२५ जोडी वरवधूको निःशुल्क विवाह

नेपालभ्युज

२५ जोडी वरवधूको निःशुल्क विवाह

महेन्द्रनगर । विश्व हिन्दू परिषद्ले सोमबार जनकपुरधाममा २५ जोडी वरवधूको निःशुल्क विवाह गराएको छ ।

परिषद् अध्यक्ष सन्तोष साहको सक्रियतामा जनकपुरधामको जानकी मन्दिरमा शुभ विवाहको कार्यक्रम आयोजना गरिएको हो । भगवान् श्रीराम तथा माता सीताको शुभ विवाह भएको अवसर पारेर जनकपुरधाममा सामूहिक निःशुल्क विवाहको आयोजना गरिएको परिषद्का केन्द्रीय सदस्य डा मनोहर साहले बताए ।

सामूहिक शुभ विवाहका लागि लगन आवश्यक नभएको कारणले शुभ विवाहको आयोजना गरेको पनि परिषद्का केन्द्रीय सदस्य साह बताउछन् ।

विवाहमा बेहुला तथा बेहुलीका लागि आवश्यक पर्ने कपडा, एक थान पोतेसहितका आवश्यक पर्ने सबै सामग्री परिषद्ले निःशुल्क रुपमा उपलब्ध गराएको थियो । विवाहलाई कम खर्चिलो तथा ऐतिहासिक बनाउन निःशुल्क विवाहका लागि गरिब तथा विपन्न वर्गका बेहुलाबेहुलीको छनौट गरिएको केन्द्रीय सदस्य साहले बताए ।

विवाहमा आउने जन्ती तथा परिवारलाई भोजन तथा आवासको व्यवस्थापन कलवार धर्मशालामा परिषद्ले नै गरेको छ । विगत पाँच वर्षदेखि विश्व हिन्दू परिषद्ले सामूहिक विवाहको आयोजना गर्दै आएको छ । यसले विवाहमा हुने भड्किलो खर्चमा कमी आउनाका साथै अर्थका कारणले विवाह हुन नसकेकालाई राहत मिल्ने गरेको विवाहमा आएका बेहुली पक्षका आफन्तहरुले बताएका छन् ।

विश्व हिन्दू परिषद् नेपालले विगत चार वर्षदेखि जनकपुरधाममा विवाह पञ्चमीको भोलिपल्ट सामूहिक विवाह कार्यक्रम गर्दै आएको छ । विवाहका नाममा लिने दाइजो (दहेज) प्रथालाई चुनौती दिँदै ती जोडीहरुलाई आदर्श विवाह गरिएको हो । प्रत्येक जोडीका लागि छुटाछुट्टै मण्डप अर्थात् मडबा बेदी बनाइएको जिल्ला अध्यक्ष सन्तोष साहले बताए । सामूहिक विवाहका लागि जनकपुरका सहयोगी हातहरुले सहयोग गरेका छन् ।

आयोजकले विवाहपूर्व झाँकी पनि निकालेर नगर परिक्रमा गरेको थियो । जनकपुरधाम रामसीताको विवाहस्थल भएकाले वैवाहिक संस्कार विकास गर्न र देश विदेशबाट यहाँ व्यक्तिहरू विवाहका लागि आउने वातावरण तयार गर्न नै परिषद्ले सनातन परम्पराको सामूहिक विकास हेतु सामूहिक विवाहको कार्यक्रम आयोजना गरेको केन्द्रीय सदस्य डा मनोहर साहले बताए । गरिब र असहायलाई विवाहमा लाग्ने भारी खर्चबाट पनि जोगाउनु सबैभन्दा ठूलो दान कन्यादानको अवसर सबैले पाऊँन् भन्ने वातारणको तयारी लागि पनि यो अवसर उपयुक्त हुन्छ भनेर नै यो सामूहिक विवाह उत्सव अवसरका रुपमा रहेकोे केन्द्रीय सदस्य साहले बताए ।

सोमाबार बिहान कलवार कुट्टीमा वरवधू पक्षलाई भोजनपश्चात् नगर परिक्रमा गराएको थियो । विश्व हिन्दू परिषद् नेपालले गरेको सामूहिक विवाहको आह्वानमा तराई मधेसको विभिन्न जिल्लाका बेहुलाबेहुली पक्षले विवाहका लागि फारम भरेका थिए । कानुनअनुसार बेहुलाबेहुलीको विवाह गर्ने उमेर पुगेको हुनुपर्ने सर्त राखिएकाले २० वर्षमाथिका बेहुलाबेहुलीको अभिभावकले फाराम भरेको थियो । आवेदन फाराममा वर र वधूको उमेर खुल्ने नागरिकता वा जन्मदर्ता संलग्न गरिएको थियो । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved