हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

नेपालभ्युज

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

ढोरपाटन । आज बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

बागलुङ निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो । अहिले पनि हिमपात भइरहँदा सवारी साधन सञ्चालन हुन नसकेको स्थानीय तिलबहादुर घर्तीमगरले बताए ।

आइतबार साँझदेखि वर्षा भए पनि आज बिहानदेखि नै हिमपात भएको घर्तीमगरले जानकारी दिए । हिमपात भएपछि पूर्वी रुकुमदेखि पोखरा काठमाडौँ चल्न सवारी साधन बिहानसम्म हिउँ पन्छाएर यात्रा गरे पनि अहिले पूर्ण रुपमा बन्द भएको उनले बताए । चरनका लागि पातिहाल्ने लगिएका वस्तुभाउ पनि बेंसी झारिएको उनको भनाइ छ ।

ढोरपाटन सिकार आरक्ष क्षेत्र पनि हिमपातले सेताम्य बनेको छ । बिहानदेखि हिमपात हुँदा स्थानीयको जनजीवन कष्टकर भएको छ । वर्षासँगै परेको हिमपातका कारण स्थानीय घरबाट बाहिर निस्किन सकेका छैनन् । ढोरपाटन उपत्यकासहित माथिल्लो क्षेत्र पूरै हिउँले ढाकिएको स्थानीय होटल व्यवसायी गङ्गाबहादुर भण्डारीले जानकारी दिए । लामो समयपछि वर्षासँगै हिमपात हुँदा किसान भने हर्षित भएका छन् ।

खेतबारीमा लगाको गहुँ, जौ र तोरी सुक्न थालेपछि चिन्तित बनेका किसानलाई यो बेलाको वर्षाले राहत दिएको भण्डारीको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved