भ्याटविरुद्ध व्यवसायी आन्दोलित, बजारमा आलु–प्याजको अभाव

नेपालभ्युज

भ्याटविरुद्ध व्यवसायी आन्दोलित, बजारमा आलु–प्याजको अभाव

काठमाडौं । सरकारले आलु र प्याजमा विभिन्न बहाना जोडेर भ्याट लगाएको भन्दै व्यवसायीहरूले आक्रोशित भएका छन् । सरकारले चालु आर्थिक वर्ष २०८०–८१ को बजेटमार्फत अन्य देशबाट आयात गरेको आलु र प्याजमा मात्र भ्याट लाग्ने भने पनि स्वदेशमै उत्पादन गरिएको आलु र प्याजमा पनि भ्याट लगाएको भन्दै व्यवसायीहरू आक्रोशित बनेका हुन् ।

उनीहरूले सरकारको यस कदमप्रति असन्तुष्टि जनाउँदै हडताल समेत गरेका छन् । जसको कारण पछिल्ला दुई, तीनदेखि बजारमा आलु र प्याज नआएको कालीमाटी तरकारी तथा फलफूल विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार कालीमाटी तरकारी बजारमा दुई तीन दिनदेखि आलु र प्याज आएको छैन जसको कारण आलु र प्याजका स्टलहरू खाली हुन थालेका छन् । ‘खै यो के हो, व्यवसायीहरू निकै रिसाएका छन्, भ्याटको कारण आलु र प्याज बजारमा नल्याइएको भन्ने गुनासो सुनेको छु,’ उनले भने ‘अहिले आलु र प्याजका स्टलहरू खाली छन् र होलसेल मूल्यमा आलु र प्याजको बिक्री वितरण भएको छैन ।’

सरकारले स्थानीय स्तरमा उत्पादन भएका आलु र प्याजमा पनि भ्याट लगाउँदा रिसाएका व्यवसायीहरूले बजारमा सो उपभोग्य वस्तु दिन छाडेका छन् । जसको कारण बजारमा आलु र प्याजको हाहाकार हुने जोखिम बढेर आएको छ ।

भ्याटका कारण कारोबार गर्नै नसक्ने अवस्था आएपछि आलु र प्याजको कारोबार बन्द गर्नु परेको आलु प्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेलको भनाई छ । ‘हामीले कारोबार रोकेका होइनौँ केही समयका लागि व्यापार बन्द गरेका हौँ,’ उनले भने ‘आयातित वस्तुमा मात्र नभएर आन्तरिक उत्पादनमै पनि सरकारले भ्याट जोड्न थालेको कारण हामी कारोबार नगर्ने भएका हौँ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved