सरकार र निजी क्षेत्रबाट यूएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

नेपालभ्युज

सरकार र निजी क्षेत्रबाट यूएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा आर्थिक वृद्धिका लागि नीतिगत सुधार भइरहेकाले लगानी बढाउन संयुक्त अरब इमिरेट्स–युएईका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ र दुुबई चेम्बरद्वारा संयुक्त रुपमा बिहीबार दुबईमा आयोजना गरिएको नेपाल यूएई बिजनेस फोरमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाललाई लगानी गन्तव्य बनाउन आग्रह गरेका हुन् । सम्मेलन यूएईस्थित नेपाली राजदूतावासको सहयोगमा आयोजना गरिएको थियो ।

सो अवसरमा युएईका अर्थ राज्यमन्त्री अब्दुल्लाह अहमद एल सलेहले नेपालको ऊर्जा तथा पर्यटन क्षेत्रमा लगानी बढाउन सकिने बताए ।

उनले नेपाल र यूएईबीच सुमधुर सम्बन्ध रहेकोले व्यवसायिक सम्बन्ध पनि बलियो बनाउदै लैजान तयार रहेको विश्वास दिलाए ।

सोही फोरमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि युएईका लगानीकर्ताहरूलाई नेपालमा लगानी बढाउन तथा नयां लगानीका अवसर छोप्न आग्रह गरे ।

अध्यक्ष ढकालले नेपालको अर्थतन्त्रमा देखिएको सुधारले लगानीकर्ताहरूलाई नयां अवसरहरू सृजना भएको बताए ।
युएईका लगानीकर्ताहरूलाई होटल, केबलकार, थिम पार्क र हिल स्टेसन लगायतका पर्यटन पूर्वाधारमा लगानी साझेदारीका लागि समेत उनले आग्रह गरे ।

दुबई चेम्वरका अध्यक्ष तथा कार्यकारी प्रमुख मोहमद लूताहले महासंघको सहकार्यमा सम्मेलन आयोजना गर्नु सुखद भएको बताए । साथै आगामी दिनमा पनि लगानी व्यापार विस्तार गर्न महासंघसंग सहकार्य गरिने बताए ।

महासंघको लगानी तथा अन्तर्राष्ट्रिय सम्बन्ध फोरमका सभापति मनोज पौडेलले नेपालमा लगानी सम्भावना बारे प्रस्तुति गरे । महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले धन्यवाद ज्ञापन गरे । दुबईमा आयोजित नेपाल युएई बिजनेस फोरममा दुई देशका लगानीकर्ताहरूको उपस्थिति रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved