नेपाल टेलिकमका सेयर धनीले प्रतिशेयर ४० रुपैयाँ पाउने

नेपालभ्युज

नेपाल टेलिकमका सेयर धनीले प्रतिशेयर ४० रुपैयाँ पाउने

काठमाडौं । नेपाल टेलिकमका सेयर धनीले प्रतिशेयर ४० रुपैयाँ पाउने भएका छन् । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सोह्रौँ वार्षिक साधारण सभाबाट सेयर धनीहरूलाई प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने भएको हो ।

आइतबार राष्ट्रिय सभा गृहमा सम्पन्न भएको साधारण सभाले आर्थिक वर्ष २०७९।८० को मुनाफा रकम मध्येबाट सो लाभांश वितरण गरिनेछ । साधारण सभामा करिब ९२ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने सेयर धनीहरूको उपस्थिति रहेको थियो ।

उक्त सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखा परीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

यसै गरी साधारण सभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखा परीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०८०/८१ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्टद्वय नरेन्द्र भट्टराई र महेश कुमार गुरागाईलाई लेखा परीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत तोकेको छ ।

त्यसै गरी सञ्चालक समितिमा सर्वसाधारण सेयर धनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको रूपमा मनिषजङ्ग जोशी निर्विरोध निर्वाचित भएका छन् ।

साधारण सभामा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले साधारण सभामा उपस्थित सेयर धनीहरूलाई स्वागत गर्दै कम्पनीको सोह्रौँ वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

प्रतिवेदन प्रस्तुत गर्दै उनले यस क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाको वातावरणमा मुनाफाभन्दा सेवा बिस्तारलाई उच्च प्राथमिकतामा राखी भौगोलिक रूपले अति विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने नेपाल सरकारको अवधारणाको कार्यान्वयनमा सहयोग गर्ने, विद्युतीय सुशासनको क्षेत्रमा थप सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण गरी सेवाको विस्तार तथा गुणस्तर अभिवृद्धिका लागि कम्पनीले आफ्ना कार्यक्रमहरू परिलक्षित गरिरहेको बताए ।

समीक्षा अवधिमा कम्पनीको भ्वाइस सेवा तर्फको बजार हिस्सा ७.८२ प्रतिशतले वृद्धि भई ६१.५१ प्रतिशत पुगेको उल्लेख गर्दै अध्यक्ष सुवेदीले भने, ‘आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताकाबीच कम्पनीले कुल रु ४४.४२ अर्ब आम्दानी गरी रु ७.९२ अर्ब मुनाफा आर्जन गर्न सफल भएको छ । समीक्षा अवधिमा कम्पनीले कर तथा शुल्क बापत कुल आयको ६४.०७ प्रतिशतले हुन आउने रु २८.४६ अर्ब राजस्वको रूपमा बुझाइ राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याएको छ ।’

सूचना प्रविधिलाई थप गुणस्तरीय तथा प्रभावकारी बनाउन कम्पनीले फोरजी एलटीई प्रविधिमा आधारित भोल्टीसेवा तथा एफटीटीएच सेवा बिस्तार, आवश्यक पूर्वाधार निर्माण र स्तरोन्नति तथा वितरणलाई निरन्तरता दिँदै परियोजना सफलतापूर्वक सम्पन्न हुने दिशामा अगाडि बढेको उनले बताए ।

यी सबैको परिणामस्वरुप समीक्षा अवधिको अन्त्यसम्ममा देशका ७७ वटै जिल्लाका अधिकांश स्थानीय निकायहरूमा अत्याधुनिक दूरसञ्चार सेवाको पहुँच बिस्तार भएको उनको दाबी छ ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष सुवेदीले अगाडि भने, ‘देशभर फोरजी-एलटीई तथा एफटीटीएच सेवा बिस्तारका लागि व्याकबोन नेटवर्कको स्तरोन्नति गरिएको छ । प्राविधिक तथा भौगोलिक दृष्टिकोणबाट सम्भव भएका स्थानहरूमा भूमिगत तथा एडीएसएस अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण कार्यलाई तीव्रता दिइएको छ । अप्टिकल फाइबर नेटवर्क बिस्तार गर्न नसकिने स्थानहरूमा माइक्रोवेभ रेडियो लिंक तथा स्याटेलाइट लिकमार्फत सेवा उपलब्ध गराइने र  विद्युत् आपूर्ति उपलब्ध नभएका स्थानमा सोलार पावर प्रणाली जडानमा विशेष जोड दिइएको छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved