‘भ्रष्टाचारबाट पार्टीलाई जोगाऔँ’ भन्ने नारा ब्यानरबाट किन हटायो कांग्रेसले ?

‘भ्रष्टाचारबाट पार्टीलाई जोगाऔँ’ भन्ने नारा ब्यानरमा देखिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा मञ्चमा बस्न मानेनन् । उनी फनफनिए ।

नेपालभ्युज

‘भ्रष्टाचारबाट पार्टीलाई जोगाऔँ’ भन्ने नारा ब्यानरबाट किन हटायो कांग्रेसले ?

काठमाडौं । ‘भ्रष्टाचारबाट पार्टीलाई जोगाऔँ’ भन्ने नारा ब्यानरमा देखिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा मञ्चमा बस्न मानेनन् । उनी फनफनिए ।

तत्काल अर्को ब्यानर बनाएर कार्यक्रम सुरू गर्न सकिने अवस्था थिएन । सभापति नै मञ्चमा बस्न नमानेपछि आयोजकलाई तनाव भयो । आइडिया निकाले; ‘भ्रष्टाचारबाट पार्टीलाई जोगाऔँ’ भन्ने नारालाई मात्र सेतो टेप लगाएर छोपिदिने ।’

अन्तमा त्यही गरियो । सभापति शेरबहादुर देउवा मञ्चमा उक्लन तयार भए । कार्यक्रम सुरू भयो । घटना मंगलबार नेपाली कांग्रेसको गण्डकी प्रदेश सम्मेलनको हो ।

जहाँ सभापति देउवाको निर्देशनपछि कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनमा टाँगिएको ब्यानरमा लेखिएको वाक्य नै हटाइयो ।

सम्मेलनको ब्यानरमा ‘विरासतको रक्षा गरौँ, नेपाली कांग्रेस बचाऔँ’, र ‘इमान भएकाहरूलाई जिम्मेवारीमा राखौँ, भ्रष्टाचारबाट पार्टीलाई बचाऔँ, कांग्रेस चरित्र पुनःस्थापित गरौँ’ मुख्य नारा ब्यानरमै राखिएको थियो ।

देउवा पोखरा आइपुगेपछि कार्यक्रम स्थल पोखरा सभागृह गए । ब्यानरमा लेखिएको नारा देखेपछि प्रदेश सभापति शुक्रराज शर्मासँग रिसाए ।

कांग्रेस गण्डकीका एक पदाधिकारीकाअनुसार ब्यानरमा ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔँ’ भन्ने वाक्य किन राखेको भन्दै देउवाले आपत्ति जनाएका थिए । त्यो नहटाएसम्म ब्यानरमुनी आफू नबस्ने उनले अडान लिएका ती पदाधिकारीले बताए ।

भर्खरै कांग्रेस नेता बालकृष्ण खाण भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छुटेका बेला त्यो वाक्यले पार्टीमाथि प्रश्न उठ्न सक्ने भन्दै देउवाले हटाउन निर्देशन दिएको हुनसक्ने आशंका छ ।

नाराका विषयमा देउवा र प्रदेश सभापति शुक्रराज शर्माबीच भनाभन नै भएको थियो । कार्यक्रम सुरू भइसक्नुपर्ने बेलासम्म पनि देउवा र शर्माबीच नाराका विषयमा विवाद भएको थियो ।

देउवाको निर्देशनपछि कार्यक्रम सुरू हुनुभन्दा केही मिनेट अगाडि मात्र ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔँ’ भन्ने वाक्यमा हरियो टेप टाँसेर कार्यक्रम सुरु भएको हो ।

यता कांग्रेस गण्डकीले भने वाक्यांश अशुद्ध भएको भन्दै मेटिएको भन्दै बचाउ गरेको छ ।

कांग्रेस गण्डकीका महामन्त्री विष्णु लामिछानेले भने, “ब्यानरका नारामा अशुद्ध लेखिएकाले हटाइएको हो । यसबारे यथार्थ मैले नै पनि पत्ता लगाइसकेको छैन ।”

उनले त्यसो भने पनि ‘भ्रष्टाचारबाट पार्टीलाई जोगाऔँ’ भनिएका शब्द शुद्ध लेखिएका थिए ।

निर्वाचित भएको दुई वर्षपछि कांग्रेस गण्डकीको प्रथम सम्मेलन भएको हो । पोखरा सभागृहमा २ दिनसम्म चल्ने सम्मेलनमा राजनीतिक, साङ्गठनिक, आर्थिकलगायतका प्रतिवेदनमाथि छलफल हुनेछ । कांग्रेसको प्रथम सम्मेलनको ब्यानर सोमबार राति नै तयार गरिएको थियो ।

अहिले कार्यक्रम चलिरहेको छ । टेप लगाएर मेटिएको ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔँ’ भन्ने वाक्यांश मेटाइएको ब्यानरमुनि सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायतका नेताहरू बसेका छन् ।

प्रदेश सभापति शुक्रराज शर्माले निरन्तर पार्टीको केन्द्रीय समितिविरुद्ध प्रहार गर्दै आएका छन् ।

उनले विगतमा प्रदेश सभापतिहरूलाई केन्द्रीय सदस्यको हैसियत दिनुपर्नेसमेत माग गरेका थिए । अहिले प्रदेश सभापतिहरूलाई पनि आमन्त्रित सदस्य बनाइएको छ । नेतृत्वको आलोचना गर्दैआएका उनले व्यङ्ग्यस्वरूप नारा बनाएका बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved