आयोगको आग्रह- प्रदर्शन शान्तिपूर्ण बनाऊ

नेपालभ्युज

आयोगको आग्रह- प्रदर्शन शान्तिपूर्ण बनाऊ

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्रदर्शनलाई शान्तिपूर्ण र संयमित बनाउन आग्रह गरेको छ ।

आयोगले संविधान, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय कानुनमा उल्लेखित प्रावधानको पालनामा संवेदनशील हुन सम्बद्ध पक्षलाई विहीबार एक विज्ञप्ति जारी गर्दै आग्रह गरेको हो ।

आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारको सम्मान गर्न पनि आयोगले आग्रह गरेको छ ।

विहीबार राजधानीमा नेकपा (एमाले) को भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट आयोजित प्रदर्शनको अनुगमनको क्रममा तीनकुनेमा आयोजित युवा सङ्घ नेपालको प्रदर्शन शान्तिपूर्णरूपमा सम्पन्न भएको पाइएको आयोगले जनाएको छ ।

त्यस्तै, बल्खुमा भएको प्रदर्शनमा युवा सङ्घ र अभियान समूहबीच झडप भएको र स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीका फोहरा प्रहार गरेको आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ । त्यसक्रममा केही व्यक्ति घाइते भएका तथा मोटरसाइकल, स्कुटरमा सामान्य क्षति पुगेको उल्लेख छ ।

आयोगले प्रदर्शनका कारण प्रदर्शनस्थल वरपरका विद्यालयमा पठनपाठन अवरुद्ध भएको, त्यस क्षेत्रका पसल बन्द हुँदा निर्बाधरूपमा पेसा व्यवसाय गर्ने अधिकारमा असर परेको निष्कर्ष निकालेको छ । साथै, सर्वसाधारणले स्वतन्त्र एवम् सुरक्षितरूपमा आउजाउ गर्न नपाएको हुँदा त्यसबाट नागरिकको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार र बालबालिकाको शिक्षाको अधिकारमा असर परेको आयोगले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved