- गृहमन्त्रीको राजीनामा र टीओआरमा नाम उल्लेखको माग ।
- सभामुखको आलोचना ।
- कैलाश सिरोहिया पक्राउको खण्डन ।
- सरकार अधिनायकवादी बनेको आरोप ।
- पार्टी नेतृत्वको आलोचना ।
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति तथा संसदीय समितिको संयुक्त बैठक मूलत: ५ वटा विषयमा केन्द्रित भएको छ ।
बैठकमा नेता तथा सांसदहरूले सरकारदेखि पार्टीभित्रका विभिन्न विषयमा कुरा उठाएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताए । मुख्यत: बैठकमा यी विषयहरूमा छलफल भए ।
गृहमन्त्रीको राजीनामा माग : बैठकमा नेता तथा सांसदहरूले सरकारका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्नुपर्ने माग गरेका छन् ।
कांग्रेसले अहिले संसद्मा उनीमाथि संसदीय छानबिन समिति बन्नुपर्ने माग गरिरहेको छ । त्यसबारे सत्तापक्षसँग सहमतिसमेत जुटिसकेको छ । तर, समितिको टीओआर भने समिति गठनअघि नै फाइनल हुनुपर्ने भन्दै त्यसका लागि कार्यदल बनेको छ तर, त्यहाँ पनि सहमति जुटेको छैन ।
कांग्रेसले टीओआरमा नै गृहमन्त्री लामिछानेको नाम उल्लेख हुनुपर्ने माग राखेको छ । तर, सत्तापक्षले भने त्यसलाई अस्वीकार गरेको छ । यसपछि टीओआर टुङ्गिएको छैन । तर, कांग्रेसले अब टीओआरमा सहमति नजुटे गृहमन्त्रीको राजीनामा माग गर्नुपर्ने बताएका छन् ।
प्रवक्ता महतका अनुसार बहुसङ्ख्यक नेताहरूले यसमा आफ्नो धारणा राखेका छन् । नेताहरूले नैतिकताका आधारमा पनि गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने तर्क गरेका छन् ।
सभामुखको आलोचना : नेता तथा सांसदहरूले सभामुख देवराज घिमिरेको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।
उनीहरूले सभामुख घिमिरेको भूमिकामा अमूक पार्टी पक्षधरता झल्किएको आरोप लगाएका छन् । अधिकांश नेताहरूले सभामुखको भूमिमा निष्पक्षता नदेखिएको भन्दै आलोचना गरेका छन् । कांग्रेसका एक नेताले नेपालभ्युजसँग भने, “साथीहरूले सभामुखको भूमिकामाथि गम्भीर प्रश्न उठाउनुभएको छ । सदनको नेता हुनुपर्नेमा कुनै दलको नेताजस्तै भयो भनेर उहाँहरूले भन्नुभएको छ ।”
यसअघि सभामुख घिमिरेले गृहमन्त्री लामिछानेलाई बोल्न समय दिँदा कांग्रेसले विरोध गर्दै नाराबाजी गरेको थियो । त्यस क्रममा कांग्रेस-एमाले सांसदहरूबीच ठेलमठेलकै अवस्था सिर्जना भएको थियो । त्यसबेलै पनि कांग्रेसले सभामुख घिमिरेको भूमिकामाथि प्रश्न उठाएको थियो ।
कैलाश सिरोहियाको पक्राउको खण्डन : नेता तथा सांसदहरूले कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहिया पक्राउको खण्डन गरेका छन् ।
मङ्गलबार पक्राउ परेका सिरोहियालाई धनुषा जिल्ला अदालतले ३ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ तर, कांग्रेस नेता तथा सांसदहरूको उनको पक्राउ स्वाभाविक नभएको जिकिर गरेका छन् ।
बैठकमा अधिकांश नेता तथा सांसदहरूले एक मिडिया सञ्चालकलाई कार्यालयमै घुसेर पक्राउ गर्नु प्रेस स्वतन्त्रता, संविधान र लोकतान्त्रिक अभ्यासविरुद्ध भनेर टिप्पणी गरेका छन् ।
कतिपय नेता तथा सांसदहरूले उनको रिहाइको मागसमेत गरेका छन् । तर, अब अदालती प्रक्रियामा नै गइसकेपछि त्यसको छिनोफानो त्यतैबाट हुन्छ ।
सरकार अधिनायकवादी बनेको आरोप : नेता तथा सांसदहरूले वर्तमान सरकार अधिनायकवादी बाटोमा हिँड्न खोजेको आरोप लगाएका छन् ।
सिरोहिया पक्राउकै विषय उधिँन्दै उनीहरूले सरकारको अधिनायकवादी प्रवृत्ति देशका लागि ठीक नभएको टिप्पणी गरेका छन् । कांग्रेस नेता डिला सङ्ग्रौलाले नेपालभ्युजसँग भनिन्, “नेता तथा साथीहरूले यस विषयलाई खह्रोगरी राख्नुभएको छ । हामी सरकारको ध्यानाकर्षणसमेत गराउँदैछौँ ।”
सरकारका यस्ता कदमविरुद्ध सडकमा ओर्लिनेसमेत कांग्रेसले निर्णय गरेको छ । सरकारविरुद्ध कांग्रेसले १३ गते सडक प्रदर्शन गर्दैछ ।
नेतृत्वको आलोचना : नेता तथा सांसदहरूले पार्टी नेतृत्व अर्थात् सभापति शेरबहादुर देउवाको कार्यशैली र क्षमताको आलोचना गरेका छन् ।
खासगरी पछिल्लो प्रकरणहरूमा सभापति देउवाले अडान लिन नसकेको नेता तथा सांसदहरूको आरोप छ । नेता नैनसिंह महरले पार्टी नेतृत्व कमजोर हुँदा त्यस्तो भएको बताएका छन् ।
“केपी ओलीले संसद् विघटन गरेदेखि नै आजसम्म कांग्रेसको नेतृत्वको ५/६ जना पदाधिकारीहरूले नेतृत्व गर्नुभएको छ । उहाँहरूको ड्राइभले कांग्रेसलाई ठीक ठाउँमा पुर्याउन सकेको छैन । यो विषयमा समीक्षा हुनुपर्छ । जुन गतिमा कांग्रेसले उपलब्धि हासिल गर्नुपर्ने हो त्यो भन्दा नाजुक हुँदैछ ।”
उनले सभापति शेरबहादुर देउवासँगै अन्य नेतृत्व पनि चुकेको बताए । “सभापतिसँगै अरु नेताहरूमा पनि चातर्यता देखिँदैन । यसले सिङ्गो पार्टीलाई राम्र गरेको छैन,” उनले भने ।
Facebook Comment
Comment