नागरिक आन्दोलनको आवरणमा पाँच अर्ब ऋण पचाउने प्रसाईंको दाउ, कुन बैंकमा कति ऋण ?

'आन्दोलन'ले जेल जानबाट रोक्ला ?

नेताले करोडौँ पैसा थुपारेको आरोप लगाउने दुर्गा प्रसाईंले भने साढे पाँच अर्बभन्दा बढी रुपैयाँ ऋण लिएका छन् । जुन पैसा तिर्न नसक्ने अवस्थामा पुगेका उनले उम्कने बाहानामा नागरिक आन्दोलन भन्दै भीड उचालिरहेको आरोप छ ।

नेपालभ्युज

नागरिक आन्दोलनको आवरणमा पाँच अर्ब ऋण पचाउने प्रसाईंको दाउ, कुन बैंकमा कति ऋण ?

काठमाडौं । दुर्गा प्रसाईं अचेल जहाँ उभिन्छन्, त्यहाँ मानिसको भीड लाग्छ । व्यापारी र नेताको नाम तोक्दै गालीगलौज गर्छन् । समर्थकले ताली बजाउँछन् ।

सामाजिक सञ्जालमा उनले अन्टसन्ट बोलेको भिडिओ पोस्ट हुन्छ। लाखौँले हेर्छन्, सयौँले समर्थन गर्दै कमेन्ट गर्छन् । किनकि भीड जम्मा पार्न मात्र होइन, उत्तेजित पार्न पनि खप्पिस छन् उनी ।

उनी कतारमा मृत्यु भएका श्रमिकको शव झिकाएको दाबी गर्छन् । उनले अघिल्लो महिना इजरायलमा युद्धमा फसेका नेपालीलाई उद्धार गरेर ल्याउने दाबी गरेका थिए । तर, सकेनन् ।

चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, अमेरिकी राष्ट्रपति जो बाइडेनसँग आफ्नो दोहोरो चिनजान भएको दाबी पनि गर्छन्। रोचक कुरो यस्तै हावादारी गफ गर्ने प्रसाईंलाई अझै पनि केहीले पत्याइरहेका छन् । र पछि लागेका छन् ।

दुर्गा प्रसाईंको हरेक भाषणमा नछुट्ने वाक्य हो ‘नेताहरूको पैसा लुट्नुपर्छ’ । उनी भन्छन्, ‘शेरबहादुरको घरमा दुईसय बोरा जति पैसा छ । केपी ओलीका घरमा त्यति नै । प्रचण्डको घरमा त्यति नै । उनीहरूका घरमा हामीले बैंकमा जम्मा गरेको पैसा छ, तपाईँहरूले छिरेर निकाल्नुपर्छ ।’

नेताले करोडौँ पैसा थुपारेको आरोप लगाउने दुर्गा प्रसाईंले भने साढे पाँच अर्बभन्दा बढी रुपैयाँ ऋण लिएका छन् । जुन पैसा तिर्न नसक्ने अवस्थामा पुगेका उनले उम्कने बाहानामा नागरिक आन्दोलन भन्दै भीड उचालिरहेको आरोप छ ।

भीड उचाल्दै बैंक तथा वित्तीय संस्थाको ऋण तथा ब्याज नतिर्ने ‘अराजक अभियान’ चलाइरहेको आरोप पनि उनीमाथि छ । यत्ति मात्र होइन नेताको घरमा गएर लुटपाट गर्नुपर्ने उद्दण्ड कार्य गर्न दुरुत्साहन गरिरहेका छन् ।

दुर्गा प्रसाईंले आठवटा वित्तीय संस्थाबाट झन्डै साढे साढे ५ सय करोड ऋण लिएका छन् । ६ वटा वाणिज्य बैंक, एक विकास बैंक र एक फाइनान्सबाट उनले ऋण लिएको नेपाल राष्ट्र बैंक स्रोतले जनाएको छ ।

पूर्वाञ्चल क्यान्सर अस्पताल, बीएन्डसी मेडिकल कलेज, होटल एड्रियन र शुभम् हाउजिङको नाममा उनले ऋण लिएका हुन् । उनले गत पुसदेखि कुनै बैँकमा साँवा किस्ता र ब्याज तिरेका छैनन् ।

यसैले आफ्नो स्वार्थ पूरा गर्न कसैलाई बोक्ने र कसैलाई ठोक्ने उनी अहिले जनताको नाममा आन्दोलन गरेको बताउँछन् । प्रसाईंको विगतबारे जानकार भन्छन्, ‘ उनको यो रूप नौलो होइन । आफूले लिएको ऋण ठूलो परिमाणको भएको र तिर्न नसक्ने भएकाले भीडलाई उचालेर जोगिन खोजिरहेका छन् ।’

कुन बैंकको कति ऋण ?

नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीका अनुसार दुर्गा प्रसाईंले वित्तीय संस्थाबाट ११ करोडदेखि एक सय करोडसम्म ऋण लिएका छन् ।

प्रभु बैंकबाट क्यान्सर अस्पताल र बीएन्डसी मेडिकल कलेज तथा होटेलका लागि १ अर्ब २० करोड भन्दा बढी ऋण लिएका छन् । तत्कालीन जनता बैंक, हालको ग्लोबल आइएमई बैंकमा १ अर्ब भन्दा बढी ऋण तिर्न बाँकी छ ।

तत्कालीन एनसीसी हालको कुमारी बैंकबाट १ अर्बभन्दा बढी ऋण लिएका छन् । बी एन्डसी मेडिकल कलेजको नाउँमा कुमारी बैंकबाट ७० करोड र पूर्वाञ्चल क्यान्सर अस्पतालको नाममा ३० करोड गरी १ अर्ब ऋण छ ।

तत्कालीन नेपाल बङ्गलादेश बैंक तथा हालको नबिल बैंकबाट ७६ करोड रुपैयाँ ऋण छ । दुर्गा प्रसाईंले राष्ट्रिय वाणिज्य बैंकबाट ७० करोड ऋण लिएका छन् । तत्कालीन मेगा बैंक हालको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट ६५ करोड रुपैयाँ ऋण लिएको राष्ट्र बैंक स्रोतको दाबी छ ।

लुम्बिनी विकास बैंकबाट १५ करोड तीस लाख रुपैयाँ ऋण लिएका छन् । र गुडविल फाइनान्सबाट ११ करोड रुपैयाँ ऋण लिएका छन् ।

उनले गत पुसदेखि कुनै पनि बैँकमा साँवा किस्ता र ब्याज तिरेका छैनन् । सामान्य नागरिकले ऋण नतिर्दा कालोसूचीमा राख्ने, फोटोसहित धितो लिलामी गर्ने बैंकहरुले दुर्गा प्रसाईंलाई भने केही भन्ने हिम्मत गरेका छैनन् ।

दुर्गा प्रसाईंले विभिन्न बैंकबाट फेरि पनि अरू प्रोजेक्टको लागि ऋण मागेका थिए । तर, उनी आवद्ध कम्पनीलाई थप ऋण नदिने बैंक तथा वित्तीय संस्थाले अनौपचारिक रूपमा निर्णय गरेका थिए । किनकि उनले ठूलो परिमाणमा ऋण लिइसकेका थिए भने किस्ता तिर्न सकिरहेका थिएनन् ।

फेरि ऋण नपत्याएपछि दुर्गा प्रसाईं बैंक तथा वित्तीय संस्थाविरुद्ध लागेका छन् । बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीलाई कालोमोसो दल्नेलगायतका अराजक गतिविधिमा सक्रिय भएका छन् । त्यस अभियानमा केही मानिसको साथ पाएपछि उनी अर्को आन्दोलनमा लागेका हुन् ।

माओवादी, एमाले हुँदै अहिले राजासहितको हिन्दुराज्य चाहिने अभियानमा हिँडेका प्रसाईंले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिरेमा साढे ५ अर्ब रुपैयाँ जोखिममा पर्ने देखिएको छ ।

उनले गत वर्षको माघको अन्तिम सातादेखि बैंकको ब्याज तिर्न नहुने बताउँदै आएका छन् । अराजक गतिविधि गर्दै हिँडेका प्रसाईंले पुस मसान्तसम्मको भने ब्याज तथा किस्ता तिरेका थिए ।

प्रसाईंलाई जोखिमपूर्ण ऋण दिएका बैंकका उच्च कर्मचारी यो विषयमा औपचारिक रूपमा कुरा गर्न तयार हुँदैनन् । प्रसाईंको गतिविधि अराजक खालको भएको र उनको नाम लिएर सञ्चारमाध्यममा प्रतिक्रिया दिनु ठिक नदेखिएको उनीहरु बताउँछन् ।

दुर्गा प्रसाईंलाई ऋण दिने एक वित्तीय संस्थाका सीइओ भन्छन्, ‘उनले लिएको सबै ऋण नतिरेसम्म उनलाई फेरि ऋण नदिने सबै बैंकबीच अनौपचारिक रूपमा सहमति भएको हो । उनले धान्नै नसक्ने ऋण लगिसकेका छन् । उनलाई ऋण दिन बन्द गरेपछि बैंकविरुद्ध जाइलागेका हुन् ।’

ऋणीले रकम नतिरेमा बैंकले धितोमा राखिएको सम्पत्ति लिलाम गर्ने र कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्छन् ।

कालोसूचीमा परेका व्यक्ति तथा फर्मले ऋण नतिरेसम्म अर्को बैंक तथा वित्तीय संस्थाबाट ऋण पाउँदैनन् । तर, उनलाई थप ऋण नदिएपनि सम्पती लिलाम गर्ने प्रक्रिया भने कुनै पनि बैंकले अघि बढाएका छैनन् ।

आन्दोलनको भित्री कारण

दुर्गा प्रसाईंले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’को चलाएका छन् । उद्देश्य आम गरिब जनता र बैंकबाट ऋण लिएका पीडितको उद्धार गर्ने दाबी छ । तर, वास्तविकता भने अर्को रहेको उनी निकटका केही व्यक्ति स्वीकार्छन् ।

राजनीतिक शक्तिको दुरुपयोगमार्फत चर्चामा आएका उनले जग्गा किनबेचमा कर छल्ने र ऋण लिँदा बैंकिंङ कसुर हुने चलखेल गरेका छन् । अझ त्यो ऋण नतिरेकाले कारबाहीबाट बच्न जनताको सेन्टिमेन्ट बटुलेर समर्थन जुटाउन अभियान थालेको स्रोतको दाबी छ ।

वित्तीय संस्थाबाट ऋण लिएकालाई समेट्दा धेरै मानिस नभएपछि उनले वर्तमान व्यवस्थाबाट सन्तुष्ट हुन नसकेको समर्थन पाउने जुक्ति निकाले ‘राजा र हिन्दुराष्ट्र।’ यसैले उनले वर्तमान दलहरूप्रति वितृष्णा मानिरहेका जनताको सेन्टिमेन्ट बटुल्न राजा ल्याउने भन्दै अभियान चलाएका छन् ।

भ्रामक कुरा गरेर भीडलाई उक्साएका प्रसाईंले एक तप्काका भूईंमान्छे उचाल्न सफल भएको उनको गतिविधि नियालिरहेका समाजशास्त्री दीपेश घिमिरे बताउँछन् ।

उनी भन्छन्, ‘नेपाली समाज ज्ञान निर्माण र वितरणको प्रक्रियामा कमजोर छ । गलत पात्रले आफ्नो व्यक्तिगत अभीष्ट पूरा गर्न जालझेल रचेको थाहा पाउँदैनन् । भावनामा बग्छन् । अहिले नेपाली समाजमा ऋण लिएर तिर्न नसक्ने गरिब धेरै छन् । उनीहरूले दुर्गा प्रसाईंलाई नेता मानेर साथ दिइरहेका छन् ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved