देश र जनताका निम्ति नेकपा एस अग्रपंक्तिमा उभिन्छः माधवकुमार नेपाल

नेपालभ्युज

देश र जनताका निम्ति नेकपा एस अग्रपंक्तिमा उभिन्छः माधवकुमार नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश र जनताको हितको निम्ति आफ्नो पार्टी सदैव अग्रपंक्तिमा उभिन तयार रहेको बताएका छन् ।

अध्यक्ष नेपालले समाजवादी जागरणको माध्यामबाट रोजगारी, सुशासन र समृद्धिको बाटोमा मुलुकलाई अघि बढाउन आफ्नो पार्टीले ‘मेची–महाकाली जागरण अभियान तथा संगठन विस्तार’ कार्यक्रम शुरु गर्न लागेको पनि स्पष्ट पारे ।

यही असोज १४ गतेबाट सो पार्टीले झापाको मेची नदी किनारबाट सो अभियानको शुभारम्भ गर्दैछ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरबाट सो अभियानको पहिलो तयारी टोलीलाई विदाई गर्दै अध्यक्ष नेपालले सो अभियानले आम जनतामा समाजवादप्रति उत्साह ल्याउने र पार्टी कार्यकर्ता पंक्तिमा पनि जागरण ल्याउने विश्वास व्यक्त गरे ।

उनले सो अभियानमा सहभागी हुन पनि सबैलाई आह्वान गरे । अध्यक्ष नेपालले अभियानको क्रममा विभिन्न जिल्लाहरुमा विभिन्न कार्यक्रमहरु आयोजना हुने र त्यसले समाजवादको सन्देश आम जनताको घरदैलोमा पुर्‍याउने बताए ।

‘समाजवादी जागरण अभियान हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही असोजको १४ गतेबाट कोशी प्रदेशको झापाको मेची नदीको किनारबाट शुरु गर्न गइरहेका छौं र, त्यहाँबाट हाम्रो यात्रा प्रारम्भ हुनेछ, उनले भने ।’

अध्यक्ष नेपालले अभियानका क्रममा पार्टीको सदस्यता बिस्तारको काम पनि हुने बताए। उनका अनुसार सो अभियान असोज २८ गते महाकाली नदीको किनारामा पुगेर समापन हुनेछ ।

अभियानका क्रममा रोजगारी, सुशासन र समृद्धिको पक्षमा नारा घन्काउने, समाजवादप्रतिको पार्टीको धारणाहरु आम जनतालाई जानकारी गराउनेलगायतका जनपक्षीय कामहरु हुने पनि नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved