गोरखाका हिमाली भेगमा हिमपात, खानेपानीका मुहान जम्न थाले

नेपालभ्युज

गोरखाका हिमाली भेगमा हिमपात, खानेपानीका मुहान जम्न थाले

काठमाडौं । उत्तरी गोरखाको सामागाउँलगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । जिल्लाको चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा सोमबारदेखि हिमपात भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।

चुम भ्यालीको चुम्चेत र छेकम्पार तथा नुब्री भ्यालीको ल्हो, प्रोक र सामागाउँलगायतका क्षेत्रमा हिमपात परेको उनले बताए । हिमपात सुरु भएसँगै दैनिक जनजीवन प्रभावित हुन थालेको साम्दोका होटल व्यवसायी निमादोर्जे लामाले बताए ।

हिमपातका कारण गाईवस्तुलाई चराउन र घाँसपातका लागि समेत कठिनाइ हुन थालेको छ । अत्यधिक चिसोका कारण अहिले खानेपानीका मुहानमा पानी जम्न थालेपछि पानीको समेत समस्या भएको छ ।

चिसोले वृद्धवृद्धा र बालबच्चालाई बढी समस्या भएको लामाले बताए । साम्दो गाउँ समुद्री सतहबाट तीन हजार पाँच सय ५० मिटर उचाइमा पर्दछ । उच्च हिमाली क्षेत्र भएका कारण त्यहाँ अन्य क्षेत्रमा भन्दा बढी हिमपात हुने गर्दछ ।

त्यस्तैगरी चुम भ्यालीतर्फको अन्तिम गाउँ निलेमा पनि हिमपात भइरहेको स्थानीयवासी छाङदोर्जे लामाले जानकारी दिए । हिमपातका कारण घरपालुवा पशुवस्तुलाई चरन क्षेत्रमा लैजान समस्या भएको लामाको भनाइ छ ।

हिमपात पर्न सुरु भएसँगै मनास्लु पदमार्गमा जाने स्वदेशी तथा विदेशी पर्यटकलाई समेत समस्या भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved