बनेको तीन महिनामै सडक भत्किएपछि…

नेपालभ्युज

बनेको तीन महिनामै सडक भत्किएपछि…

भोजपुर।  बनेको तीन महिनामै कालोपत्रे भएको सडक भत्किएपछि सो विषयमा सरोकारवाला निकायले चासो देखाएका छन् ।

लाखौं बजेट खर्चेर बनेको सडक तीन महिनामै भत्किएपछि स्थानीयवासी आक्रोशित भएका भोजपुर नगरपालिका वडा नम्बर-५ बोखिमका वडासदस्य निरकुमार फुयाँलले बताए । उनले भने, “सडक तोकिएको मापदण्डअनुसार ठकेदार कम्पनीले बनाएको छैन, सरोकारवाला निकायहरूलाई यस विषयमा जानकारी गराइएको छ । गुणस्तरीय सडक नबनेको विषयमा निर्माण कम्पनीले पनि चासो देखाएको छैन ।”

स्थानीयवासीको पहलमा सरोकारवाला निकायका प्रतिनिधिहरूलाई बोलाएर सडक अनुगमनसमेत गराइएको थियो ।

बनेको छोटो अवधिमै सडक भत्किएपछि जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङ राई, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष कर्ण मोक्तानसहितका जनप्रतिनिधि सडक अनुगमनमा सहभागी थिए । बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडकखण्डको साढे चार किलोमिटर सडक रौताहा–रामसागर विल्डर्स जेभीले निर्माण गरेको हो । सडक निर्माणका काम गुणस्तरीय नभएको अजाव स्थानीयवासीले पटक-पटक उठाउँदै आए पनि कुनै सुनुवाइ हुन नसकेको हो ।

सडक अनुगमन गर्दा तोकिएको मापदण्डअनुसार सडक बनेको नदेखिएको जिल्ला समन्वय समितिका प्रमुख राईले बताए । “हामीले सडक अनुगमन गर्‍यो, तर निर्माण कम्पनीबाट लापरबाही भएको पाइएको छ, बनेको तीन महिनामा भत्किने कस्तो सडक हो ।” सडकका कारण आवत-जातवतमा समेत समस्या हुने देखिएको छ ।

गुनासो आएपछि अनुगमन गरिएको बताउँदै प्रजिअ घिमिरेले मापदण्डअनुसार निर्माण कार्य नभएको पाइएको बताए । बनेको तीन महिनामा नै सडक भत्किएर खाल्डाखुल्डी परेको छ । उनले भने, “सडकका विषयमा मैले सम्बन्धित कार्यालयमा जानकारी गराइसकेको छु, अन्य निकायमा समेत यस विषयमा कुरा हुनेछ ।”
सडकमा बिच्छ्याइएको सब-बेसमा गुणस्तरहीन सामग्री प्रयोग गरिएका कारण यो समस्या देखिएको स्थानीयवासीको भनाइ थियो ।

समस्या समाधानका विषयमा समेत निर्माण कम्पनीबाट कुनै चासो नदेखाउँदा आफूहरू झन आक्रोशित भएको उनीहरूले बताए। अनुगमनमा पुगेका उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोक्तानले सडक निर्माणमा राज्य पैसाको चरम दुरुपयोग भएको बताए ।

गलत काम गर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा स्थानीयवासीको माग छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन इकाइअन्तर्गत भ्याटसहित करिब रु साढे १० करोडको लागतमा निर्माण भएको बताइएको छ ।
–रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved