राजनितिमा हात हाल्दिनँ, सुशासनमा जोड दिन्छु : राष्ट्रपति पौडेल

नेपालभ्युज

तनहुँ। राष्ट्रपति रामचन्द्र पौडेलले आफू अब पछिल्लो राजनीतिक गतिविधिमा सहभागी नहुने तर विकास निर्माणका काममा सहभागी हुने बताएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएपपछि पहिलोपटक गृहजिल्ला तनहुँ आएका उनले व्यास नगरपालिका–३ बिपी वनवाटिकामा निर्माण सम्पन्न भएको सभागृहको उद्घाटन गर्दै सरकारलाई विकासका मुद्दाबारे सचेत गराउने बताएका हुन् ।

‘म दलीय राजनीतिमा हात हाल्दिन तर विकासबाट हात झिक्दिन । मुलुकलाई विकास चाहिएको छ, जो प्रधानमन्त्री आए पनि म विकासका मुद्धाबारे सचेत गराउछु’ उनले भने ।

राष्ट्रपति पौडेलले जनताका प्रतिनिधिले बनाएको संविधानको रक्षा गर्नु अहिलेको आवश्यकता भएको बताए । उनले सबैको भावनालाई समेटर अघि बढे स्थायित्व हुने समेत बताए । राष्ट्रपति पौडेलले जनताको अधिकारको रक्षाको लागि राजनीतिक दल अति आवश्यक रहेको तर अति दलबन्दी भएमा निमुखाको न्याय मर्ने समेत धारणा राखे ।

‘निमुखा जनताले न्याय पाए कि पाएनन्, त्यो दलका प्रतिनिधिले बुझ्नुपर्छ । निमुखालाई न्याय र विपन्नलाई आय दिन सबै दलहरु मिलेर लाग्न आवश्यक छ’ उनले भने ।

उक्त कार्यक्रममा शहरी विकासमन्त्री सीता गुरुङ, गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायत पनि सहभागी भएका थिए ।

करिब ७ सय ५० जना क्षमताको उक्त सभाहल गण्डकी प्रदेशकै ठूलो मानिएको छ । २३ करोड ६२ लाख ४३ हजार ३३१ रुपैयाँ लागतमा सो सभाहल डाँफे एमए प्रतिष्ठा जेभीले निर्माण गरेको हो । करिब छ हजार ५०० वर्गफिट क्षेत्रफलमा रहेको सभाहलमा दुईवटा ब्लक छ ।

चार तले भवनको भुइँतलामा पार्किङ, दोस्रो तलामा स्टेज, तेस्रोमा सेमिनार हल र चौथोमा अतिथिका लागि कपडा परिवर्तन गर्ने र आराम गर्ने कक्ष रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved