व्यवस्थापन पढेका विद्यार्थीलाई रोजगारी पाउनै मुस्किल

नेपालभ्युज

व्यवस्थापन पढेका विद्यार्थीलाई रोजगारी पाउनै मुस्किल

काठमाडौं। विज्ञहरूले विश्वविद्यालयबाट उत्पादित जनशक्तिलाई रोजगारीसँग जोड्न सरकारले उपयुक्त नीति अवलम्बन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

उनीहरूले व्यवस्थापन संकायमा विद्यार्थी संख्या बढे पनि उत्पादित जनशक्तिलाई रोजगारसँग जोड्न सरकारले उपयुक्त नीति अवलम्बन गर्न नसकेको बताएका हुन् । विद्यार्थीलाई रोजगारसँग जोड्न उद्योग धन्दाको विकास हुनुपर्ने र राज्यले उपयुक्त नीति अवलम्बन गनुपर्नेमा विज्ञहरूको जोड छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. डिल्लिराज शर्माले उत्पादित जनशक्तिले सजिलैसँग रोजगारी पाउन नसकेको बताए ।

विद्यार्थीलाई रोजगारसँग जोड्न उद्योग धन्दाको विकास हुनुपर्ने र राज्यले उपयुक्त नीति अवलम्बन गनुपर्ने बताउँदै उनले विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गरे पनि दक्षताको अभिवृद्धि गर्ने अवसर नपाउँदा विद्यार्थीहरू विदेश पलायन हुन बाध्य भएको गुनासो गरे ।

शर्माले नेपालमा सञ्चालित उद्योगहरूमा समेत दक्ष र सीपयुक्त जनशक्तिले रोजगार पाउन नसक्नु विडम्बनाको विषय भएको उल्लेख गरे । विश्वविद्यालयले इन्टर्नसिप वा व्यावहारिक रूपबाट शिक्षालाई जोड्नुपर्ने भएपनि अझै त्यसो हुन नसकेको बताए ।

विद्यार्थीको चाप धेरै भए पनि औद्योगीकरण (इन्डस्ट्रिलाइजेसन) र औद्योगिक प्रतिष्ठानहरूमा विद्यार्थीले पर्याप्त अवसर पाउन नसकेको गुनासो गरे । विद्यार्थीहरूलाई व्यवहारमुखी ज्ञान दिन आवश्यक रहेको उनको भनाइ छ ।

उनले व्यवस्थापन संकायमा अध्यापनरत शिक्षकहरूको उचित सेवा सुविधाका सन्दर्भमा सरकार गम्भीर नभएको बताए । शर्माले व्यवस्थापन संकायका केही कार्यक्रमहरू सेल्फ सस्टेन्स प्रोग्रामको रूपमा सञ्चालन गरिएको हुनाले आंगिक क्याम्पसमै पनि शुल्क केही बढी भएको स्वीकार गरे ।

उनले सम्पूर्ण भौतिक पूर्वाधारको विकास गर्नेदेखि शिक्षकहरूलाई दिनुपर्ने तलब, भत्ता सुविधा, विद्यार्थीको अतिरिक्त क्रियाकलापमा गर्नुपर्ने सम्पूर्ण खर्चहरू स्वयं कलेजले व्यहोर्नुपरेका कारण पनि शुल्क महँगो हुन गएको स्पष्ट पारे ।

अहिले त्रिविअन्तर्गत दुई लाख बढी विद्यार्थीहरू व्यवस्थापन संकायमा अध्ययनरत छन् । विद्यार्थीहरूले आफूले अध्ययन पूरा गरे पनि पर्याप्त रोजगारी र अवसर नपाएको गुनासो गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved