मान्मको कोठाबाट आमा-छोरा बेपत्ता, हत्या गरेर शव लुकाएको शंका

मान्मको कोठाबाट आमा-छोरा बेपत्ता, हत्या गरेर शव लुकाएको शंका

सुर्खेत । कालिकोटको सदरमुकाम मान्म बजारबाट आमाछोरा बेपत्ता भएका छन् । दैलेख भगवतीमाई गाउँपालिका– ५ की गीताकुमारी जैसी शाही र उनका चार वर्षीया छोरा टेकेन्द्र बिहीबार रातिदेखि मान्म बजारको डेराबाट बेपत्ता भएका हुन् ।

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ लुसा माइत भएकी गीताकुमार मान्म बजारमा व्यवसाय गर्दै आएका दानबहादुर शाहीकी कान्छी पत्नी हुन् । शाहीले पहिलो विवाह कालीकोटमा नै गरेका थिए ।

पतिसँग झगडा परेपछि गीताले कालीकोट जिल्ला अदालतमा अंशमुद्दा दायर गरेकी थिइन् । गीता एक्कासी बेपत्ता भएपछि उनका माइती पक्षले शाहीले बेपत्ता पारेको शंका गरेका छन् ।

गीता बस्ने कोठामा कपडा यत्रतत्र छरिएका र टाउकाको छालासहित रौं उखेलेर फ्याँकिएको अवस्थामा भेटिएको थियो । गीताको माइती पक्षले कोठामै आमाछोराको हत्या गरेर शव बेपत्ता बनाइएको हुनसक्ने शंका गरेका छन् ।

उनकी दिदी नाता पर्ने पवित्रा जैसी धमलाले भनिन्, ‘राति खाना खाएर गएको, बिहान वेपत्ता भएको थाहा भयो । घटनाको प्रकृति हेर्दा हामीले हत्या गरेको आंशका गरेका छौं ।’

शाहीले यसअघि पनि पत्नी गीता र छोरालाई मार्ने धम्की दिँदै आएका थिए ।

गीताको खोजी भइरहेको कालिकोटका जिल्ला प्रहरी प्रमुख डीएसपी अर्जुन केसीले बताए । ‘गीताका श्रीमान्, सौता रेश्मा शाहीसहित तीन जनालाई सोधपुछको लागि प्रहरी कार्यालयमा ल्याइएको छ’, उनले भने, ‘बेपत्ताको खोजी जारी रहेको छ ।’

घटनाको सत्यतथ्य छानबिनको माग गर्दै गीताको माइती पक्षले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।

गीताका पति शाही एमालेको कालिकोट जिल्ला कमिटी सदस्य रहेका थिए । उनी पार्टी कार्यालय सचिवकोसमेत जिम्मेवारीमा थिए । महिला हिंसा गरेको भन्दै एमालेले उनलाई पार्टीबाट निकालेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved