चाडपर्वमा खाद्य वस्तुको अभाव हुन नदिन सरकारलाई संसदीय समितिको निर्देशन

नेपालभ्युज

चाडपर्वमा खाद्य वस्तुको अभाव हुन नदिन सरकारलाई संसदीय समितिको निर्देशन
काठमाडौं। संसदीय समितिले चिनी, चामल, गहुँलगायतका अति आवश्यकीय खाद्यवस्तुको अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले दशैं, तिहारजस्ता चाडपर्वलाई ध्यानमा राखेर अति आवश्यक खाद्य वस्तुहरूको अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको हो ।
त्यसैगरी, बैठकले अतिआवश्यकीय खाद्य वस्तुहरूको बिक्री वितरण सुलभ मूल्यमा गर्न पनि सरकारलाई सचेत गराइएको समितिका सभापति अब्दुल खानले बताएका छन् । समितिले बजारको मागअनुसार मूल्य अभिवृद्धि करमा पूरै छुट हुने गरी अति आवश्यकीय खाद्य वस्तुको आयात गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको माग सम्बोधन हुने गरी तत्काल सहमति दिन पनि अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
समितिका सभापति खानले भने,‘नजिकिँदै गइरहेका चाडपर्वको समयमा चिनी, चामल र गहुँलगायत अति आवश्यक वस्तुको अभाव हुन नदिन र मूल्य नियन्त्रण गरी कार्टेलिङ प्रणालीलाई निरुत्साहित गर्दै सहज आपूर्ति व्यवस्था मिलाउन र सहुलियत मूल्यमा बिक्री वितरण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट भन्सार महसुल छुटका लागि अर्थ मन्त्रालयमा सहमति माग गरिएकोमा बजारको माग अनुसारको परिमाणमा सहमति प्राप्त नभएकोतर्फ समितिको ध्यानाकर्षण भएको छ ।’
त्यसैगरी समितिले दशैं, तिहार, छठजस्ता चाडपर्वलाई लक्षित गरेर बजार अनुगमनका लागि सभापति खानको नेतृत्वको ४ सदस्यीय समिति पनि बनाउने भएको छ । उपभोक्ताहरूलाई चाडपर्वको बेला खाद्य वस्तुको अभाव हुन नदिन र कालोबजारी नियन्त्रण गर्न पनि सो समिति बनाउने निर्णय गरिएको सभापति खानले बताए ।
बैठकमा समितिका सदस्यहरूले चाडपर्वका बेला आम उपभोक्तालाई सहज र सुलभ ढङ्गले अति आवश्यकीय वस्तुहरूको व्यवस्था मिलाउन सरकारलाई सचेत गराएका थिए । समितिकी सदस्य रमा कोइराला (पौड्याल)ले सरोकारवाला सबै निकायले चाडपर्वका बेला जनतालाई सुलभ र सहज ढङ्गले आवश्यक वस्तुहरूको व्यवस्था मिलाउने काममा लाग्नुपर्ने आवश्यकता औंल्याएकी छिन् ।
उनले भनिन्,‘यो चाडबाडको केही समयका लागि भए पनि भन्सार छुट हामीले गराउन सक्नुपर्दछ । त्यसका लागि हामीले जनप्रतिनिधिको रूपमा भूमिका निर्वाह गर्नुपर्छ । हामीले जनतालाई सुविधा दिने हो, राहत दिने हो । त्यसमा हामी लाग्नुपर्छ ।’
कोइरालाले सरकारले चाडबाडका बेला नागरिकलाई सुलभ मूल्य वस्तुहरूको आवश्यक व्यवस्था मिलाउन भन्सार छुट गर्नुपर्ने बताइन् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved