चालु पुँजी कर्जामा मार्गदर्शन संशोधन, सबै कर्जा चुक्ता गर्नु नपर्ने

नेपालभ्युज

चालु पुँजी कर्जामा मार्गदर्शन संशोधन, सबै कर्जा चुक्ता गर्नु नपर्ने
फाइल तस्वीर
काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शनमा संशोधन गरेको छ। यसअघि, वर्षको एकपटक चालु पुँजी कर्जा एक साताको लागि शून्य बक्यौता बनाउनुपर्ने व्यवस्था रहेकोमा अब भने १० प्रतिशत बक्यौता बाँकी राख्न पाइने भएको छ ।
एक सूचना जारी गर्दै बैंकले चालु पुँजी कर्जाका विभिन्न खाताहरूमध्ये क्यास क्रेडिट कर्जा खातामा आर्थिक वर्षको कुनै एक समयमा कम्तीमा लगातार ७ दिन कर्जा सीमाको १० प्रतिशतभन्दा कम बक्यौता कायम भएको हुनुपर्ने जनाएको छ । त्यसका लागि केन्द्रीय बैंकले समय दिने भएको छ ।
पहिलो वर्षका लागि ऋणीले लगातार ७ दिन कुल कर्जा सीमाको ३० प्रतिशतभन्दा कम बक्यौता कायम गर्न सक्नेछ भने दोस्रो वर्षको लागि ऋणीले लगातार ७ दिन कुल कर्जा सीमाको २० प्रतिशतभन्दा कम बक्यौता कायम गर्न सक्नेछ । त्यसैगरी, तेस्रो वर्षपछि ऋणीले लगातार ७ दिन कुल कर्जा सीमाको १० प्रतिशतभन्दा कम बक्यौता कायम गर्नुपर्ने उल्लेख गरिएको छ ।
ऋणीको सोही संस्थामा वा अन्य संस्थामा रहेको कुनै पनि कर्जा चुक्ता गर्ने प्रयोजनका लागि कुनै पनि किसिमको कर्जा प्रदान गर्न वा सीमा थप गर्न नपाइने जनाइएको छ । ऋणीको व्यवसायसँग सम्बन्धित कुनै प्रयोजनका लागि अप्रत्यासित रूपमा वित्तीय स्रोतको आवश्यकता भएको खण्डमा भने सम्बन्धित प्रयोजनमा सोझै रकमान्तर हुने गरी आकस्मिक प्रकृतिको चालु पुँजी कर्जा प्रदान कुनै बाधा नपुग्ने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले कर्जा नवीकरण भएको वा उद्देश्यबमोजिम प्रयोग नभएको पाइएमा सो कर्जालाई खराब वर्गमा वर्गीकरण गरी शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गरिने जनाएको छ। कुनै ऋणीलाई एक आर्थिक वर्षमा दुई पटकभन्दा बढी आकस्मिक प्रकृतिको कर्जा आवश्यक परेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले निर्णय गरी यस्तो प्रकारको कर्जा प्रवाह गर्ने जनाइएको छ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved