राष्ट्रियसभा अध्यक्षमा कुन दलबाट कसको दाबी ?

गठबन्धनमा जुटेको प्रारम्भिक सहमतिअनुसार कांग्रेसले मनोनीतसहित १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले ३ र जनता समाजवादीले १ सिट लिनेछन् । यसमाथि अझै छलफल हुने नेताहरूले बताएका छन् ।

नेपालभ्युज

राष्ट्रियसभा अध्यक्षमा कुन दलबाट कसको दाबी ?

काठमाडौं । आउँदो फागुन २० गते २० जना राष्ट्रियसभा सदस्यहरूको पदावधि सकिँदैछ । पदावधि सकिनेहरूमा संवैधानिक प्रावधानअनुरूप राष्ट्रपतिबाट मनोनीत सदस्यसँगै अध्यक्षसमेत छन् ।

अहिले राष्ट्रपतिबाट मनोनीत सदस्यका रूपमा विमला राई पौड्याल छिन्, उनको पदावधि पनि फागुन २० गते नै सकिँदैछ । यस्तै अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पदावधि पनि सोही मितिमा सकिँदैछ । यस्तो अवस्थामा माघ ११ गते १९ सिटका लागि निर्वाचन हुँदैछ, निर्वाचन आयोग त्यसको तीव्र तयारीमा जुटिसकेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका सन्दर्भमा सत्तारूढ गठबन्धनसम्बद्ध दलहरूले छलफलसमेत गरिसकेका छन् । गत सोमबार मात्रै गठबन्धनका शीर्षस्थ नेताहरूबीच यसबारे छलफल भएको थियो ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता साझेदार दलहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरे ।

छलफलका क्रममा कुन दलले कति सिट लिने, अध्यक्ष कसले लिने, राष्ट्रपतिबाट सिफारिस हुने सिट कुन दलले लिनेलगायतका विषयमा छलफल भएको थियो । तर, निष्कर्ष भने निस्केन । प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्ले भने— छलफल प्रारम्भ भएको छ गठबन्धनमा । निष्कर्ष नै चाहिँ निस्केको छैन । अझै निरन्तर छलफल हुन्छ ।

त्यसो त यी सबै दलहरूले आफूलाई अध्यक्ष चाहिने अडान राखेका छन् । संवैधानिक परिषद्को सदस्यसमेत रहने राष्ट्रियसभा अध्यक्ष कसले लिने भन्नेबारे अझै छलफल हुने र मात्रै टुङ्गिने कांग्रेस नेता मीनबहादुर विश्वकर्मा बताउँछन् । “केही चरण छलफल भएका छन्, यो छलफल नै प्रशस्त होइन । अझै छलफल हुन्छ र मात्रै टुङ्गिन्छ,” उनले भने ।

तर, कांग्रेसले अध्यक्ष स्वत: आफूले पाउनुपर्ने बताइरहेको छ । गठबन्धनको सबैभन्दा ठूलो दल भएकाले अध्यक्ष स्वत: कांग्रेसले पाउनुपर्ने नेता रमेश लेखक बताउँछन् । “छलफल हुन बाँकी नै विषय हो,टुङ्गिन बाँकी नै विषय हो । तर, अध्यक्षकै कुरा गर्नुपर्दाचाहिँ कांग्रेसले स्वाभाविकरूपमा अध्यक्ष पाउनुपर्छ,” उनले भने ।

कांग्रेसबाट पूर्वउपसभापति गोपालमान श्रेष्ठ र पूर्वमहामन्त्री कृष्ण सिटौलाले सशक्त दाबी गरेका छन् । उनीहरूले सभापतिदेखि नेताहरूसम्म ‘लबिङ्ग’ थालिसकेका छन् । उनीहरूले सभापति शेरबहादुर देउवादेखि, नेता डा. शेखर कोइराला, महामन्त्री गगनकुमार थापासम्मका नेताहरूको ढोका-ढोका ढुक्न थालेका छन् ।

यस्तै सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रले पनि अध्यक्ष चाहिने बताएको छ । गठबन्धनमा भएको सहमतिअनुसार अब केही समयपछि देउवा प्रधानमन्त्री बन्ने र त्यसबेला संवैधानिक परिषद्‌मा आफूहरूको सहभागिता नरहने भएकाले अध्यक्ष आफूहरूले पाउनुपर्ने दाबी माओवादी नेताहरूको छ ।

“संवैधानिक परिषद्‌मा सहभागिता चाहिन्छ सबै दलबाट । अब केही समयपछि देउवाजी प्रधानमन्त्री बन्दा राष्ट्रियसभा अध्यक्ष हामीले नै पाउनुपर्छ । त्यसो हुँदा संवैधानिक परिषद्‌मा हाम्रो सहभागिता हुन्छ,” एक माओवादी नेताले नेपालभ्यूजसँग भने ।

अहिले माओवादीबाट उर्मिला अर्याल उपाध्यक्ष छन् । माओवादीले उपाध्यक्ष छाडेर अध्यक्ष लिने नेताहरूको भनाइ छ । त्यस्तो अवस्थामा अर्याललाई नै वा यसअघि नै एक कार्यकाल सदस्यसमेत बनिसकेका रामनारायण बिडारीलाई अघि बढाउनसक्ने बताइन्छ ।

एकीकृत समाजवादीले पनि अध्यक्ष आफूले पाउनुपर्ने बताइरहेको छ । संवैधानिक परिषद्‌मा आफूहरूको उपस्थिति अनिवार्य हुनुपर्ने भन्दै उसले राष्ट्रियसभा अध्यक्ष आफूले पाउनुपर्ने अडान राखेको छ । यसअघि प्रधानमन्त्री प्रचण्डले बोलाएको बैठकमा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले यही बताएका थिए ।

उपमहासचिवसमेत रहेका प्रभाव विभाग प्रमुख जगन्नाथ खतिवडा राष्ट्रियसभा अध्यक्षका बारेमा छलफल हुने तर, आफूहरूले पाउनुपर्ने बताउँछन् । “त्यसमा हाम्रो स्वाभाविक दाबी रहन्छ,” उनले भने । एकीकृत समाजवादीले पाए उपाध्यक्ष प्रमेश हमाल वा अर्का उपाध्यक्ष घनेन्द्र बस्नेतलाई पठाउने सम्भावना बढी छ । पार्टीका नेताहरूले उनीहरूको नाममाथि अनौपचारिक छलफलसमेत गरिरहेका छन् ।

गठबन्धनमा जुटेको प्रारम्भिक सहमतिअनुसार कांग्रेसले मनोनीतसहित १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले ३ र जनता समाजवादीले १ सिट लिनेछन् । यसमाथि अझै छलफल हुने नेताहरूले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved