१० हजारलाई रोजगारी दिन मस्यौदा निर्माण गर्दै प्रदेश सरकार

नेपालभ्युज

१० हजारलाई रोजगारी दिन मस्यौदा निर्माण गर्दै प्रदेश सरकार

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रतिवर्ष दश हजारलाई रोजगारी दिन मस्यौदा निर्माणको कार्य अगाडि बढेको बताएका छन‍् ।

प्रेस सेन्टर नेपाल केन्द्रीय, प्रदेश तथा जिल्लाका पदाधिकारी तथा सदस्यहरूसँगको आइतबारको भेटमा उनले रोजगारमार्फत स्वरोजगार बनाउने ध्येयका साथ मस्यौदा निर्माणको काम भइरहेको बताएका हुन् ।

‘मस्यौदा निर्माणार्थ हामीले राजनीतिक दल, विज्ञ, स्थानीय तहलगायत सरोकारवालाहरूसँग छलफल गरिरहेका छौँ’, उनले भने, ‘रोजगारका लागि तीन वर्षमा फिर्ता गर्नेगरी अनुदान नभई बीउ पूँजीका रूपमा दिने नीतिमा जोड दिइएको छ ।’

उनले कृषि, पर्यटन, वन पैदावरमा आधारित उद्योगबाट रोजगारी दिन क्षेत्रगत अध्ययन पनि भइरहेको बताए । कर्णाली प्रदेशले अपेक्षाकृत बजेट कार्यान्वयन तथा विकास गर्न नसक्नुमा कर्मचारीको अभाव भएको भन्दै मुख्यमन्त्री शर्माले भने, ‘आज पनि कर्णालीमा नायब सुब्बामाथिको करिब एक हजार दुई सय जनशक्ति अभाव छ । वित्तीय, प्रशासनिक र कानूनी सङ्घीयता नहुँदा कर्मचारीहरू प्रदेशप्रति भन्दा प्रमुख सचिवप्रति जवाफदेही भएको देखिन्छ ।’

कर्णालीको मिडिया विकासका लागि आमसञ्चार प्रतिष्ठान विधेयक चाँडै सदनमा प्रस्तुत हुने उनले जानकारी दिए । कर्णाली विकास र समृद्धिका लागि राजनीतिक दल, कर्मचारी र मिडिया जगत्को नियत सफा हुनुपर्नेमा उनको जोड थियो । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved