राष्ट्रपति रामचन्द्र पौडेल आज जनकपुरधाम जाँदै

नेपालभ्युज

राष्ट्रपति रामचन्द्र पौडेल आज जनकपुरधाम जाँदै

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलआज जनकपुरधाम जाँदैछन् ।

राष्ट्रपति पौडेलको जनकपुरधाम भ्रमणका क्रममा जानकी मन्दिरमा विशेष पूजाअर्चना र महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घाटन गर्ने कार्यक्रम रहेको सहरी विकास मन्त्रालयअन्तर्गतका सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालय धनुषाका प्रमुख प्रदीप खनालले जानकारी दिए ।

तय भएको कार्यक्रमअनुसार नेपाली सेनाको हवाईजहाजबाट राष्ट्रपति पौडेल काठमाडौँबाट पौने ९ बजे जनकपुर विमानस्थल पुग्नेछन् । उनलाई जनकपुर विमानस्थलमा मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोज यादव, पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, सङ्घीय सांसद, नगरप्रमुख तथा सुरक्षा निकायका प्रमुखले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडेल विमानस्थलबाट सिधै जानकी मन्दिरका लागि प्रस्थान गर्नेछन् र पूर्वी ढोकाबाट जानकी मन्दिर प्रवेश गर्नेछन् । त्यहाँ जानकी मन्दिरका मूल महन्त रामतपेश्वर दाससहित प्रदेशका मन्त्री तथा सांसदले स्वागत गर्नेछन् ।

आधा घण्टा जानकी मन्दिरमा बिताउँदा राष्ट्रपति पौडेलले सो क्रममा जानकी माताको विशेष पूजाअर्चना, अखण्ड दीप प्रज्वलन गर्नुका साथै सीता माताको माइती घर दर्शन, अखण्ड कीर्तन दर्शन र महन्तको कक्षमा प्रसाद ग्रहण तथा छोटो विश्राम गर्ने कार्यक्रम रहेको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले बताए ।

जानकी मन्दिरमा पूजाअर्चना पश्चात प्रदेश प्रमुख, सभामुखसँग जलपान र नेपाल राष्ट्र बैंकको अतिथि निवासमा विश्राम तथा दिवा खानाको कार्यक्रम रहेको छ । सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनुषाका प्रमुख खनालका अनुसार राष्ट्रपति पौडेलले दिउँसो १ बजे महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । समुद्घाटन कार्यक्रम पश्चात सोही सभाहलमा जनकपुरधाम उपमहानगरपालिकाका तर्फबाट राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन समारोहको आयोजना गरिने कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडेल दुवै कार्यक्रम पश्चात अपराह्न ३ बजे काठमाडौँ फर्कनेछन् । नागरिकता विधेयक प्रमाणीकरण भएपछि जानकी मन्दिर दर्शन गर्न आउने यसअघिको राष्ट्रपति पौडेलको कार्यक्रम स्थगित भएकाले सोही कार्यक्रमलाई निरन्तरता दिँदै राष्ट्रपति पौडेल जनकपुरधाम जान लागेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved