खोटाङबाट ३६ करोड भन्दा बढिको सुन्तला निर्यात

नेपालभ्युज

खोटाङबाट ३६ करोड भन्दा बढिको सुन्तला निर्यात

काठमाडौं । दशवटा स्थानीय तह रहेको खोटाङबाट यस वर्ष ३६ करोड ३५ लाख रुपैयाँभन्दा बढीको सुन्तला निर्यात भएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको आठ सय १० हेक्टर क्षेत्रफल जमिनमा सुन्तलाखेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लामा यस वर्ष तीन हजार सात सय ३५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

यस वर्ष सबैभन्दा बढी जन्तेढुङ्गा गाउँपालिकामा सुन्तला उत्पादन भएको छ । “जिल्लामा अहिले सात सय ४२ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाले उत्पादन दिन थालेको छ ।

गत वर्षको तुलनामा यस वर्ष दश मेट्रिक टन बढी उत्पादन भएको देखिन्छ”, केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले भने , “आगामी वर्ष थप वृद्धि हुँदै जाने अनुमान छ । किसानले उत्पादन गरेका सुन्तलाले राम्रो बजार पाएसँगै व्यावसायिकरूपमा खेती गर्नेको संख्या पनि बढ्दै गएको छ ।”

जन्तेढुङ्गा –६ दिप्लुङबाट मात्रै यस वर्ष रु एक करोडभन्दा बढीको सुन्तला निर्यात भएको स्थानीय बासिन्दा जगत राईले बताए । “हाम्रो वडाको फगतपुर, चोभे, सातमारा, केराबारीलगायतका ठाउँमा सबैभन्दा बढी सुन्तला उत्पादन हुन्छ ।

यस वर्ष रु एक करोडभन्दा बढीको निर्यात गरेका छौँ”, उनले भने , “कसैले आफैँले बजारसम्म पुर्याएर बिक्री गरे भने, कसैको बगानमै ठेकेदार आएर खरिद गरेका छन् । मैलेचाहिँ आफैँले सुनसरीको इटहरी र उदयपुरको बेल्टार, सप्तरीको फत्तेपुरलगायतका बजार पुर्याएर ६ लाख रुपैयाँको बेचेँ ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा–५ चिसापानीस्थित घोर्ले भन्ने एउटै गाउँबाट एक करोड बढीको सुन्तला निर्यात भएको स्थानीय किसानले बताएका छन् ।
आफूले उत्पादन गरेको सुन्तला दिक्तेल बजार र गाईघाटमा प्रतिकेजी एक सय १० देखि एक सय ३० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

जिल्लामा उत्पादित सुन्तला स्वादिलो र रसिलो हुने भएकाले बजारको समस्या नभएको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताए । सुन्तलाबाट राम्रो आम्दानी हुने भएपछि धेरै किसानले व्यावसायिकरूपमा सुन्तलाखेती गर्न थालेका छन् ।

जिल्लाका हरेक स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रमा सुन्तलाखेती विस्तार तथा प्रवर्द्धनका कार्यक्रम बनाएर लागू गरेका छन् ।
रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved