दुर्लभ रेडपाण्डाको तस्वीर खिच्न १६ वर्षीय फोटोग्राफरको पहिलो यात्रा

नेपालभ्युज

दुर्लभ रेडपाण्डाको तस्वीर खिच्न १६ वर्षीय फोटोग्राफरको पहिलो यात्रा

काठमाडौं ।
नाम–दिपतान्शु श्रेष्ठ
उमेर–१६
शिक्षा– प्लस टु (अध्ययनरत)
रुची– फोटोग्राफी

उमेरको गणितले १६ टेकेका दिपतान्शु आफ्नो वाईल्ड लाइफ फोटोग्राफी गर्ने बुवा दशरथ श्रेष्ठबाट प्रभावित छन् । त्यसैले त उनी बुवासँगै क्यामेरा बोकेर निस्कन्छन् अनि विभिन्न वस्तुहरुतिर लेन्स सोझ्याएर क्लिक गरिहाल्छन् ।

हो, उनी बुवाको कलालाई सम्मान गर्दै त्यही कामलाई पछ्याइरहेका छन् । रिलायन्स इन्टरनेसनल कलेजमा कक्षा ११ मा अध्ययनरत दिपतान्शुु फुर्सदको समयमा बुवा दशरथसँग काठमाडौँ उपत्यकाका गोदावरी, फूलचोकी, टौदह, शिवपुरीलगायत क्षेत्रमा वाईल्ड लाइफ फोटोग्राफीको लागि जाने गर्दछन् । सुरुमा चराहरुको फोटो खिच्न सुरु गरेको दिनतान्शु बुवाकै कलाबाट प्रभावित भएर आफू फोटोग्राफीमा लागेको बताउँछन् ।

गएको दसैंमा बिदाको समय सदुपयोग गर्दै बुवा र बुवाका साथीहरुसँग उनी ईलाम जिल्लाको जमुना इङ्ग्लामा पुगे । त्यहाँ जानुको एउटै कारण थियो रेडपाण्डाको तस्वीर लिनु । तर, एक् हप्ताको बसाईमा पनि त्यहाँ रेडपाण्डा देखिएनन् । उनले त्यहाँ नयाँ–नयाँ चराहरुको तस्वीर खिचे ।

‘ईलामको मेरो यात्रा वाईल्ड लाइफ फोटोग्राफीको पहिलो यात्रा थियो,’ उनी भन्छन्, ‘बाबा र अगस्ट रस सिंह लामा दाइले त गत वर्ष पनि इलामको उक्त क्षेत्रमा ५ दिनको बसाईमा अन्तिम दिन मात्र रेड पाण्डा भेट्नु भएको थियो।’ तर त्यतिबेला खराब मौसम र पानी परिरहेको समयमा लिएको तस्विर राम्रो नआएको कारणले नै पुन ईलाममा जाने निधो गर्नु भएकाले इलाम पुगेको उनले सुनाए ।

दिपतान्शुका लागि वाईल्ड लाइफ फोटोग्राफीकै लागि भनेर क्यामेरा बोकेर काठमाडौँ उपत्यका बाहिर बाबासँग गएको पहिला यात्रा हो इलाम । ५ दिनको बसाईमा पाण्डाको तस्वीर लिन नपाए पनि अरु सिनियर वाईल्ड लाइफ फोटोग्राफर अगष्ट रस सिंह लामा ,अमर राज लिम्बु , निसान शर्मालगायतबाट वाईल्ड लाइफ फोटोग्राफी बारे धेरै कुराहरु सिक्न बुझ्न पाएको उनी सुनाउँछन् ।

इलाममा रेडपाण्डालाई क्यामेरामा कैद गर्न नपाएपछि उनी निरास बने तर हार खाएनन् ।

रेडपाण्डा खिच्ने इच्छाको हुटहुटीले भने उनलाई झस्काइरहेको थियो । अर्काे अवसर जुट्यो सिन्धुपाल्चोकको हेलम्बु जाने ।

ईलाम यात्रा लगत्तै पाण्डाका लागि हेलम्बुको यात्रा गर्ने भनेर अगष्ट रस सिंह लामा, अमर राज लिम्बु दाईहरुसँग बुवाले सल्लाह गरेको उनले सुने । तिहार र छठसम्म उनले कलेज बिदा नै थियो । ‘बिदा भएकाले म पनि सँगै जान्छु रेडपाण्डा हेर्न भनेर ईच्छा देखाएपछि बाबाले सहमति जनाउनुभो,’ उनी भन्छन्, ‘पहिला त हाई अल्टिच्युड र अफ रोड धेरै भएको कारणले संगै लान मन गर्नु भएको थिएन पछि मान्नु भो ।’

भाइटिकाको दिन टिका लगाएर काठमाडौँबाट करिब २ बजे सिन्धुपाल्चोकको हेलम्बु –७ मा रहेको माङ्ग्जिङ्गगोठका लागि टोली रवाना भयो । बेलुका ४;३० बजे तिर कुटुमसाङ्गमा रहेको लाङ्टाङ्ग राष्ट्रिय निकुन्जको प्रवेशद्वारमा बाइक राखी आफ्नो गन्तव्य तर्फ लगेको उनले सुनाए ।
करिब ३ घण्टा ४० मिनेटको कठिन उकालो पश्चात ३२५० मिटरमा माङ्गजिम गोठमा रहेको ग्रीन भिउ लजमा अस्थायी क्याम्पमा टोली पुग्यो । उक्त क्षेत्र हेलम्बु पदमार्गले परिचित छ । यो स्थान काठमाडौँबाट चिसापानी ,हैबुंग , कूटुमसाङ्ग, माङ्ग्जिङ्ग गोठ हुँदै गोशाइकुण्ड पुग्ने मुख्य मार्गको रुपले पनि परिचिते छ।

पहिलो रात बाबा (दसरथ श्रेष्ठ) अगष्ट रस सिंह लामा ,अमर राज लिम्बु दाईहरु रेड पाण्डाको बासस्थानको बारे स्थानीय एव होटल संचालक कालु लामासंग छलफल गरेर म्यापिंग गर्दै गर्दा दिपतान्शु भने ताराहरुको तस्वीर लिन चिसोमै बाहिर निस्किए । होटलमा केही विदेशीहरु पनि थिए। कोही गोसाईकुण्डबाट फर्केका थिए भने केही गोसाईकुण्ड हुँदै लाङ्ग्टाङ्गसम्मको यात्रा लागि आएका थिए ।
त्यो रात त्यत्तिकै बित्यो ।

दोश्रो दिन राष्ट्रिय चरा डाँफेका लागि ३५०० मिटरमा रहेको भ्यु पोइण्टतर्फ टोली हिँडेको थियो । जहाँबाट सगरमाथाको एक भाग देख्न सकिन्छ भनेर होटलका संचालक कालु लामाले जानकारी दिएका थिए ।

थुप्रै चराहरु भ्यु पोइण्टमा देखिए । तर डाँफे निक्कै पर उडेपछि मात्र थाहा पाएको उनले सुनाए । ‘लज फर्केर खाना खाएपछि म बाबा अनि दाईहरुसँगै रेड पाण्डाको बास स्थानतर्फ लाग्यौं। बेलुका सम्म जंगल घुम्दा पनि रेडपाण्डा नदेखेपछि हतास भएर फर्कियौं ।’ उनले आफ्नो अनुभव सुनाए ।

तेश्रो दिन बिहानै माङ्ग्जिङ्ग गोठभन्दा तल अर्को वासस्थान टोली पुग्यो । बास स्थान वरपरी कस्तुरी र मुनाल पनि हुन सक्ने अनुमान लगाउँदै तस्विर लिन कुरेर बस्दा पनि अबेर बेलुका केही ननिस्कउपछि त्यो दिन पनि निरास भएर फर्किन परेको तितो यथार्थ उनले सुनाए ।

निकै संघर्ष गर्दा पनि रेडपाण्डा नदेखिएपछि उनी निरास बने । बेलुका लजमा फर्किँदा भोलि पनि रेड पाण्डा देखिएन भने काठमाडौँ फर्किनु पर्ला भनेर बाबा दाइहरु सल्लाह गर्दै गर्दा लज संचालक कालु लामाले पहिले पहिले धेरै नै पाण्डा देखिथ्यो र अहिले पनि देखिन्छ यस ठाउँमा पाण्डा भनेपनि उनी उत्साहित बने । ‘भोलि बिहानसम्म लेकको गोठको साहु आउँछ उसले तपाईहरुलाई पाण्डाको नयाँ वास–स्थान लैजान्छ अनि भाग्यमा रहेछ भने पक्कै देख्नु हुन्छ ।’ काल लामाले हाँस्दै भनेका थिए । उनको यो भनाइले आफू उत्साहित भएको बताए ।

चौथो दिन बिहानै सबै जना उठेर गोठ तल्लो भेक तिर लागे । त्यति नै बेला गोठको साहुलाई बाटोमै भेट भयो र उनको कुरा सुन्दा रेडपाण्डा भेटिन्छ कि भन्ने मनमा आश पलायो । र, सबै जना उनको पछि पछि लागे । ‘हामी जंगलभित्र लाग्यौं। पर भिर देखिएको ठाउँसम्म पुग्ने भन्दै हिँड्दै गर्दा गोठको साहुले अमरराज लिम्बु दाइलाई रेड पाण्डाले खाने खुराक भन्दै निङ्गालोको बोट देखाए,’ उनी भन्५न्, ‘त्यतिबेला अब चैँ रोडपाण्डा देख्न पाइन्छ भन्ने आश पलायो ।’

त्यति बेला अगष्ट रस सिंह लामाले शंका गरे कि रेडपाण्डा रुखमा नै छ । उनले भन्दै ४–५ सट क्लिक गरे । ‘पाण्डा यहीं छ, आउन मानेको छैन ।’ लामाले भनेका थिए नभन्दै त्यहीं रहेछ ।

‘जब मैले रुखको बीचमा पाण्डाको अनुहार देखे यति खुशी थिएँ र धेरै एक्साइटेड भएँ,’ उनले खुशी पोखे । डिस्टर्ब नगरी यसको याक्टिभिटी हरे सबै बसिरहे । यो पल दिपतान्शुका लागि पहिलो अवसर थियो । मन थामेर भएपनि करिब २ घण्टा उक्त रेड पाण्डालाई हल्ला नगरी अब्जर्ब गरिरहेको उनले सुनाए । ‘उसले गर्ने क्रियाकलापलाई नियाल्दै बस्यौं। रेडपाण्डा लजालु स्वभावको जनवार भएको धेरै विज्ञहरुले भनेका थिए। वहाँ हरुले भने जस्तै रेडपाण्डा हामीहरुलाई मतलब नै नगरी आनन्दले रुखमा सुतिरह्यो।’ उनले सुनाए ।

विश्वको दुर्लभ जनावर रेडपाण्डाको करिब एक हजार पाँच सय वटा फोटो मात्र खिचे उनले । दिपतान्शुले यो पललाई निकै खुशीको पल मानेछन् । अविष्मरणीय क्षण मानेका छन् ।

‘वाईल्ड लाइफ फोटोग्राफीको मेरो यो बामे सर्दै गरेको यात्रामा रेडपाण्डाको तस्विर लिन पाउनु वाईल्डमा प्रत्यक्ष हेर्न पाउनु म आफूले आफूलाई भाग्यमानी ठान्दछु। तस्विर लिने मात्र हैन भविष्यमा प्रकृति संरक्षण र दुर्लभ बन्य जन्तु संरक्षण म आफ्नो तर्फ र वाईल्ड लाइफ फोटोग्राफीको तर्फबाट केही योगदान दिन सकुँ ।’ उनले सुनाए ।

‘चिडियाखाना र टिभीमा मात्र देखेको रेडपाण्डा उसैको बास स्थानमा हेर्न पाउनु र तस्विर लिन पाउनु मेरो अहोभाग्य नै हो ।’ उनले मुस्कुराउँदै भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved