न्यूयोर्क । अमेरिकाको न्यूयोर्क शहरमा ‘नेपाल डे परेड’ सम्पन्न भएको छ । न्यूयोर्कको व्यस्त शहर म्यानहाटन आईतबार दिनभर जसो नेपाली संगीतले गुञ्जायमान बन्यो ।
परेडमा नेपालका विभिन्न जातजाति र क्षेत्रका मानिस आआफ्नै भेषभुषामा सहभागी भएका थिए । पञ्चे बाजा, भजन, देउडा, सोरठी, मैथिली, शेर्पा र तामांग सेलोले परेडलाई आकर्षक बनाएको थियो ।
गैरआवासीय नेपाली संघ, अमेरिका न्यूयोर्क च्याप्टरको मूल आयोजना र स्थानीय नेपाली संघसंस्थाको सहकार्य र समन्वयमा नेपाल डे परेड भएको हो । नेपालको गणतन्त्र दिवसको सेरोफेरो पारेर सन् २०१६ देखि नेपाल डे परेड गर्न थालिएको थियो ।
परेडमा न्यूयोर्क शहरका मेयर एरिक एडम्स, अमेरिकी सिनेटका मेजोरिटी लिडर चक सुमर, न्यूयोर्क राज्यका सांसद स्टेभन रागालगायत स्थानीय जनप्रतिनिधिको पनि उपस्थिति थियो । परेड पर्यटकले विशेष रुचीका साथ हेरेका थिए ।
नेपालको विविध कला, संस्कृति र परम्परा झल्किने गरी गरिएको सांगितिक प्रस्तुतिले म्यानहाटन शहरलाई नेपालमय बनाएको थियो । नेपाली पोशाक, झण्डा र व्यानरसहित नाचगान र बाजा बजाउँदै शहर परिक्रमा गरिएको थियो ।
त्यसपछि आयोजना गरिएको सभामा नेपाली वाणिज्य दुत विष्णु अधिकारी, न्यूयोर्कका लागि नेपाल सरकारका पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठ, उपवाणिज्य दुत संगीता न्यौपानेलगायतले बोलेका थिए ।
दुई हजार भन्दा बढि नेपाली एवं नेपाली मूलका अमेरिकीहरुको उपस्थिति रहेको कार्यक्रमले अमेरिकामा नेपालीको उपस्थिति र एकतालाई झल्काएको थियो ।
परेडका लागि अध्यक्ष हेमन्त मल्ल थिए भने ई. टेम्बा शेर्पालाई कन्भेनरको जिम्मेवारी दिईएको थियो । कार्यक्रम पत्रकार, मोडल एवं म्यूजिक भिडियो डाईरेक्टर विक्कि पुलामी र डाजिमा शेर्पाको सञ्चालनमा भएको थियो ।
Facebook Comment
Comment