नागरिक उड्डयन प्राधिकरणले चालु आवका लागि ल्यायो ३६ अर्ब ६६ करोडको अनुमानित बजेट

नेपालभ्युज

नागरिक उड्डयन प्राधिकरणले चालु आवका लागि ल्यायो ३६ अर्ब ६६ करोडको अनुमानित बजेट

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आवका लागि ३६ अर्ब ६६ करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ ।

बजेट ल्याउन केही ढिला भए पनि प्राधिकरण सञ्चालक समितिले मंगलबार आर्थिक वर्ष २०८०/८१ बजेट पास गरेको हो । यद्यपि, साउन १  गतेदेखिकै कार्यक्रमका लागि बजेट कार्यान्वयनमा जाने भएको हो ।

प्राधिकरणले गत आर्थिक वर्ष २०७९/८० को तुलनामा यो वर्ष बजेट ५ अर्ब १९ करोड रुपैयाँ कम ल्याएको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार अन्तर्राष्ट्रिय स्तरका दुईवटा विमानस्थल गौतमबुद्ध र पोखरा विमानस्थलको निर्माण कार्य सम्पन्न भइसकेकाले यो वर्ष केही बजेट घटाइएको हो । हालसम्म नेपालको हवाई क्षेत्रमा काम गर्ने एउटै निकायको रूपमा रहेको नागरिक उड्डयन प्राधिकरणले नै हवाई सञ्चालन, नियमन र विमानस्थल पूर्वाधारको विकास निर्माण आफैँले गर्दै आएको छ ।

चालु आर्थिक वर्षका कुल ३६ अर्ब ६६ करोड रुपैयाँ बराबरको बजेट ल्याएको प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलबाट १५ अर्ब ८८ करोड रुपैयाँ आम्दानी गर्ने जनाएको छ । थप नेपाल सरकारबाट सेयरबापत प्राप्त गर्ने र ऋण बापतको समेत गरी ६ अर्ब ६४ करोड विनियोजन भइसकेको छ ।

हाल प्राधिकरणको विभिन्न बैंक तथा वित्तीय संस्थामा गरी ६ अर्ब ७ करोड बैंक मौज्दात रहेको प्राधिकरणले जनाएको छ । यता सरकारबाट मूल्य अभिवृद्धि करबापत फिर्ता पाउनुपर्ने २ अर्ब ३४ करोड रुपैयाँ र २०८० साउन १ को पेस्कीबापतको मौज्दात रकम ४ अर्ब ८५ करोड गरी ३६ अर्ब ६६ करोड रुपैयाँ स्रोत भर्ना हुने प्राधिकरणको भनाइ छ ।

यस्तै, यो वर्ष प्राधिकरणले विमानस्थल पूर्वाधार तथा विकास निर्माणमा १९ अर्ब खर्च गर्ने जनाएको छ । दैनिक कार्य सञ्चालन तथा कर्मचारी अवकाश र चालु खर्च शीर्षकमा प्राधिकरणले ४ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्राधिकरणले सरकारलाई लाभांशबापत २९ करोड कर, कर्मचारीलाई बोनसबापत ५ करोड ८९ लाख वितरण, आयकर व्यवस्थामा २ अर्ब १३ करोड, स्थिर सम्पत्ति प्रतिस्थापन कोषमा १ अर्ब ६३ करोड र वायु यान सञ्चालन कोषको ननअपरेटिभ खातामा ८२ करोड गरी ३६ अर्ब ६५ करोड उपयोग (व्यय) तर्फ विनियोजन गरिएको समेत जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved