स्वीडेनलाई नेटोमा सामेल हुन दिन टर्कीसँग नेटो प्रमुखको आग्रह

नेपालभ्युज

स्वीडेनलाई नेटोमा सामेल हुन दिन टर्कीसँग नेटो प्रमुखको आग्रह
Getty Images

ब्रसेल्स । नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले टर्कीले स्वीडेनको सदस्यताका लागि रोकिएको प्रस्तावलाई यथाशीघ्र अनुमोदन गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘स्वीडेनले आफूले गरेको वाचा पूरा गरेको छ र अब टर्कीले सामेल प्रक्रियालाई अन्तिम रूप दिने समय आएको छ ।’

टर्की र हङ्गेरी नेटोका एक मात्र सदस्य राष्ट्र हुन्, जसले सदस्यताका लागि आवेदन दिएको १८ महिनाभन्दा बढी भइसक्दा पनि स्वीडेनलाई गठबन्धनमा सामेल हुन अनुमोदन गरेका छैनन् ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले जुलाईमा नेटो शिखर सम्मेलनमा भएको सम्झौतापछि प्रक्रिया सुरु गरेपछि टर्कीको संसदले स्वीडेनको सदस्यताको प्रयासमाथि बहस गर्न यसै महिना सुरु गरेको थियो ।

नेटोका अन्य २९ सहयोगी राष्ट्रले यसै साता ब्रसेल्समा भएको विदेशमन्त्रीहरूको बैठकमा स्वीडेनलाई औपचारिक रूपमा गठबन्धनमा स्वागत गर्न सक्षम हुने विश्वास गरेका थिए ।

तर यो प्रक्रिया अझै पनि टर्कीको संसदको समिति स्तरमा छ ।

‘म अनुमोदन प्रक्रियामा थप गति हेर्न चाहन्छु, यो कुनै रहस्य होइन’, स्टोल्टेनबर्गले भने, ‘यसका लागि मैले धेरै पटक संवाद गरेको छु, म चाहन्छु उनीहरूले यसलाई अन्तिम रूप दिऊन् ।’

अर्को एक प्रसङ्गमा उनले युक्रेनले अझै पनि रूसलाई ठूलो क्षति पुर्‍याइरहेको बताएका छन् ।

स्टोल्टेनबर्गले भने, ‘निःसन्देह हामी चाहन्छौं उनीहरूले जतिसक्दो चाँडो धेरै भूभाग लाई मुक्त गरुन्, तर फ्रन्टलाइन नहटे पनि युक्रेनीहरूले रूसी आक्रमणकारीहरूलाई ठूलो क्षति पुर्‍याउन सक्षम भएका छन् ।’ एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved