार २३ हजार हाराहारीको राहत छ भन्नुभएको थियो, तर तल वितरण गरिएको सामान हेर्दा १० हजारको पनि देखिन्न, माधव नेपालले रुकुम पश्चिम पुगेर राहतमा सोलार समेत रहेको भन्नु भएको थियो त्यो पनि दिइएको छैन, ७५ प्रतिशत ठूला र बाँकी रहेको २५ प्रतिशत पनि तलकाले खाएका छन्, आठबिसकोटमा भूकम्प प्रभावितले केही पनि पाएनन्, यही विषयमा प्रश्न गर्दा मलाई कारबाही गर्न खोजियो’’ उनले भनेका छन् ।

नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसी पनि आफूविरुद्ध लागेको केसीको आरोप छ । आठबिसकोट नगरपालिकाका लागि भनिएको दुई सय पिस राहत प्याकेज अध्यक्ष केसीले लुटेर सानीभेरीमा लिएको केसीले आरोप लगाएका छन् ।

आफूले राहत प्याकेजको गुणस्तरीयता र मात्रामा प्रश्न उठाएपछि चिनियाँ महिलासँग जाजरकोटको रिम्नामा रहेको आफ्नो घरमा सामान्य विवाद भएको र पछि उक्त महिलाले नै आफूमाथि दुर्व्यवहार गर्न खोजेपछि घटना घटेको स्पष्ट पारेका छन् ।

९ करोड बढीको सामान हुनुपर्नेमा १ करोड रुपैयाँ पनि नबाढेको आरोप छ । केसीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले दिएको जानकारीअनुसार ५० लाख युआनको सहयोग नेपाली रुपैयाँ ९ करोड २० लाख बराबरको हुने उल्लेख गरेका छन् ।

त्यसलाई चारवटा राजनीतिक दलबीच भागबण्डा गर्दा प्रतिपरिवार चालिस हजार रुपैयाँको प्याकेज हुनुपर्नेमा १० हजार मूल्य बराबरको राहत पनि नपुगेको उल्लेख गरेका छन् ।

 

पार्टीले सोधेको स्पष्टीकरणमा केसीको जवाफ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved